लगातार थकान महसुस हुनु मानिसलाई चिकित्सककहाँ पु-याउने सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक हो । धेरै मानिसले आफूलाई ‘सधैँ थकित’ महसुस हुने बताउने भएकाले बेलायतका चिकित्सकहरूले बिरामीको विवरणमा यसलाई ‘टायर्ड अल द टाइम’ अर्थात् ‘सधैँ थकित’ भन्ने संक्षिप्त रूपसमेत प्रयोग गर्छन् ।
लगातार थकानका अनेक कारण हुन सक्छन् । तर, नयाँ एउटा अध्ययनले यसको सम्भावित कारणका रूपमा भिटामिन बी समूहका दुई महत्त्वपूर्ण पोषक तत्त्वहरूमा भिटामिन बी–१२ र फोलेट (भिटामिन बी–९)को कमीलाई पनि बढी ध्यान दिनुपर्ने देखाएको छ । भिटामिन बी–१२ र फोलेट शरीरमा हुने विभिन्न चयापचय प्रक्रियाका लागि आवश्यक हुन्छन् । यिनले डिएनए निर्माणमा भूमिका खेल्छन्, जसका कारण शरीरका तन्तुको वृद्धि र क्षतिग्रस्त तन्तुको पुनर्निर्माणमा तिनीहरूको महत्त्व हुन्छ । यी भिटामिनले मानिसको मनोदशा र उत्प्रेरणासँग सम्बन्धित रसायन निर्माणमा पनि भूमिका खेल्छन् ।
कुनै व्यक्ति लामो समयदेखि थकित छ भने चिकित्सकले सबैभन्दा पहिले शङ्का गर्ने पोषक तŒवमध्ये फलामको कमी प्रमुख हुन्छ । मधुमेह पनि थकानको सम्भावित कारणका रूपमा धेरैलाई थाहा छ । तर, भिटामिन बी–१२ र फोलेटको कमी धेरै मानिसको ध्यानमा नआउन सक्छ । अध्ययनमा संलग्न नभएका बेलायतको ब्रिस्टल विश्वविद्यालयका शैक्षिक चिकित्सक डा. डान बाउमगार्डटका अनुसार, यी पोषक तत्त्वबारे आम मानिसमा जानकारी तुलनात्मक रूपमा कम छ ।
“लगातार थकानको कारण पत्ता लगाउन चिकित्सकले गर्न सक्ने परीक्षण धेरै छन्,” बाउमगार्डटले भने । उनका अनुसार चिकित्साशास्त्रमा वर्णन गरिएका लगभग हरेक रोग वा अवस्थाले कुनै न कुनै रूपमा थकान निम्त्याउन सक्छ । गर्भावस्था, डिप्रेसन, कार्बन मोनोअक्साइड विषाक्तता र दीर्घकालीन थकानसम्बन्धी समस्या यसका केही उदाहरण हुन् ।
बेलायतको स्वास्थ्य सेवासम्बन्धी निर्देशिका बनाउने निकाय ‘नाइस’ले पनि लगातार थकानको कारण पत्ता लगाउन चिकित्सकलाई विभिन्न परीक्षण र सम्भावित रोगको सूची दिएको छ । त्यसमा भिटामिन बी–१२ र फोलेटको रगत परीक्षण पनि समावेश छ । तर, यी परीक्षणलाई प्राथमिक परीक्षण नभई ‘थप अनुसन्धान’का रूपमा राखिएको छ ।
वारविक मेडिकल स्कुलका चिकित्सक तथा प्राध्यापक डा. जेम्स गिलका अनुसार यसको एउटा कारण रगतमा गरिएको बी–१२ र फोलेट परीक्षण सधैँ भरपर्दो नहुनु हो । रगतमा यी भिटामिनको मात्रा देखिए पनि शरीरका तन्तुमा वास्तवमै कति उपलब्ध छ भन्ने त्यसले सधैँ सही रूपमा देखाउँदैन । यस्तो अवस्थामा ‘होमोसिस्टिन’ नामक पदार्थको मात्रा परीक्षण गर्नु बढी उपयोगी हुन सक्छ । शरीरमा भिटामिन बी–१२ वा फोलेटको कमी हुँदा होमोसिस्टिनको मात्रा बढ्न सक्छ । तर, धेरै ठाउँमा प्राथमिक स्वास्थ्य सेवाका चिकित्सकले यो परीक्षण आफैँ गराउन सक्दैनन् र अस्पतालका चिकित्सकमार्फत अनुरोध गर्नुपर्ने हुन्छ ।
