दक्षिण भारतीय फिल्म उद्योगका तीन चर्चित कलाकार दुलकर सलमान, पृथ्वीराज सुकुमारन र अमित चक्कलाकल यतिबेला ठूलो कानुनी झमेलामा फसेका छन् । उनीहरू विलासी गाडीहरूको तस्करी र कर छलीसँग जोडिएको एक अनुसन्धानको दायरामा परेका हुन् ।
यो मामिलामा भारतीय भन्सार विभाग, राजस्व गुप्तचर निर्देशनालय (डीआरआइ), प्रवर्तन निर्देशनालय (इडी) लगायतका सरकारी निकायहरूले एकसाथ छापा मारेर कारबाही सुरु गरेका छन् । व्यापक अनुसन्धानसँगै थालिएको यो कार्बाहीलाई अधिकारीहरूले ‘अपरेसन नुमखोर’ नाम दिएका छन् । नुमखोरको अर्थ भुटानी भाषामा ‘वाहन’ हुन्छ ।
लक्जरी गाडी तस्करीको र्याकेट यो सम्पूर्ण मामिला उच्च मूल्यका सेकेन्ड–ह्यान्ड लक्जरी कारहरूलाई अवैध रूपमा भारतमा भित्र्याउने र सरकारलाई तिर्नुपर्ने भन्सार शुल्क तथा अन्य करहरू नतिरी बेच्ने एउटा संगठित र्याकेटसँग सम्बन्धित छ । अनुसन्धानमा खुलेअनुसार तस्करहरूले भुटानबाट विभिन्न ब्रान्डका महँगा गाडीहरू (जस्तै टोयोटा ल्यान्डक्रुजर, ल्यान्डरोभर डिफेंडर) निकै सस्तो मूल्यमा खरिद गर्ने गर्थे । यी गाडीहरूलाई भारतमा प्रवेश गराउन र दर्ता गर्नका लागि जाली कागजातहरू प्रयोग गरिन्थ्यो ।
तस्करहरूले सबैभन्दा पहिले यी गाडीहरूलाई कर कम लाग्ने वा छुट हुने व्यवस्था भएका हिमाचल प्रदेश वा अरुणाचल प्रदेश जस्ता राज्यहरूमा फर्जी ठेगानाहरू प्रयोग गरेर दर्ता गराउँथे । कर छल्नका लागि गाडीहरूलाई नयाँ नभई सेकेन्ड ह्यान्डका रूपमा देखाइन्थ्यो । कतिपय अवस्थामा त गाडीको वास्तविक उत्पादन वर्ष लुकाएर पुरानो मोडलको रूपमा प्रस्तुत गरिएको भेटिएको छ ।
झन् गम्भीर कुरा त के छ भने अवैध कागजातहरूलाई वैध देखाउनका लागि भारतीय सेना, अमेरिकी दूतावास र विदेश मन्त्रालय जस्ता निकायहरूको जाली छापसमेत प्रयोग गरिएको पाइएको छ । यसरी अवैध रूपमा भित्रिएका गाडीहरूलाई पछि ठूला व्यापारी, उद्योगपति र फिल्म स्टारहरूलाई महँगो मूल्यमा बिक्री गरिन्थ्यो, जसले गर्दा खरिदकर्तालाई ठूलो रकमको कर बचत हुने लोभ देखाइन्थ्यो ।
सेलिब्रिटीहरूको घरमा छापा, गाडी जफत यो र्याकेटको खुलासा भएपछि भन्सार र इडीका अधिकारीहरूले केरल र तमिलनाडुका विभिन्न स्थानहरूमा एकैसाथ छापा मारेका थिए । छापा मार्ने क्रममा दुलकर सलमान, पृथ्वीराज सुकुमारन र अमित चक्कलाकलका घर तथा कार्यालयहरू पनि अनुसन्धानको घेरामा परेका थिए ।
अनुसन्धानमा दुलकर सलमानसँग जोडिएका केही विलासी गाडीहरू जफत गरिएका छन् । जफत गरिएका गाडीहरूमध्ये ल्यान्डरोभर डिफेंडर र निसान पेट्रोल लगायत छन् । स्रोतका अनुसार उनको एउटा विलासी टोयोटा ल्यान्डक्रुजर अर्को व्यक्तिको नाममा दर्ता भएको पनि पाइएको छ । दुलकरले भने आफ्नो एक गाडी छुटाउनका लागि केरल उच्च अदालतमा निवेदन दिएका छन् र आफूले वैध तरिकाले खरिद गरेको जिकिर गरेका छन् ।
