नेभिगेशन
उपत्यका

सांसद पाण्डेमा मानसिकता नगरप्रहरीकै, डोजर लिएर पुगे, पर्खाल भत्काइदिए

काठमाडौं । वालेन्द्र शाह मेयर छँदा राजु पाण्डे काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख थिए । फागुन २१ को निर्वाचनपछि दुवै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । शाह प्रधानमन्त्री र पाण्डे सांसद छन् ।  सरकारमा नहुँदा जिते पनि जिम्मेवारी खासै नपाएका पाण्डेको मानसिकता नगरप्रहरी छँदाको भन्दा माथि नउठेको मंगलबारको घटना पुष्टि गरेको छ । 
सेनाका क्याप्टेनलाई सत्तारूढ दल रास्वपाका सांसद राजु पाण्डेले हप्कीदप्की गरेको भिडियो मंगलबार बिहानैबाट सामाजिक सञ्जालमा छायो । विषय थियो – ‘गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल ट्रष्टको जग्गामा रहेको पर्खाल भत्काइदिएको ।’ डोजरसहित पुगेका पाण्डे पर्खाल नभत्काई नफर्कने बताइरहेका थिए भने सेनाका अधिकारी पर्खालभित्र ब्यारेक र वन्यजन्तु रहेकाले संवेदनशील हुन आग्रह गरिरहेका थिए । 
गोकर्णेश्वर नगरपालिका–४ मा सडकको ट्र्याक खोल्ने क्रममा सांसद पाण्डे र त्यहाँ खटिएका सैनिक अधिकारीबीच विवाद भएको भिडियोमा देखिन्छ । तर, ड्युटीमा रहेका क्याप्टेनले लिखित आदेशबिना पर्खाल भत्काउन नमिल्ने भन्दै सम्बन्धित निकायको पत्र आवश्यक रहेको बताए पनि पाण्डेले सुनेनन् । उनले ‘स्पष्ट आदेश लिएर आएको’ भन्दै सेनाका अधिकारीको आग्रह टेरेनन्, पर्खाल भत्काउन डोजर चलाउन निर्देशन दिए । 
सांसद पाण्डेले ड्युटीमा खटिएका नेपाली सेनाका ती क्याप्टेनलाई हप्कीदप्की गरेको भिडिओ सार्वजनिक भएपछि उनको आलोचना भएको छ । मंगलबारै प्रधानसेनापति अशोक सिग्देलले  प्रधानमन्त्री शाहलाई भेटे । भेटमा पनि उक्त विषयमा पनि ध्यानाकर्षण गराएको स्रोतले बताएको छ । 
पर्खाल भत्काएको विषयले आलोचना भएपछि मंगलबार दिउँसो सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै प्रस्टीकरण दिएका छन् । सेनाको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने उद्देश्य आफूले नराखेको दाबी उनको छ । उनका अनुसार गोकर्णेश्वर–४ मा पर्ने उक्त करिडोर लामो समयदेखि अवरुद्ध थियो । स्थानीयवासीले करिब १५–२० वर्षदेखि बाटो खोल्न माग गर्दै आएपछि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको टोली डोजरसहित पुगेको उनले बताए । ‘स्थानीय जनताले १५–२० वर्षदेखि रोकिएको त्यो करिडोर खोल्न माग गर्दै आएका थिए । अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिको टोली डोजर लिएर गएको थियो । म पनि पुगेको थिएँ,’ पाण्डेले सफाइ दिँदै भनेका छन् । 
सैनिक ब्यारेकको पर्खाल भत्काउने विषयमा बागमती सभ्यता विकास समितिका अध्यक्ष आनन्दसिंह भाटलाई सेनासँग समन्वय गर्न आफूले भनेको भन्दै पाण्डेले चोखिने प्रयास गरेका छन् । उनले क्याप्टेनले आफूहरूसँग भन्दा समिति र नेपाल ट्रस्टका अधिकारीसँग समन्वय गर्नुपर्ने तर्क गरे । ‘समितिका अध्यक्षलाई सेनासँग समन्वय गर्न भनिएको थियो । क्याप्टेन साहेबले मसँग भन्दा समिति र ट्रस्टका अधिकारीसँग कुरा गर्नुपथ्र्यो,’ उनले भने ।
पाण्डेका अनुसार सुरुमा सूचना पुग्न नसके पनि घटनाको करिब दुई मिनेटपछि कर्णेल गंगा बराल फिल्डमै पुगेका थिए । त्यसपछि आदेश प्राप्त भएको जानकारी आएपछि नेपाली सेना र स्थानीयको समन्वयमा बाटो खोलिएको उनको दाबी छ ।
‘मेरो लागि जनता नै सबैभन्दा ठूलो कुरा हो । नेपाली सेना विषम परिस्थितिमा खटिने सम्मानित संस्था हो, सेनाप्रति मेरो पूर्ण सम्मान छ,’ उनले भनेका छन् । बाहिर आएका भिडियोहरु समन्वय गर्न केही मिनेट ढिलाइ भएको अवस्थाको रहेको उनको प्रस्टीकरण छ । नेपाली सेनासँग मिलेर नै करिडोर खुलाइएको उनको दाबी छ ।
पर्खाल सार्न ३ करोड विनियोजन 
सांसद पाण्डेको बलजफ्ती भएपछि विवादमा आएको उक्त पर्खाल भत्काएर सडक विस्तार गर्ने प्रक्रिया गोकर्णेश्वर नगरपालिकाले अगाडि बढाइसकेको थियो । सोमबार गोकर्णेश्वरका मेयर दीपक रिसालले सामाजिक सञ्जालबाटै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित गोकर्ण बाँधको पूर्वपट्टिको बाटोदेखि सुन्दरीजलसम्म जाने महŒवपूर्ण वैकल्पिक सडकको चौडाइ विस्तार तथा निर्माण कार्य अगाडि बढेको जानकारी गराइसकेका थिए । 
उक्त बाटो खुलाउन नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरण तथा नेपाल ट्रष्टलाई आवश्यक पत्राचार गरसकेको थियो भने सडक निर्माणका लागि नगरपालिकाले यही आर्थिक वर्षमा २५ लाख बजेटसमेत विनियोजन गरेको मेयर रिसालले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरणले समेत उक्त सडक निर्माणको लागि ३ करोड विनियोजन गरेको छ । प्रक्रियागत रुपमै काम अघि बढिरहेका बेला सांसद पाण्डे पर्खाल भत्काउन अघि सर्दा विवाद भएको हो । ‘प्रक्रियागत रूपमा काम अघि बढिसकेका बेला सांसद पाण्डेले जस लिन हतार–हतार पुग्दा अहिले अनावश्यक विवाद सिर्जना हुन पुग्यो । यसो हुनु दुःखद छ,’ गोकर्णेश्वरका एक जनप्रतिनिधिले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्