नेभिगेशन
उपत्यका

कहाँबाट आउँछ स्रोत नखुलेको करोडौँ नगद ?

काठमाडौं । छुट्टाछुट्टै दुई स्थानबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको नगद एक करोड ३२ लाख रुपैयाँ बरामद गरेको छ । 
काठमाडौंको कुलेश्वरका एक फलफूल व्यवसायीबाट ८१ लाख र सर्लाहीको ब्रम्हपुरीमा स्कुटरचालकबाट ५१ लाख ३४ हजार रुपैयाँ बरामद भएको हो । अस्वाभाविक परिमाणमा राखेको नगद रकमको स्रोत खुलाउन नसक्दा काठमाडौंको कुलेश्वरका एकजना फलफूल पसलेलाई मंगलबार पक्राउ गरिएको हो । 
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१४ कुलेश्वर फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरका सञ्चालक पर्साको छिपहरमाई–१ का ३३ वर्षीय जितेन्द्र साह तुरहा छन् । हुन्डीको पैसा राखेको सूचना पाएको प्रहरीले मंगलबार टोलीले साहको फ्रुट सेन्टर र डेराबाट नेरु ७६ लाख २७ हजार ३ सय रुपैयाँ र भारु ३ लाख ४ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो । उनले उक्त रकमको विश्वस्त स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई अदालतमा उपस्थित गराउँदै प्रहरीले हिरासतमा राख्न चार दिनको अनुसन्धान म्याद लिएको छ । 
उता सर्लाहीको ब्रह्मपुरी–२ राजदेवी मन्दिर अगाडि स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित बुधबार एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य फस्र्ट बटन तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरेको हो ।
बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट छन् ।
नियन्त्रणमा लिने क्रममा स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरीलाई चोट लागेको थियो । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि अवस्था सामान्य रहेका उनलाई हिरासतमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्