नेभिगेशन
उपत्यका

नेपाल–इजरायल संयुक्त कार्टुन प्रदर्शनी

काठमाडौँ । नेपाल र इजरायलबीचको ६५ वर्ष लामो कूटनीतिक सम्बन्धको ऐतिहासिक अवसर पारेर राजधानी काठमाडौँमा एक विशेष कार्टुन प्रदर्शनी आयोजना गरिएको छ । 
काठमाडौँस्थित इजरायली दूतावास र एनिमिक्स फेस्टिभल काठमाडौँको संयुक्त तत्त्वावधानमा सेप्टेम्बर २८ देखि ३०, २०२६ सम्म 'हाइएस्ट एन्ड लोवेस्ट अन अर्थ' (पृथ्वीको सबैभन्दा अग्लो र होचो भाग) नाम दिइएको कला प्रदर्शनी सञ्चालन गरिएको हो । प्रदर्शनीले दुई देशबीचको कूटनीतिक र सांस्कृतिक सामीप्यतालाई कलाको माध्यमबाट जनस्तरमा पुर्‍याएको छ । 
यस प्रदर्शनीको मुख्य अवधारणा नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा र इजरायलमा रहेको पृथ्वीकै सबैभन्दा होचो भू–भाग मृत सागर (डेड सी) को अनुपम भौगोलिक विशेषतामा आधारित रहेको छ। संसारका यी दुई चरम प्राकृतिक विन्दुहरूलाई आधार बनाएर दुवै देशका कार्टुनिस्टहरूले आ–आफ्नो क्यानभासमा व्यङ्ग्य, नवीन दृष्टिकोण र ह्युमरको समिश्रण गर्दै रोचक कलाकृतिहरू तयार पारेका छन्। एनिमिक्स तेल अभिभ फेस्टिभलका निर्देशक तथा प्रख्यात इजरायली कार्टुनिस्ट निसिम नुस्को हेजकियाउले क्युरेट गर्नुभएको यस प्रदर्शनीले दुई देशको विशिष्ट भूगोललाई कलात्मक सेतुका रूपमा जोडेको छ ।
प्रदर्शनीमा नेपाल र इजरायलका स्थापित एवं लब्धप्रतिष्ठित कलाकारहरूको बलियो सहभागिता रहेको थियो । नेपालका तर्फबाट बासु क्षितिज, राजेश केसी, रवि मिश्र र रबिन्द्र मानन्धरलगायतका कार्टुनिस्टहरूका सिर्जनाहरू प्रदर्शनमा राखिएको थियो ।  त्यसैगरी इजरायलका तर्फबाट उरी फिंक, मिशेल किचका, इलना जेफ्रेन, योनातन वाचस्म्यान, तोहार शेर्मन फ्रिडम्यान र युवल रोबिचेक लगायतका झन्डै दुई दर्जन कहलिएका कलाकारहरूले यस संयुक्त उद्यममा आफ्ना उत्कृष्ट कार्टुनहरू प्रस्तुत गरे ।
तीन दिने कला महोत्सव केवल प्रदर्शनीमा मात्र सीमित नभएर विभिन्न अन्तर्क्रियात्मक र सिकाउने कार्यक्रमहरू रहेका थिए । महोत्सवका दौरान इजरायली कमिक्स आर्टिस्ट उरी फिंकले कार्टुन र भिजुअल स्टोरीटेलिङको आधारभूत सीप सिकाउने विशेष वर्कशप सञ्चालन गरिएको थियो साथै 'कमिक्स १०१' मार्फत आफ्ना अनुभवहरू बाँडेका थिए । साथै क्युरेटर निसिम नुस्कोले क्यारिकेचर कलाको रहस्य खोतल्नेछन् र शेनकर एनिमेसन प्रोजेक्टका विद्यार्थीहरूद्वारा तयार पारिएका लाक्षणिक छोटा एनिमेसन फिल्महरू पनि प्रदर्शन गरिएका थिए । नेपालका लागि इजरायली राजदूत महामहिम श्मुलिक ए. बासले यो कलात्मक प्रयासले दुवै देशका कलाकारहरूबीच आगामी दिनमा सहकार्यका नयाँ ढोकाहरू खोल्ने र दुई मित्रराष्ट्रको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्