काठमाडौं (संवाददाता) – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् । विराटनगर भन्सार कार्यालयमा भन्सार जाँचपासमा बुधबार स्वचालित मूल्यांकन प्रणालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड एवं आगजनीका घटनाले सम्पत्तिमा अकल्पनीय क्षति भएकोमा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको उनले बताए ।
‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, शुसासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजस्वको सदुपयोग जस्ता युवाहरूको चाहना निर्वाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्धनको कारणले मात्र सम्भव हुने भएकाले यसका लागि उपयुक्त वातावरण बनाउन आवश्यक छ ।’
अध्यक्ष ढकालले जेनजी आन्दोलनमा क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत संकलनलाई आह्वान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम ल्याउन सकिने तर, त्यसका लागि सीएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे । भन्सार जाँचपासमा स्वचालित मूल्यांकन प्रणालीबारे उनले सकारात्मक भएको उल्लेख गर्दै यसले कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए ।
‘भन्सार मूल्यांकनको हकमा हेर्ने हो भने आज हामी नयाँ चरणमा प्रवेश गरेका छौं । अहिलेसम्म सन्दर्भ मूल्यका आधारमा भन्सार मूल्यांकन हुने गरेको थियो । यो वैज्ञानिक नभएको गुनासो उद्यमी व्यवसायीको थियो । हामीले अनलाइन मूल्यांकन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएका थियौ,’ उनले भने ।
पछिल्ला केही वर्षको बजेटहरूमा महासंघले भन्सार कार्यालयमा भन्सार मूल्य निर्धारण डब्लुटीओ-ग्याट भ्यालुएसन आर्टिकल सेभेनमा उल्लिखित विधिहरूको पूर्ण पालना गरी सोहीअनुरूप कारोबार मूल्य निर्धारण गरिनुपर्छ भन्दै आएको उनले बताए ।
यो प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि वैज्ञानिक विधि र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यून विजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने उनले प्रष्ट पारे । विराटनगर भन्सार कार्यालयमा पाइलट प्रोजेक्टका रूपमा लागू गरिएको अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणालीको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेका थिए ।