नेभिगेशन
उपत्यका

‘जेनजी शहीद’को सम्मानमा सांस्कृतिक कार्यक्रम

सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका सहिदहरूलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौं शृंखला जेनजी सहिदको स्मृति विशेष कार्यक्रम गरेको हो ।

शनिबार काठमाडौँको माइतीघरमा सुसेलाले सहिदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरूप प्रस्तुत गरेको हो । कार्यक्रममा सहिदहरूको सम्झनामा (भूपी शेरचन), वी स्याल ओभरकम (पिट सिगर), त्यो पुलिस–प्रशासन, त्यो न्यायालय (देवव्रत) र त्यो जुत्ता साथीको (विनोदविक्रम केसी) गीतहरू गाइएको थियो ।

ती गीतहरूलाई सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, विराज ढुंगाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल, अभिषेक शर्माले प्रस्तुत गरेका थिए । जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा सरकारी दमन हुँदा भदौ २३ गते १९ युवाहरू सहिद भएका थिए । उनीहरू अधिकांशको छाती र टाउकोमा ताकीताकी गोली प्रहार भएको थियो । 

त्यसको प्रतिरोधमा भदौ २४ गते युवाहरूले गरेको विशाल प्रदर्शनीले नेपालको राज्यसत्ता उल्टिएको थियो । हालसम्म उक्त आन्दोलनमा ७३ जनाले ज्यान गुमाइसकेका छन् । परिवर्तनका लागि युवाहरूले गरेको उक्त विद्रोहमा समर्थन जनाउँदै सुसेलाले सहिदहरूको सपना यथाशीघ्र पूरा गर्न माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्