नेभिगेशन
उपत्यका

रात्रिबस चलाउन उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं । उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् । 
रातको समयमा आवतजावत गर्नेलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौं, ललितपुर, बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरी, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको हो । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोह साझा यातायातको कार्यालयमा आयोजना गरिएको हो । त्यसलगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । 
समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन । ‘परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौं । सातबाट गाडीलाई ३० वटा पु¥याएका छौं । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौं,’ उनले भनिन्,  ‘यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौं । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संघ सरकारबाट अपेक्षित योजना नआएपछि स्थानीय तहले नै काम गर्न अघि सर्नुपरेको बताए । ‘उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो । त्यो अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस ¥यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही संकेत छैन,’ उनले भने, ‘यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौं । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताउँदै उनले यो नागरिकसँग जोडिएको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गरे । साझाका अध्यक्ष प्याकुरेलले साझाले स्थानीय तहलाई अभिभावक बनाउन पाउनु ठूलो उपलब्धि भएको बताए । 
विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६, साबिक लगनखेल–बुढानिलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८, कीर्तिपुर–जमलमा ४, टाखेल–ठमेलमा दुई तथा साबिक नागढुंगा–एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिने जनाइएको छ ।
यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुंगाबाट एयरपोर्टसम्म राति ८ देखि ११ बजेसम्म सात वटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्यांकन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठूलो विषय भएको निष्कर्ष निकालिएको थियो । 
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात वटा नगरपालिकाले समान रूपमा बेहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुरले १८.५५ तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले बेहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ । 
रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३÷८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् । सहमतिले यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ । 
टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले यही असोज १ गतेदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ । आर्थिक चुहावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ । साझा यातायातमा नेपाल सरकारको तीन अर्ब, काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ सेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्