नेभिगेशन
प्रदेश

भीईमा गुरा देउताको नवमी मेला

मुगु । भीई गाउँमा गुरा देउताको नवमी मेला आइतबार सुरु भएको छ । मुगुको सोरु गाउँपालिका–३ मा दुई दिनसम्म चल्ने मेलामा मुगुसहित छिमेकी जिल्लाबाट श्रद्धालुको घुइँचो लागेको छ ।
यो मेला परापूर्वकालदेखि सञ्चालन हुँदै आएको मानिन्छ । धार्मिक तथा सांस्कृतिक महŒवको मेलामा सहभागी हुन आइतबार बिहानैदेखि विभिन्न गाउँबस्तीबाट भक्तजन र पाहुना भीई गाउँ पुगेका छन् ।
मेलाका अवसरमा स्थानीयले काठ र माटोले बनेका घरलाई रातो र सेतो कमेरो माटोले लिपपोत गरी चिटिक्क पारेका छन् । गाउँमा सरसफाइ गरी मेलाको स्वागत गरिएको छ ।
गुरा देउताको दर्शन गरे मनोकामना पूरा हुने र बर माग्दा इच्छाएको प्राप्त हुने जनविश्वास छ । सन्तान नभएकालाई सन्तान प्राप्त हुने, घरको अशान्ति हट्ने तथा जग्गाजमिन, अन्न र पशुचौपायाको अभाव टर्ने विश्वासले भक्तजन आउने गरेका छन् ।
मेलामा मुगु, हुम्ला, जुम्ला, बाजुरा र अछामबाट भक्तजन आउने गर्छन् । छिमेकी गाउँका समइजु, कालिका, मालिका, काले गुरुलगायतका देवताका झाँक्रीसमेत गुरा देउताको दर्शन गर्न पुग्छन् ।
मेलाको पहिलो दिन साँझ बाजागाजासहित झाँक्रीहरूलाई स्नानका लागि पानीधारामा लगिन्छ । त्यसपछि माझथारामा डेढ घण्टासम्म ढोल, दमाहा बजाउँदै नाचगान गरिन्छ । रातभर महिला, पुरुष तथा युवायुवतीले स्थानीय पहिरनमा देउडा खेल्छन् । भोलिपल्ट बिहान विभिन्न देवताका झाँक्री नाच्ने परम्परा छ ।

मेलामा भक्तजनले भेटी, अक्षता, दुबो, खसीबोका र घण्ट चढाउने गरेको सोरु–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए । गुरा देउताको धार्मिक मेलालाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनका अनुसार गमगढीदेखि भीई र हुम्लाको कर्णाली करिडोरदेखि भीईसम्मका सडक तथा पदमार्ग निर्माण र मर्मत भइरहेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्