नेभिगेशन
उपत्यका

२८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

काठमाडौं । विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार काठमाडौंको गोकर्णेश्वर–७ दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो । 
उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौं ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमूना संकलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो ।  प्रत्येक शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमूना संकलन गरेपछि सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए । 
शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ । बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । पहिचान हुन बाँकी शवको डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्