नेभिगेशन
उपत्यका

पुर्जासँगै ब्रोड पिकमा अस्ताए ६ नेपाली आरोही

काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएकोे छ । बिहीबार बिहान करिब १० बजे ब्रोड पिक आरोहणमा रहेको पुर्जा नेतृत्वको १० सदस्यीय टोली करिब ६ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परेको थियो । त्यसयता बेपत्ता रहेका पुर्जासहितको टोलीका सबै सदस्य मृत भेटिएका छन् । 
हिमपहिरोमा परेको टोलीमा नेपालका पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, ज्ञालु शेर्पा र नवाङ थिन्डु शेर्पा थिए । टोलीमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस थिए ।
बेपत्ता आरोहीहरूको खोजीका क्रममा शुक्रबार ३ जनाको शव फेला परेको थियो । अरूको खोजी तथा उद्धारमा पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोनलगायतका उपकरण परिचालन गरिएको थियो भने काराकोरम पर्वत शृंखलाकै के–२ आरोहणमा रहेका आरोहीहरू पनि खोजी कार्यमा लागेका थिए । टोलीका १० जनाकै मृत्यु भएको पुष्टि भएको छ ।
सबै आरोहीको मृत्यु भएको पुर्जाका दुई कम्पनी ‘निम्सदाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएका हुन् । 

म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा सैनिक निर्मल पुर्जाले आरोहणमा विभिन्न कीर्तिमान बनाएका थिए । उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । 
ब्रोड पिकपछि चोयु हिमाल आरोहण गर्न सकेको भए पुर्जा विश्वका सबै १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोस्रोपटक आरोहण गर्ने इतिहासकै पहिलो आरोही बन्ने थिए । 
नेपाली आरोहीहरूको निधनमा प्रधानमन्त्री वालेन्द्र शाहले शोक व्यक्त गरेका छन् । ‘सम्पूर्ण दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना,’ शाहले लेखेका छन् ।  त्यस्तै, विभिन्न राजनीतिक दल र संघसंस्थाले पनि उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्