नेभिगेशन
दृष्टिकोण

तिहारः प्रकृति, पशुपन्छी र मानवीय सम्बन्धको अनुपम पर्व

कागदेखि कुकुर, गाई र गोरुसम्मको पूजा

तिहारलाई सामान्यतया उज्यालो, फूलमाला, देउसीभैलो र लक्ष्मीपूजाको पर्वका रूपमा चिनिन्छ । तर यसको सांस्कृतिक र सामाजिक महत्व यतिमा मात्र सीमित छैन । काग, कुकुर, गाई, गोरु तथा गोवर्धन पर्वतको पूजा गरिने यो पर्व प्रकृति, पशुपन्छी, कृषि, वातावरण र मानवीय सम्बन्धप्रतिको सम्मानसँग जोडिएको छ ।
अन्य हिन्दू धर्मावलम्बीले दीपावलीका रूपमा लक्ष्मीको पूजा र दीप प्रज्वलनलाई विशेष महŒव दिने गरे पनि नेपालको तिहारमा पाँच दिनसम्म फरक–फरक जीवजन्तु, प्रकृति र मानवीय सम्बन्धको पूजा गर्ने मौलिक परम्परा छ । यही विशेषताले तिहारलाई नेपालको मौलिक सांस्कृतिक पहिचान बोकेको पर्वका रूपमा स्थापित गरेको छ ।
तिहारको सबैभन्दा विशिष्ट पक्ष भनेको मानिससँग प्रत्यक्ष सम्बन्ध राख्ने पशुपन्छीको पूजा र सम्मान हो । वर्षभरि मानिसलाई विभिन्न किसिमले सहयोग गर्ने जीवजन्तुलाई सम्झने, तिनको योगदान स्वीकार गर्ने र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि यो पर्वलाई लिने गरिएको छ ।
कागबाट सुरु हुन्छ प्रकृतिपूजाको सन्देश
कागलाई यमराजको सन्देशवाहक तथा सूचना संवाहकका रूपमा लिने धार्मिक मान्यता छ । काग कराउँदा पाहुना आउने वा कुनै समाचार प्राप्त हुने जनविश्वास पनि नेपाली समाजमा प्रचलित छ । यही विश्वासका आधारमा कागलाई पूजा गरी खानेकुरा दिने चलन छ ।
तर कागको महत्व धार्मिक विश्वासमा मात्र सीमित छैन । वातावरणीय सन्तुलन कायम राख्न पनि कागको भूमिका महत्वपूर्ण छ । घर तथा बस्तीबाट निस्कने फोहोर र कुहिने वस्तु खाने भएकाले यसले वातावरण सफा राख्न सहयोग पु¥याउँछ । अन्नबालीमा लाग्ने कीरा–फट्यांग्रा खाएर कृषि प्रणालीलाई समेत सहयोग गर्छ ।
चराविद् हेमसागर बरालका अनुसार तिहारमा कागको पूजा गर्नु सम्पूर्ण चराचुरुङ्गीप्रतिको प्रेम र सम्मानको प्रतीक हो । उनका बुझाइमा काग आफैंमा सूचना संवाहक पक्षी पनि हो । जंगलमा हिंस्रक जनावर देख्दा आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको संकेत दिने गर्छ । प्राकृतिक विपत्ति आउनुअघि पनि यसले फरक व्यवहार देखाउने गरेको पाइन्छ ।
कागले एकपटक चिनेको मानिसको अनुहार लामो समयसम्म सम्झन सक्ने क्षमता राख्छ । यसले मानिस र वन्यजन्तुबीचको सम्बन्धलाई पनि देखाउँछ । त्यसैले काग तिहारलाई एउटा पंक्षीको पूजा मात्र नभई चराचुरुङ्गी र जैविक विविधताको संरक्षणप्रतिको सांस्कृतिक सन्देशका रूपमा लिन सकिन्छ ।
कुकुरको इमानदारी र सुरक्षाप्रति सम्मान
कुकुरलाई मानिसको सबैभन्दा पुरानो र विश्वासिलो साथीमध्ये एक मानिन्छ । घरको सुरक्षा गर्ने, अपरिचित मानिसको पहिचान गर्ने तथा संकटको अवस्थामा मानिसलाई सहयोग गर्ने भएकाले कुकुरको विशेष महत्व छ ।
वन्यजन्तुविद् डा. तेजबहादुर थापाका अनुसार मानिस र कुकुरबीचको सम्बन्ध फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित हुँदै आएको छ ।
