नेभिगेशन
उपत्यका

पर्यटनमा बढ्यो चुनौती र अनिश्चितता

काठमाडौ, ११ असोज - नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सधैं विदेशी पर्यटकले भरिने चहलपहलपूर्ण स्थान हो । असोज र कात्तिक महिनालाई यहाँ ‘गोल्डेन सिजन’ मानिन्छ । यी दुई महिना होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, हस्तकला पसल, गाइड सेवा सबैको व्यापार फस्टाउने महिना हुन् । तर यसवर्ष परिस्थिति फेरिएको छ । शनिबार (सेप्टेम्बर २७) वल्र्ड टुरिज्म डे मनाउँदै गर्दा ठमेलको अवस्था सामान्यभन्दा सुस्त देखियो ।

२६ वर्षदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका ४५ वर्षीय मदन अधिकारी भन्छन्, ‘२०२५ को सुरुवातमा पर्यटक आगमन राम्रो थियो, तर जेनजी आन्दोलनपछि करिब २५ प्रतिशतले ग्राहक घटेको छ ।’ 

युरोपबाट केही बढी पर्यटक आए पनि भारत र चीनबाट आउने पर्यटकको संख्या घटेको छ । नेपालमा धेरै पर्यटक आउने मुलुकमा भारत पर्छ । त्यसपछि चीन हो । तर राजनीतिक अस्थिरता र सुरक्षाको आशंका पर्यटकको मनमा परेको उनीहरू नेपाल आउन कम गरेका हुन् ।

नेपालमा घुम्नका लागि, हाल मनास्लु, एभरेस्ट र लाङटाङ क्षेत्र बढी लोकप्रिय छन् । ‘पहिला अन्नपूर्ण बेस क्याम्प मुख्य गन्तव्य थियो, तर सडक विस्तारले त्यसको सौन्दर्य हरायो,’ उनी भन्छन् । भारतीय पर्यटक धार्मिक स्थलतिर आकर्षित छन् भने चिनियाँहरू लुम्बिनी र चितवनतिर । युरोपियन भने संस्कृति र प्रकृति दुवै खोज्छन् ।

तर, अहिले पनि मूल चुनौतीहरू उस्तै छन् । हवाई भाडा अत्यधिक महँगो छ, आवश्यक पूर्वाधार अधुरा छन् र सुरक्षामा गम्भीर प्रश्न छन् । नेपाल पर्यटन बोर्डले पर्यटनलाई देशको ब्रान्ड बनाएर प्रचार गर्ने काम निकै कम गरिरहेको गुनासो पनि व्यवसायीहरूले गरेका छन् ।

ठमेलका पुराना व्यवसायीहरू पनि यो वर्षको सिजनप्रति खासै आशावादी देखिँदैनन् । चार दशकदेखि हस्तकला र स्मरणिका पसल चलाउँदै आएका ६५ वर्षीय बैकुण्ठ पाण्डेले भने, ‘४५ जना पर्यटकको समूह आन्दोलनका कारण बुकिङ रद्द गरेर फर्कियो । यस्तो स्थिति ४६ वर्षको व्यवसायमा पहिलोपटक देखिएको हो ।’

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटन क्षेत्रका लागि पिक सिजन भएको तर अहिले व्यापार निकै घटेको गुनासो उनले गरे । ‘हामीकहाँ हिमाल छ, संस्कृति छ, सभ्यता छ, सबै छ । तर, सरकारको कमजोरीले यो सुन्दर देश अविकसित बनिरहेको छ,’ पाण्डेले भने ।

ठमेलमा कपडा व्यवसाय सञ्चालन गर्दै आएका एक स्थानीय व्यापारी भन्छन्, ‘विदेशी ग्राहकले धेरै बार्गेनिङ गर्छन्, खर्च पनि पहिला भन्दा कम गर्छन, त्यसैले बजारमा प्रतिस्पर्धा निकै चर्को छ ।’ व्यवसाय मात्र होइन, ठमेलको सुरक्षाबारे पनि स्थानीय व्यवसायीहरू चिन्तित छन् । 

राति हिँड्न डर लाग्ने अवस्था भएको उनीहरूको गुनासो छ । भीख माग्ने, पर्यटकलाई झुक्याउने दलाल र बारहरूमा हुने आपराधिक गतिविधिले पर्यटकलाई असुरक्षित बनाइरहेको छ । एक स्थानीय बासिन्दाले भने, ‘म आफैं राति ९ बजेपछि बाहिर जान डराउँछु, पर्यटकलाई झन कस्तो लाग्छ होला ?’

व्यवसायीहरू सरकारको भूमिकामा सन्तुष्ट छैनन् । उनीहरूले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता नदिएको बताए । ‘ठमेलमा राम्रो होटल र भोजन सुविधा छ, तर सरकार प्रचार गर्न सक्दैन । हाम्रा सडक सुधार्न, भिसा प्रक्रिया सरल बनाउन र अन्तर्राष्ट्रिय सञ्जालमा नेपाललाई प्रस्तुत गर्न सकेको छैन,’ पाण्डेले भने ।

विश्व पर्यटन दिवसमा ठमेल झन रमाइलो देखिन्छ । तर भित्रीरूपमा व्यवसायीहरू व्यापारको भविष्यप्रति आशंकित देखिएका छन् । नेपालसँग पर्यटनको अपार सम्भावना भए पनि सरकारको उदासिनताका कारण त्यो अझै अधुरो देखिन्छ । राजनीतिक अस्थिरता, संरचनागत कमजोरी र सुरक्षाको संकटले समस्या झन बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्