नेभिगेशन
उपत्यका

तोडफोड, आगजनी र लुटपाटविरुद्ध एनसेलले दियो उजुरी

काठमाडौं, ३० भदौ - निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जेनजी आन्दोलनका क्रममा मौका छोपी आपराधिक समूहले गरेको तोडफोड आगजनी र लुटपाटविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । 

एनसेलले ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको हो । 

घटनासँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागीदार बनाई उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति दिलाउन माग गर्दै एनसेलले उजुरी दिएको हो । 

आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरूलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको उजुरीमा उल्लेख छ । 

एलसेल भवनको अगाडि भागको सिसाहरू फुटाइ कार्यालय भित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको तथा भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेको उजुरीमा उल्लेख छ । 

यस्तै, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ । 

एनसेलले आफ्नो कार्यालयको १० वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेण्डर मेसिनलगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको, कर्मचारीहरूलाई वितरण गरेको लकर फोडेर ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको जनाएको छ । 

मिटिङ हलमा रहेको टिभी, मोनिटरहरू तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फाली केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महंगा मोटरगाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको उजुरीमा उल्लेख छ । 

सवारीसाधन भवनको कम्पाउण्डबाहिर बाटोमा ल्याई आगो लगाई पूर्णरूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरूसमेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ । एनसेलले क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । 

घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरेको छ । तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्यांकनको काम भैरहेकाले अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्