नेभिगेशन
उपत्यका

ज्येष्ठ नागरिकलाई कैद छुट

काठमाडौं । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका पूर्वमन्त्री एवं कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले अब जेल बस्नुनपर्ने भएको छ । ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने कैद छुटको सुविधा पाएपछि उनले नौ महिनाको कैद सजाय भुक्तान गर्नुपर्ने छैन ।
ज्येष्ठ नागरिक ऐनअनुसार कैद सजायमा छुट माग गर्दै जोशीले असार २४ मा दिएको निवेदनमाथि विशेष अदालतमा शुक्रबार सुनुवाइ आएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले बहुमतका आधारमा जोशीलाई कैद छुट दिने आदेश गरेको हो ।
न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नगए पनि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा लिन सक्ने राय दिएका थिए । न्यायाधीश रावलले भने कारागारमा गएर फैसला कार्यान्वयन गरेपछि मात्रै यस्तो सुविधा दिनुपर्ने फरक राय राखेका थिए ।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउने कानुनी व्यवस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा जोशी यसअघि नै ३ महिना १७ दिन हिरासतमा बसेका थिए । सोही अवधिलाई आधार बनाएर बाँकी कैद छुटको माग गरिएको थियो ।
जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो । त्यसविरुद्धको मुद्दामा सर्वोच्च अदालतले २०८१ साउन १३ मा विशेष अदालतको फैसला केही उल्ट्याउँदै कैद सजाय घटाएर ९ महिना तथा जरिवाना ६९ लाख २६ हजार २३८ रुपैयाँ कायम गरेको थियो ।
सर्वोच्चबाट कैद र जरिवाना तोकिए पनि जोशीले हालसम्म कैद सजाय भुक्तान गरेका थिएनन् । ज्येष्ठ नागरिकका रूपमा पाएको छुटपछि अब ९ महिनाको कैद पनि भुक्तान भएको मानिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका