नेभिगेशन
उपत्यका
पाठक-मञ्च

गौशाला–चाबहिल ट्राफिक जामले हैरान

काठमाडौँ उपत्यकाको सबैभन्दा व्यस्त र अस्तव्यस्त सडक खण्डमध्ये गौशाला–चाबहिल सडकखण्ड सबैभन्दा अगाडि आउँछ । यस सडकखण्डमा दैनिक हजारौँ सवारी साधन र लाखौँ यात्रुहरूले भोग्नुपरिरहेको अत्यधिक ट्राफिक जामको समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउन यहाँको लोकप्रिय पत्रिकामार्फत् यो पत्र पठाएको छु । गौशालादेखि चाबहिलसम्मको सडक दूरी हिँडेर १०–१५ मिनेटको मात्र भए पनि सवारी साधनमा यो दूरी पार गर्न कहिलेकाहीँ एक घन्टाभन्दा बढी समय लाग्ने गरेको छ । 
पशुपतिनाथ मन्दिर, तिलगंगा आँखा अस्पताल र विभिन्न शैक्षिक संस्थाहरू यही मार्गमा पर्ने भएकाले यहाँ चौबीसै घण्टा सवारी र पैदलयात्रुको चाप रहन्छ । तर, सडकको कमजोर अवस्था, साँघुरो फुटपाथ र जथाभावी गरिने पार्किङका कारण यो क्षेत्रमा ट्राफिक जाम अधिक हुने गरेको छ । गौशाला चोक र चाबहिल चोक दुवैतर्फ सडकको चौडाइ सवारी चापको तुलनामा निकै साँघुरो छ । त्यसमाथि, सडक किनारमा सार्वजनिक सवारीसाधनको अनधिकृत रूपमा गरिने पार्किङका कारण पैदलयात्रुहरू सडकमै हिँड्न बाध्य छन्, जसले जामलाई अझ बढाएको छ । 
पिक आवर (बिहान र बेलुका) मा त यो सडक खण्ड ठप्प जस्तै बन्छ, जसका कारण बिरामी बोकेका एम्बुलेन्सहरू समेत घण्टौँ जाममा फस्ने गरेका छन् । विशेष गरी अफिसको समयमा त झन् ट्राफिक जामले गर्दा आमजनताले सास्ती खेप्नुपरेको छ । यो समस्याको दीर्घकालीन समाधानका लागि ट्राफिक प्रहरीको जनशक्ति थपेर मात्र पुग्दैन । सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरी गौशाला र चाबहिल चोकमा फ्लाइओभर वा अन्डरपास निर्माणको सम्भाव्यता अध्ययन तत्काल अघि बढाउनुपर्छ । तत्कालका लागि सडक मिचेर गरिने पार्किङ पूर्ण रूपमा निषेध गर्ने, फुटपाथलाई व्यवस्थित बनाउने र कोटेश्वर–चाबहिल रुटका सवारी साधनहरूलाई वैकल्पिक मार्गमा डाइभर्ट गर्ने नीति लिनु जरुरी छ । 
नागरिकको अमूल्य समय, इन्धन र मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको यो समस्यालाई स्थानीय सरकार र सडक विभागले हल्का रूपमा लिनुहुँदैन । गौशाला–चाबहिल सडक खण्डको ट्राफिक जामलाई तत्काल र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सम्बन्धित निकायको गम्भीर ध्यान जाओस् भनी यो पत्रमार्फत् आग्रह गर्दछु ।
हरिहर शर्मा पौडेल, चाबहिल, काठमाडौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्