एजेन्सी – फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा शुक्रबार राति दुई आप्रवासीको ज्यान गएको छ । करिब १०० जना सवार रहेको अस्थायी डुंगा न्यूफशातेल–हार्डेलोट नजिकको समुद्री क्षेत्रमा दुर्घटनामा परेको फ्रेन्च अधिकारीहरूले जनाएका छन् ।
मोन्ट्रेयू–स्यु–मेयर क्षेत्रकी अधिकारी इसाबेल फ्रादिन–थिरोडका अनुसार घटनामा परेका करिब ६० जनालाई सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिहरूमध्ये केहीलाई नागरिक सुरक्षा विभागअन्तर्गत हेरचाहमा राखिएको छ ।
एएफपीका अनुसार, मध्यम हाइपोथर्मियाबाट पीडित एक जोडी र उनीहरूको बच्चालाई बोलोने अस्पतालमा आपतकालीन उपचारका लागि भर्ना गरिएको छ । फ्रेन्च पत्रिका ला वोइक्स डु नोर्दका अनुसार ज्यान गुमाउने दुवै महिला रहेको बताइएको छ ।
दुर्घटना फ्रान्सको उत्तरी पास–दे–काले क्षेत्रमा रहेको न्यूफशातेल–हार्डेलोट समुद्र तटको दक्षिणतर्फ रातिको समयमा भएको हो । करिब १०० आप्रवासीहरू बेलायत प्रवेशको प्रयासमा अस्थायी डुंगामा यात्रा गरिरहेका थिए ।
सन् २०२५ को सुरुयता मात्रै इङ्लिस च्यानल पार गर्ने प्रयासमा कम्तीमा २५ जना आप्रवासीले ज्यान गुमाएका छन् । गत वर्ष मात्र ५० जना मृतकको पुष्टि फ्रेन्च तट सुरक्षा विभागले गरेको थियो । यसै महिनाको सुरुमा पनि काले नजिकैको तटमा अत्यधिक भीडभाड भएको डुंगामा च्यापिएर सम्भवतः तीन जनाको मृत्यु भएको थियो ।
यो वर्षमात्र करिब ३१ हजार मानिसहरू साना डुंगामार्फत बेलायत पुगिसकेका छन् । यो संख्या अहिलेसम्मकै रेकर्ड हो । सन् २०२४ को जुलाईमा लेबर पार्टी सत्तामा आएयता मात्रै ५० हजारभन्दा बढीले च्यानल पार गरेको अधिकारीहरूले जनाएका छन् ।
अधिकांश आप्रवासीहरू अफ्रिकी र मध्यपूर्वी देशहरूबाट फ्रान्स हुँदै बेलायत प्रवेशको प्रयास गरिरहेका छन् । हालै फ्रान्स र बेलायतबीच गरिएको ‘एक भित्रियो भने एक फर्काइने’ सहमतिअनुसार, बेलायतले शरणको लागि अयोग्य ठहरिएका व्यक्तिहरूलाई फ्रान्स फर्काउनेछ । र सोको सट्टामा फ्रान्समा रहेका शरणका लागि योग्य व्यक्तिलाई बेलायतले स्वीकार गर्नेछ ।
यस सहमतिले च्यानल पार गर्ने प्रयासलाई निरुत्साहित गर्ने लक्ष्य लिएको बताइए पनि मानव अधिकारकर्मीहरूले यस्तो नीति आप्रवासीहरूलाई अझ जोखिमपूर्ण बाटो रोज्न बाध्य पार्ने भन्दै आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री सर कीर स्टारमरले यस्ता च्यानल पारका प्रयासलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका छन् ।
गृहमन्त्री शबाना महमूदले भने मानव तस्करहरूलाई ‘हाम्रा सीमामा तबाही मच्चाउने घृणित गिरोह’ भन्दै कठोर कारबाहीको चेतावनी दिएकी छन् । समुद्री मार्ग हुँदै यस्ता अवैध यात्रा अत्यन्त जोखिमपूर्ण हुने हुँदा आप्रवासी सहायता संस्था र मानव अधिकारवादीहरू सरकारलाई सुरक्षित र व्यवस्थित आप्रवासन नीतिको माग गर्दै आएका छन् । उनीहरूका अनुसार, कडा नीतिका कारण आप्रवासीहरू अझै बढी जोखिमपूर्ण र अवैध मार्ग रोज्न बाध्य भइरहेका छन् ।