नेभिगेशन
उपत्यका

सुमार्गीका कम्पनीमा १५ करोडको क्षति

काठमाडौं (संवाददाता) – जेनजी आन्दोलनमा भएको ध्वंसले सुमार्गी ग्रुप अफ कम्पनीज्मा ठूलो क्षति भएको छ । आगजनी र तोडफोडबाट १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक अजयराज सुमार्गीले बताए ।

आन्दोलनकारी आफ्नो व्यावसायिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको उनले बिहीबार बताएका हुन् । काठमाडौं र हेटौंडामा रहेको सुमार्गीका कम्पनी र निजी सम्पत्तिमा आन्दोलनकारीले क्षति पुर्‍याएका थिए । ‘आन्दोलनका क्रममा मेरो व्यावसायिक र निजी भवनहरूमा तोडफोड र आगजनी भएको छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वको असक्षमताका कारण आज मेरो कम्पनीले पनि यो अवस्था भोग्नुपरेको छ ।’

तोडफोड र आगजनीबाट कामपा–१०, हेटौंडा ५ र ११ मा रहेका निजी निवास तथा व्यावसायिक भवनहरूमा क्षति भएको विज्ञ टोलीबाट मूल्यांकन गराइएको उनले जानकारी दिए । यस्तै, थाहा खबर डटकम र रेडियो थाहा संचार नेटवर्कको कार्यालयसमेत रहेको काठमाडौंको बबरमहलस्थित व्यावसायिक भवनसहित थप २ वटा घरमासमेत तोडफोड र लुटपाट भएको सुमार्गीले बताए ।

३ वटा निजी कार, ३ वटा मोटरसाइकल आगजनीबाट खरानी भएका छन् । ११ वटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड र आगजनी गर्न आएकाहरूले केही विद्युतीय मोटरसाइकल तथा घरका भाँडाकुँडासमेत लुटेर लगेको उनले बताए ।

सुमार्गीले आफ्नो व्यक्तिगत सम्पत्तिमा क्षति पुगे पनि देशलाई नयाँ बाटोमा लैजान भएको परिवर्तनलाई स्वीकार गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्