नेभिगेशन
उपत्यका

बजारमा भीडभाड, व्यापारी भन्छन् - छैन व्यापार

काठमाडौं, ८ असोज - दशैं सुरु भएसँगै राजधानी काठमाडौंसहित देशका अधिकांश बजारमा किनमेल गर्ने ग्राहकको भीड दैनिक बढिरहेको छ । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन, भोटाहिटी लगनखेल, कोटेश्वर, बानेश्वरमा दशैँका सामान किनमेल गर्नेको भीड नै देखिन्छ ।

लत्ताकपडादेखि खाद्यान्न, बिक्री गर्ने पसलदेखि ठूला सपिङ मलहरूमा खरिदकर्ताको भीड लागेको छ । व्यापारीहरूले पहिलेको स्टक सामान क्लियर गर्नका लागि लुगा र जुत्ताचप्पल सेलमा राखेर बिक्री गरिरहेका छन् । सेलमा राखिएका आवश्यकताका सामान हेर्ने र खरिद गर्ने ग्राहकको भीड देखिन्छ । व्यापारीहरूले बढी भन्दा बढी ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित विभिन्न अफरहरू पनि ल्याएका छन् । तर व्यापार बढाउन प्रयास गरे पनि कारोबार बढ्न नसकेको अधिकांश व्यापारीहरूको गुनासो छ ।

बजार क्षेत्रको सडकमा किनमेलका लागि भीड देखिए पनि पसलमा किन्न आउनेहरू निकै कम भएको व्यपारीहरू बताउँछन् । विगतका वर्षमा व्यापार राम्रो हुने गरेको तर यसपालि भीड भए पनि कारोबार न्यून भएको उनीहरू बताउँछन् । ग्राहक आएर रेट बुझ्ने, तर सामान खरिद नगर्ने भएकाले कारोबार बढ्न नसकेको उनीहरू सुनाउँछन् ।

‘दशै सुरु भएपछि बजारमा आउने भीड हेर्दा चहलपहल बढ्दै गएको जस्तो देखिन्छ,’ न्यूरोडका होलसेल जुत्ता व्यापारी तुलसी अर्यालले भने, ‘तर, खरिद गर्ने ग्राहक नै छैनन् ।’ उनले यो वर्षको दशैंमा विगतका वर्षहरूको तुलनामा व्यापार ६० प्रतिशत कम भई ४० प्रतिशतमा सीमित हुन पुगेको बताए । 

उनले जेनजी समूहको आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण एक सातासम्म पसल पूर्णरूपमा बन्द गर्नुपरेकाले पनि व्यापारमा नकारात्मक प्रभाव परेको बताए ।

‘हाम्रो पसलमा आउने ग्राहक भनेका देशभरका खुद्रा व्यापारी हुन् । दशैंमा सामान लगेर बिक्री गर्नु अगाडि नै उनीहरू आउनुपर्ने हुन्छ । तर, यसपटक एक साताभन्दा बढी समय पसल बन्द गर्नुपर्दा उनीहरू आउन सकेनन् । हाम्रो व्यापार प्रभावित हुन पुग्यो,’ उनले भने ।

अर्यालले चीनतर्फको सीमा नाका लामो समयदेखि अवरुद्ध भएकाले आयात गरिएको सामान सीमा क्षेत्रमै रोकिएकाले ग्राहकले नयाँ सामान पाउन नसक्दा पनि व्यापार कम भएको व्यापारीहरू बताउँछन् । सीमा नाका बन्द हुँदा आयात हुने सामान महिनौंदेखि उतै रोकिएको छ ।

पछिल्लो समय भन्सार कार्यालयमा कर्मचारीको अभावलेसमेत समयमै भन्सार पास गराउन नसक्दा सामान काठमाडौं आइनपुगेको व्यापारीहरूको गुनासो छ । महाबौद्धको थोक बजारमा २० वर्षदेखि व्यवसाय गर्दै आएकी नबिना प्रधान श्रेष्ठले यो वर्ष विगतका वर्षमा जस्तो व्यापार हुन नसकेको बताइन् । 

‘म विगत २ दशकदेखि यो व्यवसाय गरिरहेकी छु,’ उनले भनिन्, ‘अहिलेसम्मको अनुभवमा यो वर्ष दशैंको व्यापार सबैभन्दा न्यून विन्दुमा छ ।’ उनले यो वर्ष ७० प्रतिशतसम्म व्यापार घटेको बताइन् ।

