नेभिगेशन
नेपाल

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा

काठमाडौं (संवाददाता) – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला अन्तिम चरणमा पुगेको छ । आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू खेलाउन रंगशाला तयार गर्ने गरी निर्माण पूरा हुने चरणमा पुर्‍याइएको हो ।

शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट मैदानको स्थलगत अवलोकन गरी प्रगतिबारे जानकारी लिएका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठसहित कीर्तिपुर पुगेका उनले निर्माण व्यवसायी तथा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी लगायतसँग छलफल गरे ।

उनले एनपीएल अगावै क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ‘गुरुयोजना बमोजिम नै संरचनाहरू निर्माण भइरहेका रहेछन्,’ उनले भने, ‘लक्ष्यभित्रै काम पुरा गर्न निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुँदैन ।’

रंगशाला विस्तारको दोस्रो चरणको काम पनि अगाडि बढाउने बताउँदै उनले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुने प्रष्ट पारे । क्यानका सचिव पारस खड्काले हालको नेपालको संवेदनशील अवस्थामा हुन लागेको एनपीएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताए ।

खड्काले रंगशाला तयारी अवस्थामा रहेको तथा रंगशाला परिसरभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण कार्य एनपीएल अगाडि नै निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार अहिले रंगशालामा प्यारापिट निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको छ । फ्लडलाइट जडान कार्यको प्रगति ६० प्रतिशत छ । रंगशालामा ४५ मिटर र ६० मिटर अग्ला ६ वटा ३०.४ टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६ वटामध्ये २ लाइट टावर ठड्याउने काम भइसकेको छ । बाँकीका उपकरणहरूको आपूर्ति समेत भइसकेको खड्काले जानकारी दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्