नेभिगेशन
दृष्टिकोण

कांग्रेसमा असहमति व्यवस्थापनको प्रयास

सात दशकभन्दा लामो राजनीतिक यात्रामा कांग्रेसले अनेकौँ उतारचढाव, विभाजन, पुनःएकीकरण, नेतृत्व परिवर्तन र आन्तरिक संघर्ष पार गर्दै आफूलाई नेपालको राजनीतिमा स्थापित गर्दै आएको छ । पार्टीभित्र विचारको बहस, नेतृत्वका लागि प्रतिस्पर्धा र समूहगत असहमति कांग्रेसका लागि नयाँ विषय होइनन् । लोकतान्त्रिक पार्टी भएकाले फरक विचार र असहमतिको स्थान हुनु स्वाभाविक पनि हो । तर असहमतिको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुराले पार्टीको संगठनात्मक एकता र राजनीतिक भविष्यमा ठूलो प्रभाव पार्छ ।
यही सन्दर्भमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि समाधानतर्फ अघि बढ्नु महŒवपूर्ण राजनीतिक घटनाक्रमका रूपमा देखिएको छ । तर पछिल्लो घटनाक्रमले त्यस्तो सम्भावनालाई कमजोर बनाउँदै संवाद, सहमति र समन्वयतर्फ पार्टीको राजनीति अघि बढेको संकेत गरेको छ ।
महाधिवेशन पार्टीको सर्वोच्च लोकतान्त्रिक अभ्यास हो । त्यसअघि देखिएको विवादलाई टकरावमा परिणत हुन नदिई संवादमार्फत् समाधान खोज्नु सकारात्मक राजनीतिक संस्कार हो । नेतृत्वले असन्तुष्ट पक्षका माग सुन्ने, तिनलाई राजनीतिक तथा संगठनात्मक रूपमा सम्बोधन गर्ने र सबै पक्षलाई महाधिवेशनको मूल प्रक्रियामा सहभागी गराउने प्रयास गर्नु कांग्रेसका लागि महŒवपूर्ण उपलब्धि बन्न सक्छ ।
यस प्रक्रियामा सभापति गगन थापाको पहल र उपसभापति विश्वप्रकाश शर्मासहित पार्टीका शीर्ष नेताहरूबीच भएको निरन्तर संवादलाई विशेष महŒवका साथ हेर्न सकिन्छ । आफूभन्दा फरक धारमा रहेका नेता तथा कार्यकर्तालाई पनि विश्वासमा लिएर अघि बढ्न सक्नु नेतृत्वको वास्तविक क्षमता हो । 
राजनीतिक दलभित्र असहमति हुनु अस्वाभाविक होइन । तर असन्तुष्ट पक्षलाई बेवास्ता गर्ने वा बहुमतको बलमा निर्णय थोपर्ने प्रवृत्तिले तत्काल नेतृत्वलाई सहज बनाए पनि दीर्घकालमा संगठन कमजोर बन्न सक्छ । यसको विपरीत संवाद, सहमति र राजनीतिक सम्मानका माध्यमबाट असहमति व्यवस्थापन गर्न सके पार्टीभित्र विश्वासको वातावरण बलियो हुन्छ ।
कांग्रेसको पछिल्लो घटनाक्रमले यही सहमतिमुखी बाटो रोजेको देखिन्छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले अघि सारेका आठबुँदे मागलाई नेतृत्वले गम्भीरतापूर्वक लिएपछि असन्तुष्ट पक्ष पनि आफ्नो अडानमा केही लचक हुँदै महाधिवेशन प्रक्रियामा सहभागी हुने मनस्थितिमा पुगेको देखिन्छ । यसले एउटा महŒवपूर्ण सन्देश दिएको छ—पार्टीभित्रको कठिन विवाद पनि संवादको माध्यमबाट समाधान गर्न सकिन्छ ।
विशेष महाधिवेशनपछि पार्टीको केन्द्रीय संरचनाबाट बाहिरिएका नेताहरूको व्यवस्थापनको प्रश्न विवादको प्रमुख विषयमध्ये एक हो । १४औँ महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य बनेका तर पछिल्लो राजनीतिक तथा संगठनात्मक पुनर्संरचनाका क्रममा जिम्मेवारीबाट बाहिरिएका नेताहरूको भविष्यबारे लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो। पार्टी संगठन केवल वर्तमान नेतृत्वमा रहेका व्यक्तिहरूको समूह होइन । 
