नेभिगेशन
उपत्यका

बाइस वर्षपछि ‘सम्यक् महादान’

काठमाडौं । बाइस वर्षपछि आगामी माघ १ गते काठमाडौं महानगरपालिकाले ‘सम्यक् महादान’ आयोजना गर्ने भएको छ । कामपाले राष्ट्रियसभा गृहमा ‘सम्यक् महादान’ मूल समारोह समितिको सचिवालय स्थापना गरेर सम्यक्् महादान (नेवाः बौद्ध बज्रयान परम्परामा गरिने ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक दान) को तयारी थालेको हो ।
    सम्यक् लामो समयसम्म नभएकाले सम्पदाको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष सम्यक् महादानको काम गर्न लागिएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमिति, सरोकार भएका निकाय र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्ने उनले बताइन् ।
    कामु प्रमुख डंगोलका अनुसार नेपाल मण्डलमा सम्यक् महादान दुई प्रकारले गर्ने गरिएको छ । एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ । यसलाई ऐच्छिक सम्यक् भनियो । अर्को गुठीबाट गर्ने गरिएको सम्यक् हो । जसलाई गुठी सम्यक् भनिन्छ । 
    ‘काठमाडौंमा गुठी सम्यक् तीन भिन्नाभिन्नै खलकको समूहले हरेक चार वर्षमा गर्दथे । पछि यी तीन वटै समूह मिलेर हरेक १२ वर्षमा एक चोटी गर्दै आएका थिए,’ समितिका संयोजक नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले भने, ‘गुठी सम्यक् नभएको २२ वर्ष भयो । ऐच्छिक सम्यक् नभएको २५ वर्ष भयो ।’ 
    यो सम्यक् सञ्चालन तथा व्यवस्थापन लगायतका नीतिगत काम गर्न असोज ८ गते कामपाकी कार्यवाहक प्रमुख डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भइसकेको छ । कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ ।
    मुख्य दुई दिन हुने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाइने परम्परा छ । महादान २०६१ सालपछि काठमाडौंमा मनाउन नसकिएको समितिका संयोजक प्रा डा बज्राचार्यले बताए । उनका अनुसार बौद्धहरूले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रूपमा समावेश हुन्छ । 
    नेपालमा दान अभ्यासका लागि नियमित वार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महासम्यक् दानहरू पर्वकै रूपमा मनाउँदै आइएको उनले जानकारी दिए  । 
    यो परम्परालाई निरन्तरता दिन तथा पुस्तान्तरण गर्न कामपाले आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौं उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको, मानवीय, करुणामयी र जनएकता गराउने सम्यक् महादान सञ्चालन गर्ने कार्यक्रम पारित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्