नेभिगेशन
उपत्यका

पत्रकार श्रेष्ठ तीन दिन हिरासतमा

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले उनलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । 
अनुसन्धानका लागि भन्दै प्रहरीले जनआस्थाको कार्यालयबाट ६ वटा सीपीयू र श्रेष्ठको घरबाट दुई वटा ल्यापटप नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार श्रेष्ठका कानुनव्यवसायीलाई भेट्न पनि दिएन । नियमित भेटघाटको समय र प्रशासनिक कामका कारण तत्काल अनुमति नदिइएको प्रहरीले जनाएको छ । 
यसैबीच श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो । पत्रकार सम्बद्ध संघसंस्थासहित नेपाल बार एसोसियसनको मानव अधिकार तथा जनसरोकार समितिले श्रेष्ठ पक्राउको विरोध गरेका छन् । 
गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वल्र्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःसर्त रिहाइको माग गरेको छ । डब्लूएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष एवम् प्रकाशक उनी डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन् । डब्लूएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ । श्रेष्ठलाई पक्राउ गरेको केही घण्टापछि प्रहरीले उनको कार्यालयमा समेत छापा मारेको भन्दै डब्लूएपीसीले आपत्ति जनाएको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल कांग्रेसले श्रेष्ठको पक्राउ प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने नियतले भएको भन्दै आलोचना गरेको छ । ‘श्रेष्ठलाई मध्यराति गरिएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी र अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । सञ्चार माध्यमसम्बन्धी कानुन र आचारसंहिताको आधारभूत मूल्यमान्यताको पालना हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । कसैले कानुनविपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मान्न सकिए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर प्रहरी प्रशासन सोझै पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने र हत्कडी लगाउनेसम्मको तहमा उत्रनु पूर्णतः गलत र अवाञ्छित छ ।’ कांग्रेसले यस घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको बताएको छ । 
प्रेस काउन्सिलले भन्यो ‘ध्यानाकर्षण भएको छ ।’
प्रेस काउन्सिल नेपालले श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गर्दै  पत्रकार पक्राउ र जनआस्था साप्ताहिकको कार्यालय खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता दीपक खनालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । 
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य रहेको र प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्