त्यसैले विगतमा जिम्मेवारी सम्हालेका नेताहरूलाई सम्मानजनक व्यवस्थापन गर्ने विषयलाई एउटा समूहको मागका रूपमा मात्र बुझ्नु उचित हुँदैन । यो पार्टीको संस्थागत निरन्तरता, राजनीतिक सम्मान र संगठनात्मक समावेशितासँग जोडिएको विषय हो । अहिले भइरहेको संवाद तत्कालको महाधिवेशन विवाद समाधान गर्ने प्रयासमात्र होइन, कांग्रेसको भावी राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । सभापति थापा नेतृत्वले असन्तुष्ट पक्षलाई संवादमा ल्याउनु र उनीहरूका मागलाई संस्थागत प्रक्रियामार्फत सम्बोधन गर्न खोज्नुले पार्टी सञ्चालनमा नयाँ शैली स्थापित गर्ने सम्भावना देखाएको छ ।
राजनीतिक सुधार, संगठनात्मक परिवर्तन र पुस्तान्तरणको बहसमा सक्रिय रहँदै आएका थापाका लागि नेतृत्वमा पुगेपछि पार्टीभित्रको विविधता व्यवस्थापन गर्नु महŒवपूर्ण हो । नेतृत्वमा पुग्नु एउटा उपलब्धि हो, तर आफूभन्दा फरक धारका नेता तथा कार्यकर्तालाई विश्वासमा लिएर संगठन सञ्चालन गर्नु अझ ठूलो राजनीतिक परीक्षा हो । असन्तुष्ट पक्षलाई किनारा लगाएर महाधिवेशन अघि बढाउनेभन्दा उनीहरूको आवाज सुन्ने र साझा समाधान खोज्ने नीति नेतृत्वले अपनाउनु सकारात्मक संकेत हो ।
यसैगरी उपसभापति विश्वप्रकाश शर्माको भूमिकालाई पनि अलग गरेर हेर्न मिल्दैन । पार्टीभित्र विचार, संवाद र सार्वजनिक राजनीतिक प्रस्तुतिका कारण आफ्नो छुट्टै पहिचान बनाएका शर्मा संवादलाई सहज बनाउन सक्ने नेताका रूपमा देखिँदै आएका छन् । थापा–शर्मालगायत नेतृत्व तहका नेताहरूबीचको समन्वयले पछिल्लो समय कांग्रेसभित्र सकारात्मक मनोविज्ञान निर्माण गर्न मद्दत गरेको देखिन्छ ।
कांग्रेसको १५औँ महाधिवेशनलाई अब केवल नयाँ नेतृत्व चयन गर्ने नियमित अधिवेशनका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्व संस्कृतिको समेत निर्धारण गर्नेछ। त्यसैले महाधिवेशनअघि देखिएको विवाद समाधान हुनु महŒवपूर्ण छ । 
संवादमार्फत असन्तुष्ट पक्षलाई मूल प्रक्रियामा सहभागी गराउने वातावरण बन्न सके महाधिवेशनको लोकतान्त्रिक चरित्र थप बलियो हुनेछ । कांग्रेसभित्र फरक मत राख्ने समूहले पनि पार्टीको मूल प्रक्रियाभित्रै बसेर आफ्ना कुरा राख्न सक्छ भन्ने सन्देश जानेछ । लोकतान्त्रिक पार्टीका लागि यो महŒवपूर्ण उपलब्धि हो ।
पार्टीभित्रको गुटगत राजनीति कांग्रेसको पुरानो चुनौती हो । विभिन्न कालखण्डमा फरक नेताका वरिपरि समूह निर्माण हुँदै आएका छन् । यस्तो समूहगत प्रतिस्पर्धाले कहिलेकाहीँ स्वस्थ राजनीतिक बहस जन्माए पनि अत्यधिक गुटबन्दीले संगठनात्मक एकता र निर्णय प्रक्रियामा असर पार्न सक्छ । त्यसैले १५औँ महाधिवेशन कांग्रेसका लागि गुटगत प्रतिस्पर्धालाई नीतिगत र संस्थागत प्रतिस्पर्धामा रूपान्तरण गर्ने अवसर पनि हो ।
संस्थागत प्रतिस्पर्धामा व्यक्ति होइन नीति प्रमुख हुनुपर्छ । व्यक्तिगत निकटताभन्दा संगठनात्मक योगदानको मूल्यांकन महŒवपूर्ण हुनुपर्छ । महाधिवेशनले यस्तो संस्कार विकास गर्न सके कांग्रेसले नयाँ राजनीतिक अध्याय सुरु गर्न सक्छ । त्यसका लागि नेतृत्वले आफू निकट र आफूभन्दा फरक धारमा रहेका सबै नेता–कार्यकर्तालाई समान राजनीतिक सम्मान दिन सक्नुपर्छ ।
महाधिवेशनअघि उठेका आठबुँदे मागले उठाएका संगठनात्मक प्रश्नलाई दीर्घकालीन नीतिका रूपमा सम्बोधन गर्न सके भविष्यमा यस्ता विवाद दोहोरिने सम्भावना कम हुन सक्छ । जिम्मेवारी वितरण, नेताहरूको व्यवस्थापन, संगठनात्मक संरचना, महाधिवेशन प्रतिनिधित्व तथा पार्टीभित्रको निर्णय प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउनु आवश्यक छ ।