नयाँ सामान ल्याउने सुविधा नभएकाले बजारमा कपडादेखि अन्य सामानसम्मको अभाव छ । ‘ल्यान्ड ट्रान्सपोर्टेशन छैन, समुद्रमार्गबाट ल्याउन सकिँदैन । हवाईमार्गले ल्याउँदा भने सामान अत्यन्तै महँगो पर्छ । प्रतिकिलोमा करिब ६ अमेरिकी डलरसम्म बढ्छ,’ उनले बताइन् ।

चीनबाट सामान नआएपछि ग्राहकहरू स्थानीय उत्पादनतर्फ धकेलिएका छन् । तर, गुणस्तर कमसल हुँदा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । स्थानीय उत्पादनलाई मानिसहरूले खरिद गरे पनि, ती लुगा कपडाको फिनिसिङ राम्रो नभएकाले प्रतिस्पर्धा गर्न नसकेको व्यापारीहरू बताउँछन् ।

महाबौद्धका अर्का व्यापारी मनोजकुमार गुप्ता पनि सीमामा रोकिएको सामान ल्याउन नपाएर चिन्तित छन् । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार एकदमै घटेको छ । चीनसँगको सिमाना बन्द भएपछि सामान नै आएको छैन । कहिले खुल्छ भन्ने थाहा छैन । त्यसैले धेरै गाह्रो भएको छ,’ उनले भने ।

गुप्ताका अनुसार ग्राहक पनि परिस्थितिलाई बुझेर बजार आउनै छाडेका छन् । उनले ग्राहकले नयाँ डिजाइन, नयाँ स्टाइल खोज्ने गरेको, तर बजारमा पुरानै सामान भएकाले व्यापार घटेको बताए ।

हवाईमार्गबाट आयात गरिएको थोरै सामान सामान्यभन्दा १५० रुपैयाँ बढीले महंगो हुने हुँदा ग्राहकको आकर्षण नदेखिएको उनले बताए । उनले जाडो यामभन्दा अगाडि बजारमा नयाँ सामान आउने सम्भावना नरहेको बताए ।

न्यूरोडकै लुगा व्यापारी रमेश अधिकारी पनि यो वर्ष दशैंको व्यापार सामान्य भएको बताउँछन् । उनले पहिले नै आयात भएका लत्ता कपडा बिक्री गरिरहेको बताए । उनले सधैंका वर्षहरूमा जस्तो यो वर्ष व्यापारमा उत्साह नदेखिएको बताए ।

लगनखेलका व्यापारीहरूको अनुभव समेत न्यूरोडका व्यापारीको जस्तै छ । बजारमा भीड बढे पनि थोरै ग्राहकले मात्रै खरिद गरिरहेको उनीहरू सुनाउँछन् । लगनखेलको कपडा पसलमा काम गर्दै आएकी सुनिता मगरले यो वर्ष दशैंमा व्यापार खासै नभएको बताइन् ।

‘हुन त दशैं भर्खरै सुरु भएको छ । अझै केही दिनसम्म चलहपहल अझै बढ्दै जान्छ र व्यापार पनि बढ्छ कि भन्ने आशा लागेको छ,’ उनले भनिन् ।

लगनखेलमै खुद्रा पसल चलाइरहेकी सीता तामाङ पनि यो वर्ष दशैंको बजारमा कारोबार घटेको बताउँछिन् । ‘पोहोर र परार व्यापार राम्रो थियो । यो वर्ष बजारमा भीड मात्रै बढेको छ । तर, व्यापार राम्रो छैन,’ उनले भनिन्, ‘दशैंका दिनहरू बाँकी नै रहेकाले व्यापार बढ्छ कि भन्ने अपेक्षा छ ।’

दशैको बेला व्यापार धेरै हुने समय भएपनि यसपटक कारोबार बढ्न सकेको छैन । व्यापारीहरूका अनुसार दशैंको समयमा वर्षभरी हुने कारोबारको ६० देखि ७० प्रतिशत व्यापार हुने गर्छ । तर, यो वर्ष खासै व्यापार बढ्न नसकेको उनीहरू सुनाउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्