नेभिगेशन
राजनीति

सरकारमाथि कांग्रेसको प्रश्नैप्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको पछिल्लो गतिविधिलाई लिएर आक्रामक हुने संकेत गरेको छ । आइतबार सभापति भएपछि केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेरै सभापति गगन थापा सरकारविरुद्ध उत्रिएका हुन् । उनले सरकारको मनमौजी नचल्ने भन्दै पत्रकारमाथि धरपकडदेखि सरकारका मन्त्री जोडिएका प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई लिएर सरकारसँग जवाफ मागेको हो । 
डरबाट शासन गर्ने शैली स्वीकार्य नहुने थापाको चेतावनी छ । यसअघि सरकारलाई शंकाको लाभ दिनुपर्छ भन्दै प्रधानमनत्री र रास्वपाप्रति नरम देखिने थापा आइतबार भने निक्कै गरम देखिए । लोकतन्त्र र नागरिक अधिकारका विषयमा खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको बताउँदै थापाले सरकार स्वेच्छाचारी बन्ने र जवाफदेहिताबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘डरबाट शासन गर्ने शैली स्वीकार्य छैन,’ थापाले भने ।
सभापति थापाले रास्वपा नेतृत्वको सरकारले गठन गरेका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको पारदर्शितामाथि प्रश्न उठाए । गृहमन्त्री सुधन गुरुङको स्रोत नखुलेको सम्पत्तिबारे छानबिन गर्न गठित समिति, २०८३ वैशाख २ गते गठन भएको जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनसम्बन्धी समिति, सुनसरीको कप्तानगञ्ज घटनाबारे साउनमा गठित अध्ययन समिति र भदौ २४ को घटनासम्बन्धी उच्चस्तरीय छानबिन समितिका प्रतिवेदन सार्वजनिक नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । 
बिचौलियाको आरोप लागेका इनम सापकोटासँग जोडिएका विषयमा पनि उनले निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका छन् । रास्वपासँग आबद्ध व्यक्तिहरूको नाम सापकोटासँग जोडिएका विवरण सार्वजनिक भइरहेकाले सरकारले गर्ने छानबिनको निष्पक्षता सुनिश्चित हुनुपर्ने उनको माग छ । 
थापाले प्रधानमन्त्रीको सचिवालयको संलग्नतामा उच्च सरकारी अधिकारी तथा कर्मचारीलाई नियन्त्रणमा लिने र दबाब दिने शैलीप्रति पनि आपत्ति जनाए । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहित कर्मचारीमाथि भएको धरपकडको प्रसंग उठाउँदै उनले कर्मचारीबाट गल्ती भए स्थापित कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्ने बताए ।
कर्मचारीको कामकारबाहीमाथि छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय रहेको उल्लेख गर्दै थापाले ती निकायलाई बाइपास गरेर प्रधानमन्त्री कार्यालयबाटै हुकुमी शैलीमा कारबाही अघि बढाउनु उचित नभएको बताए । राहदानी छपाइको विषयमा अख्तियारका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८–९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको तथा निर्माण व्यवसायी र सचिवलाई प्रहरी लगाएर नियन्त्रणमा लिइएको घटनाप्रति पनि उनले प्रश्न उठाए । ‘राज्यका आधिकारिक संयन्त्रलाई बाइपास गरेर कर्मचारीलाई आतंकित बनाउने शैली लोकतान्त्रिक हुन सक्दैन,’ थापाले भने । 
राम्रो गरे रास्वपा, गलत भए प्रधानमन्त्री ? 
कांग्रेसका सभापति थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाए । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा रास्वपाले सरकारलाई निर्देशन दिएको भन्दै विज्ञप्ति जारी गरे पनि राजनीतिक जिम्मेवारी नलिएको बताए । सरकारका हरेक कामको राजनीतिक जिम्मेवारी सत्तारूढ दलले लिनुपर्ने भन्दै रास्वपालाई प्रश्न गरेका हुन् । थापाले भने, ‘सरकारले कुनै राम्रो काम ग¥यो भने रास्वपा, अनि कुनै काममा प्रश्न उठ्यो भने प्रधानमन्त्री वा सरकारले गरेका कामको जिम्मेवारी रास्वपाले लिनुपर्दैन ?’ विगतमा कांग्रेस सहभागी सरकारका गलत कामको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउने रास्वपाले अहिले आफ्नै नेतृत्वको सरकारका हकमा पनि त्यही सिद्धान्त लागू गर्नुपर्ने बताए । 
पत्रकार पक्राउमा पनि कांग्रेसको प्रश्न 
त्यस्तै, कांग्रेसले  सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताएको छ । केही पत्रकार पक्राउ परेर छुट्दैमा घटना टुंगिएको नमानिने भन्दै कांग्रेसले यसले राज्यको अधिकार प्रयोग, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतासम्बन्धी गम्भीर प्रश्न उठाएको बताएको छ । सभापति थापाले भने, ‘केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो भन्ने होइन । यहाँ सकिँदैन र सकिनु पनि हुँदैन ।’ प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका फरकफरक वक्तव्यले घटनालाई थप गम्भीर बनाएको उनले बताए । सुरुमा साइबर सेलले बोलाएको भन्दै प्रहरीले पक्राउको बचाउ गरेको र पछि मध्यराति १ः४० बजे प्रहरी प्रवक्ताको नामबाट जारी अर्को वक्तव्यमा प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पक्राउ गरिएको उल्लेख भएको सन्दर्भ पनि थापाले चर्चा गरे । शनिबार बिहान उक्त वक्तव्य हटाइएको पनि उनले बताए ।
थापाले प्रहरी आफैंले निर्णय गरेर सञ्चारगृहमा प्रवेश नगरेको हुन सक्ने आशंका व्यक्त गर्दै उक्त घटनामा सरकारको संलग्नतातर्फ संकेत गरे । 
उनले राज्यका निकायलाई निजी आदेश पालना गर्ने संयन्त्रका रूपमा प्रयोग गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘एउटा सानो समूह छ, जसले हामी नै राज्य हौं भन्न थालेको छ । हामीले बोलेको कुरा वक्तव्य होइन, हुकुम हो र राज्यका निकायहरू हाम्रा निजी आदेश पालना गर्ने कार्यालय हुन् भन्ने ठान्न थालेको छ,’ उनले भने ।
गत असार २९ गते केही सञ्चारगृहबाहिर अनधिकृत रूपमा सरकारी गाडी राखिएको घटनामा पनि रास्वपाले सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको स्मरण गराउँदै थापाले त्यसको परिणाम नआएको बताए । थापाले भने, ‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ ।’ रास्वपाको संसदीय दलको बैठक बसेर प्रधानमन्त्रीलाई बोलाउनुपर्ने र बैठकबाटै स्पष्ट निर्देशन दिएर छानबिन तथा कारबाहीको परिणाम देखाउनुपर्ने उनको माग छ ।
अर्थतन्त्र सुधारमा केन्द्रित हुन सुझाव
कांग्रेस सभापति थापाले मुलुकको अर्थतन्त्र अस्तव्यस्त रहेको भन्दै सरकारलाई आर्थिक सुधारमा केन्द्रित हुन आग्रह गरे । ‘अर्थतन्त्र लथालिंग भएको छ । यस्तो बेलामा सरकारको ध्यान यो विषयमा जाओस् । यसमा कांग्रेसले साथ दिन्छ,’ थापाले भने । जनताले रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै थापाले कांग्रेस पाँच वर्ष प्रमुख प्रतिपक्षीको भूमिकामा रहने बताए । प्रतिपक्षीको भूमिकालाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्