नेभिगेशन
उपत्यका

सिक्री लुट्ने समूह पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धालाई निसाना बनाएर शृंखलाबद्ध रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै समूहका नाइके भनिने ३४ वर्षीय कर्मा तामाङसहित प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र मनोज तामाङ पक्राउ परेको जानकारी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गरी सुनका सिक्री लुटपाटका घटना बढेपछि अनुसन्धान थालिएको थियो । विगतका गुण्डागर्दी, चोरी तथा लुटपाटका घटनाको प्रोफाइलिङ गर्दा आपराधिक पृष्ठभूमि रहेको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेपछि निगरानी थालिएको थियो । 
प्रहरीले कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटमा प्रत्यक्ष संलग्न चार जनालाई गत शुक्रबार काभ्रेको बनेपाबाट पक्राउ गरेको थियो । त्यसपछि कर्मा तामाङलाई शनिबार राति काठमाडौंको बुढानीलकण्ठ–१३ चुनिखेलस्थित गाम्चा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्रन खोज्दा कर्माले प्रहरीमाथि खुकुरीले आक्रमणको प्रयास गरेका थिए । चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि एक गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने ‘टी–लक’ र ‘मास्टर की’ बरामद गरिएको प्रहरीले जनाएको छ । 
अनुसन्धानबाट समूहले महिला तथा वृद्धवृद्धाको गतिविधिमाथि निगरानी गरी उनीहरूलाई एक्लो अवस्थामा आक्रमण गर्ने, प्रतिकार गरे घाँटी थिच्ने, कुटपिट गर्ने र सुनका गरगहना लुट्ने गरेको खुलेको छ । उनीहरूले मुख्य रूपमा २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना पछि पुनः स्वरूप परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पनि प्रहरीले जनाएको छ । उक्त समूह काठमाडौं र काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शान्तिनगर, नरेफाँट, धुलिखेल र धापासीमा भएका घटनामा पीडितलाई लछारपछार, कुटपिट तथा घाँटी समातेर सुनका सिक्री लुटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये प्रतिमान गोलेले लुटपाटका क्रममा मोटरसाइकल चालकको भूमिका निर्वाह गर्ने, पासाङ घिसिङले चोरीका मोटरसाइकल उपलब्ध गराउने, आले गुरुङले आवश्यक पर्दा हतियारसहित घटनास्थल वरिपरि सुरक्षा दिने तथा मनोज तामाङले लुटिएका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कर्मा तामाङ भने समूहको नाइके रहेको र उनीविरुद्ध यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न मुद्दा रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्