अमित चक्कलाकलबाट पनि ल्यान्डरोभरसहित अन्य सातवटा गाडीहरू जफत भएका छन् । यद्यपि, अमितले जफत गरिएका गाडीहरूमध्ये एउटा मात्र आफ्नो भएको र बाँकी गाडीहरू मर्मतका लागि आफ्नो ग्यारेजमा राखिएको बताएका छन् । अधिकारीहरूले उनले जाँचमा सहयोग नगरेको आरोप पनि लगाएका छन् । भन्सार अधिकारीहरूले पृथ्वीराजको घरमा पनि खानतलासी गरेका थिए । तर, अहिलेसम्म उनको कुनै पनि गाडी जफत भने गरिएको छैन ।
दुलकर सलमान मलयालम फिल्मका सुपरस्टार मम्मुटीका छोरा हुन् । उनी मलयालम फिल्म उद्योगका निकै लोकप्रिय र सफल युवा कलाकारहरूमध्ये एक हुन् । सन् २०१२ मा फिल्म ‘सेकेन्ड शो’बाट अभिनय थालेका उनले मलयालमका साथै तमिल, तेलुगु र हिन्दी फिल्महरूमा पनि काम गरेका छन् । उनका चर्चित फिल्महरूमा ‘लकी भास्कर,’ ‘चुप,’ ‘बंगलोर डेज,’ ‘उस्ताद होटल,’ ‘चार्ली,’ ‘परवा,’ ‘सीता रामम्,’ ‘कारवा“’ लगायत छन् । सफल अभिनेतासँगै निर्माता पनि भएका उनी स्टाइलिश लुक्स र गाडीहरूको सोखका लागि पनि परिचित छन् ।
पृथ्वीराज एक अभिनेता, निर्देशक र निर्माता का रूपमा प्रख्यात छन् । उनी सन् २००२ मा फिल्म ‘नन्दनाम’ बाट चर्चामा आएका हुन् । मलयालम फिल्म उद्योगका प्रतिभाशाली कलाकारमध्ये पर्ने उनले धेरै अवार्डहरू पनि जितेका छन् । तमिल, तेलुगु र हिन्दी फिल्महरूमा पनि उनले काम गरेका छन् । उनको निर्देशनमा बनेको फिल्म ‘लुसिफर’ र ‘ड्राइभिङ लाइसेन्स’, ’अय्यप्पनम कोशियुम’ चर्चित छन् । पछिल्लो पटक फिल्म ‘सालार’ बाट उनी चर्चामा थिए । उनी केरलाका सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारमध्ये एक हुन् र एक सफल व्यावसायिक व्यक्तित्वका रूपमा पनि चिनिन्छन् ।
अमित चक्कलाकल मलयालम फिल्म उद्योगका उदाउँदा अभिनेता हुन् । उनले मुख्यतया सहायक भूमिका र पछि केही फिल्महरूमा मुख्य भूमिका पनि निर्वाह गरेका छन् । सन् २०१७ मा फिल्म ‘हनी बी २ : सेलिब्रेसन्स’ बाट अभिनय यात्रा थालेका उनका उल्लेखनीय फिल्महरूमा ‘भाइरस’, ‘जिम्मी ई वेडिङ’ र ‘सानो वाल्टर’ छन् । उनी अभिनयसँगै अटोमोबाइलको व्यवसाय वा ग्यारेज सञ्चालनमा पनि संलग्न छन्, जसका कारण उनी लक्जरी गाडी तस्करीको यस मामिलामा बढी जोडिएका हुन् ।
अनुसन्धानको दायरा फराकिलो अधिकारीहरूका अनुसार केरलामा मात्रै १५० भन्दा बढी यस्ता अवैध रूपमा भित्रिएका विलासी गाडीहरू रहेको अनुमान छ, जसमध्ये अहिलेसम्म ४० जति जफत भइसकेका छन् । यो जाँच अब केवल कार तस्करीमा मात्र सीमित छैन । प्रवर्तन निर्देशनालयले विदेशी मुद्रा व्यवस्थापन ऐनको उल्लंघन भएको शंकामा वित्तीय लेनदेनहरूको पनि गहन अनुसन्धान गरिरहेको छ ।
सरकारी एजेन्सीहरूले अब यो पत्ता लगाउने प्रयास गरिरहेका छन् कि यी सेलिब्रिटीहरूले जानीजानी यी अवैध गाडीहरू खरिद गरेका हुन् वा उनीहरूलाई तस्करहरूको यो ठगी र जालसाजीका बारेमा जानकारी थिएन । यस मामिलामा उद्योगपति र धेरै उच्च प्रोफाइलका व्यक्तिहरू पनि संलग्न रहेकाले आगामी दिनमा अनुसन्धान अझै व्यापक हुने सम्भावना देखिएको छ ।(एजेन्सी)