कांग्रेसको भविष्य संगठन कति व्यवस्थित छ, कार्यकर्ताले नेतृत्वप्रति कति विश्वास गर्छन्, फरक मत राख्ने व्यक्तिले आफू सम्मानित महसुस गर्छ कि गर्दैन र निर्णय प्रक्रियामा तल्लो तहको आवाज कति सुनिन्छ भन्ने कुराले निर्धारण गर्छ ।
त्यसैले १५औँ महाधिवेशनलाई कांग्रेसको आन्तरिक पुनर्संरचनाको अवसर बनाउन आवश्यक छ । नयाँ नेतृत्व आएपछि पुराना सबै अनुभव अस्वीकार गर्नेभन्दा उपयोगी अनुभवलाई नयाँ सोचसँग जोड्न सक्नु नेतृत्वको परिपक्वता हुनेछ । पुराना नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एक ठाउँमा आउन सके कांग्रेसले आफूलाई थप प्रभावकारी राजनीतिक शक्तिका रूपमा पुनःस्थापित गर्न सक्छ ।
आज नेपाली राजनीतिमा जनताको अपेक्षा पनि बदलिएको छ । राजनीतिक दलबाट केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन, सुशासन, जवाफदेहिता, आर्थिक विकास, रोजगारी, सामाजिक न्याय र राजनीतिक स्थायित्वको अपेक्षा गरिएको छ । यस्तो अवस्थामा कांग्रेसभित्रको निरन्तर विवादले जनतामाझ सकारात्मक सन्देश दिन सक्दैन । त्यसको विपरीत पार्टीले आफ्नै आन्तरिक मतभेदलाई लोकतान्त्रिक ढंगले समाधान गर्न सक्यो भने त्यसले बाहिर पनि सकारात्मक सन्देश प्रवाह गर्नेछ ।
नयाँ पुस्ताको नेतृत्व भनेर स्थापित भएको नेतृत्वले आफूभन्दा फरक मत राख्नेहरूलाई कसरी समेट्छ भन्ने कुराले आगामी दिनमा सभापति थापाको नेतृत्वको मूल्यांकन हुनेछ । 
त्यस्तै विश्वप्रकाश शर्माले नेतृत्वको संस्थागत क्षमता बलियो बनाउन योगदान पु¥याउन सक्छन् । थापा र शर्मालगायत नेतृत्व तहका नेताहरूबीचको समन्वय व्यक्तिगत राजनीतिक सम्बन्धभन्दा माथि उठेर कांग्रेसको आगामी राजनीतिक संस्कार निर्माणसँग जोडिन आवश्यक छ ।
असन्तुष्ट पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन सकिए पनि उनीहरूले उठाएका माग कार्यान्वयनमा नेतृत्व कति इमानदार र प्रभावकारी हुन्छ भन्ने कुराले भविष्य निर्धारण गर्नेछ । सहमति केवल बैठक र निर्णयमा होइन, व्यवहारमा पनि देखिनुपर्छ ।
यदि नेतृत्वले प्रतिबद्धताअनुसार संगठनात्मक व्यवस्थापन गर्न सक्यो, विगतका योगदानको सम्मान गर्न सक्यो, फरक मतलाई उचित स्थान दियो र निर्णय प्रक्रियालाई थप लोकतान्त्रिक बनाउन सक्यो भने १५औँ महाधिवेशन कांग्रेसका लागि महŒवपूर्ण मोड बन्न सक्छ । यसले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्ने, पुराना योगदानलाई सम्मान गर्ने, असन्तुष्ट आवाजलाई समेट्ने र संगठनलाई आगामी राजनीतिक चुनौतीका लागि तयार पार्ने आधार निर्माण गर्न सक्छ ।
अतः कांग्रेसको १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया होइन, पार्टीको आन्तरिक एकता र भावी राजनीतिक दिशासँग जोडिएको महŒवपूर्ण अवसर हो । 
सभापति गगन थापा नेतृत्वले देखाएको संवादको तत्परता, उपसभापति विश्वप्रकाश शर्मा तथा अन्य नेताहरूको समन्वयकारी भूमिका र असन्तुष्ट पक्षको समेत लचकताले कांग्रेसलाई सकारात्मक बाटो देखाएको छ । यो पहललाई कुनै एउटा समूहको जित वा अर्को समूहको हारका रूपमा होइन, पार्टीलाई एकताबद्ध बनाउने प्रयासका रूपमा बुझ्न आवश्यक छ ।
(लेखक राजनीतिक विश्लेषक हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्