नेभिगेशन
उपत्यका

दर्शक फुर्सदमा, सिनेमा हल र ओटिटीमा

दशैंमा हुने एक हप्ता लामो बिदा अनि स्कूल तथा कलेजको त्यसभन्दा अघि नै हुने छुट्टिका कारण सिनेमा हल र अनलाइन स्ट्रिमिङ सेवामा नेपाली फिल्मको भिड शुरु भएको छ ।

दशैंको फूलपातीबाट तीन फिल्म ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शन हुँदैछन् । यी तीन वटा फिल्म नै दर्शकले पहिलेदेखि नै अपेक्षा गरेका र प्रतिक्षित फिल्म हुन् । तिनलाई उचित शो छुट्याउन सिनेमा हलहरूलाई निकै सकस परेको छ ।

यसबीच दक्षिण भारतीय फिल्म ‘कान्तारा २’ पनि आउँदैछ । ‘कान्तारा’को पहिलो भागले नेपालमै पनि अनपेक्षित दर्शक बटुलेकाले दोस्रो भाग हेर्नेहरूको कुनै कमी हुने छैन । त्यसैले यसलाई पनि शो छुट्याउन हलहरूलाई हम्मे परेको छ ।

अहिलेलाई भने नेपाली तीन वटा फिल्मलाई ४५, ३० र २५ प्रतिशतको दरले शो संख्या बाँडेको फिल्मीखबरले जनाएको छ । सबैभन्दा बढी शो ‘बलिदान’ले शो संख्या पाएको छ । यसले देशव्यापी झण्डै दुई सय शो पाएको छ । यसैगरी ‘माइतीघर’ले १२० बढी शो पाएको छ । 

यस्तै हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ले भने ११६ शो पाएको छ । केही सिनेमा हलमा भने अझै शो खुलाइएको छैन । यी तीन वटै फिल्मले दर्शकको अपेक्षाअनुसार शो पाए पनि दर्शकलाई हलभित्र आकर्षित गरिरहनु सबैभन्दा ठूलो चुनौती देखिन्छ ।

रोचक त, यी फिल्महरूको शो व्यवस्थापन गर्न केही सिनेमा हलहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म छुट्याएका छन् । अन्तिम शो सकिँदा बिहानको ३ बज्ने देखिन्छ । यसरी हेर्दा फूलपातीदेखि हलहरू झण्डै २२ घण्टा खुला रहने देखिएको छ । यसअघि पनि ‘पूर्ण बहादुरको सारंगी’ चल्दा पनि हलहरू २१–२२ घन्टासम्म खुलेका थिए ।

फूलपातीमा रिलिज हुने यी तीन फिल्मले घरेलु बजारबाट लगानी उठाउन कम्तीमा पनि ४५ करोडको व्यापार गर्नुपर्ने जनाइएको छ । ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’को प्रचारसहित निर्माण लागत ५ करोडभन्दा बढी रहेको बताइन्छ । ‘माइतीघर’ ३ करोड आसपासमा निर्माण भएको हो ।

ओटिटीमा पनि भीड 

यसैगरी सिनेमा हलमा मात्र नभई उता ओटिटीमा पनि फिल्मको मेला लागेको छ । ‘सिनेमाघर एप’ले ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत चार वटा फिल्म एकसाथ रिलिज गरेको छ । दशैं र तिहारको माहोलमा घरमै बसेर फिल्म हेर्न चाहने दर्शकका लागि एपमा ‘पीताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फेरि रेशम फिलिली’ रिलिज गरिएको हो । यी प्रत्येक फिल्मको शुल्क १९९ रुपैयाँ तोकिएको छ ।

‘पीताम्बर’ एक्सन प्रधान फिल्म हो भने ‘गाउँ आएको बाटो’मा बाबु–छोराबीचको कथा प्रस्तुत गरिएको छ । यो फिल्म थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा भाग लिएको छ । ‘होस्टेल ३’ ले होस्टेलमा बस्ने विद्यार्थीहरूको संघर्ष, चुनौती र रमाइलोलाई देखाएको छ ।

‘फेरि रेशम फिलिली’मा भने अमेरिका मोहको कथालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । सिनेमाघर एपमा ‘बोक्सीको घर’, ‘मनसारा’, ‘भष्मे डन’, ‘प्रसाद २’, ‘दुःखी आत्मा’ लगायतका फिल्महरू पनि यसअघि उपलब्ध भइसकेका छन् ।

यो एपमा रिलिज भएका फिल्महरू वेब ब्राउजरसहित गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सकिन्छ ।

नेपालकै पहिलो ओटीटी प्लेटफर्म रहेको सिनेमाघर एपमा फिल्म हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड र नेपाल तथा भारतबाट विभिन्न डिजिटल वालेट एवं क्युआर कोडको प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् । दशैंको अवसरमा एपको वेब संस्करणलाई परिष्कृत गरी अझ आकर्षक बनाइएको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्