जापानमा गरिएको पछिल्लो अध्ययनले पनि यही जटिलतालाई उजागर गरेको छ । अनुसन्धानकर्ताले ६ सयभन्दा बढी मानिसलाई सहभागी गराएर उनीहरूको शारीरिक थकान र मानसिक थकानसम्बन्धी प्रश्नावली भरे । साथै, सहभागीको रगतमा भिटामिन बी–१२, फोलेट र होमोसिस्टिनको मात्रा पनि मापन गरियो । ‘न्युट्रिएन्ट्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनका अनुसार होमोसिस्टिनको मात्रा बढी भएका पुरुषमा थकान बढी देखिएको थियो । महिलामा भने होमोसिस्टिनको उच्च मात्रा मानसिक उत्प्रेरणा कमजोर हुनुसँग सम्बन्धित देखियो ।
तर, रगतमा बी–१२ र फोलेटको मात्रा हेर्दा थकान र उत्प्रेरणासँगको सम्बन्ध निकै कमजोर थियो । यसले रगतमा भिटामिनको मात्रा मात्र परीक्षण गर्दा वास्तविक कमी छुट्न सक्ने सम्भावनालाई बल दिएको छ । यद्यपि, अध्ययनले सहभागीमा भिटामिनको कमी नै थकानको कारण हो भनेर प्रमाणित गरेको छैन । अध्ययनको नेतृत्व गरेका ओसाका मेट्रोपोलिटन विश्वविद्यालयका प्राध्यापक हिरोआकी कानौचीका अनुसार, लगातार थकान भएका व्यक्तिमा भिटामिन बी–१२ र फोलेटको कमीको उपचार गर्दा फाइदा हुन्छ कि हुँदैन भन्ने विषयमा थप परीक्षण आवश्यक छ ।
डा. गिलका अनुसार रगत परीक्षण सामान्य वा सीमावर्ती अवस्थामा आए पनि चिकित्सकलाई भिटामिन बी समूहको कमी भएको शङ्का भए उपचारको विकल्पबारे विचार गर्न सकिन्छ । भिटामिन बी–१२ र फोलेट दुवै चक्कीका रूपमा लिन सकिन्छ । आवश्यक अवस्थामा बी–१२ सुईमार्फत पनि दिन सकिन्छ । भिटामिन बी–१२ को कमी हुँदा मुखमा घाउ आउने, हातखुट्टामा सुईले घोचेझैँ हुने वा झमझमाउने र ‘ब्रेन फग’ अर्थात् सोच्न तथा ध्यान केन्द्रित गर्न कठिन हुनेजस्ता लक्षण पनि देखिन सक्छन् । आहारमार्फत पनि यी भिटामिनको कमी कम गर्न सकिन्छ । मासु भिटामिन बी–१२ को राम्रो स्रोत हो । बी–१२ मिसाइएका केही बिहान खाने तयारी खाद्य पदार्थ पनि यसको स्रोत हुन् । फोलेटका लागि सिमी तथा हरियो पात भएका तरकारी उपयोगी हुन्छन् ।
भिटामिन बी–१२ र फोलेटको कमी हुने जोखिम बढी भएका समूहमा शाकाहारी तथा विशेषगरी पूर्ण शाकाहारी आहार अपनाउने मानिस पर्छन् । क्रोन्स रोग भएका व्यक्ति तथा मधुमेहको औषधि मेटफर्मिन वा पेटमा बन्ने अम्ल घटाउने ‘प्रोटोन पम्प इन्हिबिटर’ समूहका औषधि सेवन गर्ने मानिसमा पनि यस्तो कमीको जोखिम बढी हुन सक्छ । त्यसैले लगातार थकानलाई केवल निद्रा नपुगेको वा धेरै काम गरेको परिणाम भनेर बेवास्ता नगरी यसको वास्तविक कारण पहिचान गर्न आवश्यक हुन्छ । विशेषगरी थकान लामो समयसम्म कायम रहेमा चिकित्सकसँग परामर्श गरी फलामसँगै भिटामिन बी–१२ र फोलेटको कमीको सम्भावनाबारे पनि विचार गर्नुपर्ने देखिन्छ । (न्यू साइन्टिस्ट)