नेभिगेशन
उपत्यका

नेपाली र रुसी पत्रकारबीच सहकार्य हुने

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) र रसियन यूनियन अफ जर्नलिस्ट (आरयूजे) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
सेप्टेम्बर २३ मा रुसको राजधानी मस्कोमा आयोजित कार्यक्रममा आरयूजे का अध्यक्ष भ्लादिमिर सोलोभ्योभ र जेजेएनका अध्यक्ष टीकाराम खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा हस्ताक्षरपछि आरयूजे का अध्यक्ष सोलोभ्योभले दुई संस्थाबीचको सहकार्यले नेपाल र रुसका पत्रकारबीच सहकार्य तथा अनुभव आदानप्रदानका साथै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा ठूलो योगदान पुग्ने बताए । जेजेएन का अध्यक्ष खड्काले पनि दुई संस्थाबीचको सहकार्यमार्फत पत्रकारहरूको व्यावसायिक सीप तथा क्षमता विकास, सेमिनार र द्विपक्षीय भ्रमणलाई सहजीकरण गर्नुका साथै पत्रकारिताका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने उद्देश्य रहेको बताए । 
समझदारीअनुसार नेपाल र रुसका पत्रकार तथा दुवै संस्थाका प्रतिनिधिबीच प्रतिनिधिमण्डल आदानप्रदान, व्यावसायिक अनुभव तथा पत्रकारिताका अभ्यास आदानप्रदान गरिनेछ । त्यस्तै, प्रेस टुर, संयुक्त सेमिनार तथा प्रेस सम्मेलन आयोजना गर्ने र विभिन्न बैठक, कार्यक्रम तथा फोरममा आपसी सहभागिता जनाउने विषयसमेत समझदारीमा समेटिएको छ । 
पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम तथा व्यावसायिक विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि समझदारीपत्रमा गरिएको छ । साथै, पत्रकारिता अध्यापन गराउने विश्वविद्यालय तथा शैक्षिक संस्थाबीच सहकार्य र आदानप्रदानलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ । 
जेजेएन का अनुसार दुई संस्थाबीच समझदारी कायम गराउन काठमाडौंस्थित रुसी दूतावासले आवश्यक समन्वय गरेको थियो । 
समझदारीपत्रमा हस्ताक्षरका लागि आवश्यक समन्वय तथा सहयोग गरेकोमा जेजेएन ले रुसी दूतावासप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्