नेभिगेशन
उपत्यका

पत्रकार श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएकाे छ ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएकाे हाे ।
जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा तस्वीरबाट वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते उहाँकै निवासबाट पक्राउ गरेको थियो।
पक्राउपछि काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि उहाँलाई हिरासतमा राख्न म्याद थप गरेको थियो। आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएकाे हाे ।
सर्वोच्चको आदेशसँगै पत्रकार श्रेष्ठलाई अब हिरासतबाहिर राखेर सम्बन्धित घटनाको अनुसन्धान अघि बढ्ने भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्