नेभिगेशन
साहित्य

‘द हबिट’को नयाँ कीर्तिमान, उपन्यासको मूल्य ४३ हजार पाउण्ड !

प्रख्यात फेन्टासी उपन्यास ‘द हबिट’ पहिलो पटक सन् १९३७ मा प्रकाशित हुँदा जम्माजम्मी १५ सय प्रति निस्किएको थियो । ती पुस्तकहरु यतिबेला दुर्लभ मानिन थालेको छ । यस्तोमा पहिलो संस्करण महँगो दाममा पुस्तक संकलकहरुले किन्न थालेका छन् ।

हालै भएको एउटा बढाबढमा यो उपन्यास ४३ हजार पाउण्ड स्टर्लिङमा बिक्री भएको बीबीसीले जनाएको छ । यो अत्यन्तै दुर्लभ संस्करण भएको पनि सो अवसरमा जानकारी दिइयो ।

जे.आर.आर. टोकिनको यो उपन्यास ब्रिस्टल शहरस्थित एउटा घर सफाइका क्रममा किताब फेला परेको थियो । किताबलाई सुरक्षित साथ एउटा दराजमा राखिएको र त्यसको गुणस्तर पहिलो पटक प्रेसबाट ल्याएजत्तिकै रहेको बताइएको छ ।

यति महँगो दाममा कसले किताब किन्यो भन्ने खुलाइएको भने छैन । खबरअनुसार, यी संकलक यस्ता दुर्लभ पुस्तकहरु संकलन गर्ने चाख राख्छन् र अन्य धेरै पुस्तकहरु पनि उनको संकलनमा रहेको छ ।

लिलामी घरकी पुस्तक विज्ञ क्याटलिन राइलीका अनुसार कुनै किताब यति धेरै मूल्यमा बिक्री भएको पहिलो पटक हो । उनी भन्छिन्, ‘किताबप्रति मरिहत्ते गर्नेहरुका लागि यो एउटा आदर्शको कथा हो ।’

बढाबढमा यो पुस्तक बढीमा १० हजार पाउन्डदेखि १२ हजार पाउण्डमा बिक्रीसम्म हुने अपेक्षा गरिएको थियो । तर यसप्रति संसारभरका संकलकको चासो हुनाले यसको मूल्य बढ्दै गएको राइलीले बताइन् ।

यो पुस्तक सन् १९३० को दशकका प्रख्यात वनस्पतिविज्ञ ह्यूबर्ट प्रिस्टलीको पारिवारिक पुस्तकालयमा फेला परेको थियो । प्रिस्टली अन्टार्कटिका अन्वेषक तथा भूवैज्ञानिक सर रेमण्ड एडवर्ड प्रिस्टलीका दाजु थिए ।

प्रिस्टलीको अक्सफोर्ड विश्वविद्यालयसँग बलियो सम्बन्ध थियो । त्यो बेला टोकिन त्यहीँ स्याक्सनकालीन अंग्रेजी भाषाका फेलो थिए ।

‘द हबिट’को यो संस्करण कसैसँग हुनुको अर्थ, कुनै नजिकका साथीलाई मात्र दिइने संस्करण भएकाले उनीहरुले एकअर्कालाई चिन्थे भन्ने आकलन राइलीको छ । टोकिनलाई नचिन्ने भए यो पुस्तक उनको हात नपर्न सक्थ्यो भन्ने राइलीको भनाइ छ ।

यो पुस्तक हात परेपछि कसैले पनि नपढेको छाँट देखिन्छ । राइली भन्छिन्, ‘प्रायः यो उपन्यास बालबालिकाहरुले चाख लिएर पढ्ने भएकाले उनीहरुले केरमेट गर्ने र चित्र बनाइदिने गरेको देखिन्छ । तर यो पुस्तक भने कहिल्यै पढिएको वा प्रयोग नभएको देखिएकाले यो साँच्चिकै दुर्लभ किताब बन्न पुग्यो ।’

बाक्लो गाताको यो महँगो संस्करण निस्किएपछि सस्तो दरको पुस्तक निस्कँदा निकै हिट हुन पुगेको थियो । अहिले संसारभर ‘द हबिट’ १० करोडभन्दा बढी प्रति बिक्री भइसकेको मानिन्छ ।

यो उपन्यास मिडिल अर्थ नामक एउटा काल्पनिक संसारको कथा हो । यसको मुख्य पात्र बिल्बो बेगिन्स धन खोज्दै यात्रामा निस्कन्छ । यो संस्करणको रमाइलो पक्ष के छ भने यसमा टोकिन आफैंले बनाएका दुर्लभ चित्रहरुसमेत समावेश गरिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्