नेभिगेशन
उपत्यका

पूर्व शिक्षाविद् धौभडेलको निधन

काठमाडौँ । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई छोरी निशाको घरमा राखिएको थियो । उनका चार छोरीहरूमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्दै आएका छन् ।
वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेलको पुर्खा भने भक्तपुरका हुन् । हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो । धौभडेलले कक्षा ८ सम्म सिराहा र ९ देखि १२ कक्षासम्मको पढाइ भारतको जयनगरबाट पूरा गरेका थिए ।
त्यसपछि त्रिचन्द्र क्याम्पस र पटना विश्वविद्यालयबाट बी.ए. तथा बी.एड., भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (इलाहाबाद) बाट एम.एड. र सन् १९८३ मा अमेरिकाको ओरेगन विश्वविद्यालयबाट विशेष शिक्षा (एमएस्सी स्पेशल एजुकेशन) मा स्नातकोत्तर गरेका थिए । धौभडेलले सिद्धार्थ वनस्थली स्कुलको प्रिन्सिपलका रूपमा शिक्षासेवा सुरु गरेका थिए  । वि. सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गरेका उनले प्राध्यापक, कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हाले ।
नियमित सेवाबाट निवृत्त भएपछि पनि उनले वि. सं. २०६८ सम्म विभिन्न शैक्षिक संस्थाहरूमा परामर्शदाताका रूपमा सेवा प्रदान गरेका थिए । वामपन्थी विचारका धौभडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गरेका थिए । नेपाल प्राध्यापक संघ र पेशागत महासंघको अध्यक्ष रहेका उनले २०४६ को जनआन्दोलनमा प्राध्यापकहरूको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य रहेका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत थिए । उनी ‘सेतो गुराँस’ का संस्थापक थिए भने मानव अधिकार, नेपाल दृष्टिविहीन कल्याण संघ, बहिरा महासंघ तथा अपाङ्ग महासंघजस्ता अनेकौँ सामाजिक संघ–संस्थाहरूमा सक्रिय रूपमा आवद्ध थिए । उनकी धर्मपत्नी शशिप्रभा धौभडेलले पनि ३० वर्षसम्म लिटल एन्जेल्स स्कुलमा अध्यापन गरेकी थिइन् । धौभडेल दम्पतीका चार छोरीहरू (डा. संगीता, ई. निशा, रश्मि र डा. प्रज्ञा), ज्वाइँहरू तथा चार नातिनातिना छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्