कुकुरको सुँघ्ने क्षमता अन्य धेरै जनावरको तुलनामा उत्कृष्ट हुन्छ । यही क्षमताका कारण अपराध अनुसन्धान, विस्फोटक पदार्थ पहिचान, बेपत्ता मानिसको खोजी तथा विभिन्न वैज्ञानिक अनुसन्धानमा कुकुरको प्रयोग गरिन्छ । कुकुरले मानिसले बोलेका धेरै शब्दको अर्थ बुझ्न सक्ने क्षमता पनि राख्छ ।
धार्मिक मान्यतामा कुकुरलाई यमराजको दूत तथा भैरवको वाहनका रूपमा लिइन्छ । त्यसैले यस दिन कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मनपर्ने खानेकुरा खुवाउने चलन छ ।
घरमा कुकुर नपाल्ने मानिसले समेत सडक तथा समुदायमा रहेका कुकुरलाई पूजा गरेर खानेकुरा दिने परम्परा छ । यसले घरपालुवा जनावर मात्र नभई मानिससँगै बसोबास गर्ने अन्य जीवप्रतिको सहअस्तित्वको भावना पनि अभिव्यक्त गर्छ ।
गाई र लक्ष्मी पूजाले जोड्छन् कृषि र समृद्धि
नेपाली समाजमा गाईलाई धार्मिक तथा आर्थिक दुवै दृष्टिले महत्वपूर्ण पशुका रूपमा लिइन्छ । गाईबाट दूध प्राप्त हुन्छ । गोबर कृषि मलका रूपमा प्रयोग हुन्छ भने गोबरबाट जैविक ऊर्जा उत्पादन गर्न सकिन्छ । परम्परागत कृषि प्रणालीमा गाईको योगदान महत्वपूर्ण रहँदै आएको छ ।
वातावरणविद् प्रकाश अर्यालका अनुसार गाईको गोबरबाट उत्पादन हुने गोबर ग्यास जैविक इन्धनको महत्त्वपूर्ण स्रोत हो । गोबरलाई मलका रूपमा प्रयोग गर्दा कृषि उत्पादनमा सहयोग पुग्छ । यसले परम्परागत कृषि प्रणाली र वातावरण संरक्षणबीचको सम्बन्धलाई देखाउँछ ।
गाईलाई गौमाता र लक्ष्मीको प्रतीकका रूपमा समेत पूजा गरिन्छ । यही धार्मिक मान्यताअनुसार गाईको पूजा गरेपछि साँझ घर, पसल र कार्यालयमा दीप प्रज्वलन गरी लक्ष्मीको आराधना गरिन्छ ।
लक्ष्मीलाई धन, सम्पत्ति, ऐश्वर्य र समृद्धिकी देवी मानिन्छ । घर सफा गर्ने, आँगन लिपपोत गर्ने, फूलमाला सजाउने र घरका विभिन्न भागमा दीप बाल्ने चलन छ । सयपत्री र मखमली फूल, तेल, दियो र विभिन्न परिकारले घर सजाइन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रिका रूपमा पनि लिइन्छ । अन्धकारलाई प्रकाशले हटाएजस्तै जीवनमा रहेका नकारात्मकता, अज्ञानता र अभाव हटाएर सकारात्मक सोच र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने सन्देश यस पर्वले दिन्छ ।
यस दिन नेवार समुदायमा अन्नपूजा गर्ने परम्परा पनि छ । कृषि पेसासँग जोडिएको समुदायले नयाँ अन्न भिœयाएपछि अन्न भण्डारण गर्ने स्थान तथा अन्नको पूजा गर्छन् । यसले अन्न उत्पादन गर्ने किसान र खाद्यान्नको महत्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
गोवर्धन पूजाले प्रकृति र कृषि प्रणालीको महत्व बुझाउँछ
तिहारको चौथो दिन गोरु तिहार तथा गोवर्धन पूजा मनाइन्छ । कृषि कार्यमा गोरुले पु¥याएको योगदानको सम्मानस्वरूप यस दिन गोरुको पूजा गर्ने चलन छ ।
परम्परागत नेपाली कृषि प्रणालीमा गोरु खेत जोत्न, सामान ओसारपसार गर्न र खेतीपातीका विभिन्न काममा प्रयोग हुँदै आएको छ । आधुनिक कृषि उपकरणको विस्तार भए पनि ग्रामीण क्षेत्रमा गोरुको उपयोगिता अझै कायम छ ।
यस दिन गाईको गोबरबाट पर्वतको आकृति बनाएर गोवर्धन पूजा गरिन्छ । धार्मिक कथाअनुसार भगवान् कृष्णले गोकुलवासीलाई इन्द्रको पूजा गर्नुभन्दा उनीहरूलाई घाँस, पानी र अन्य प्राकृतिक स्रोत उपलब्ध गराउने गोवर्धन पर्वतको पूजा गर्न प्रेरित गरेका थिए । यसबाट रिसाएका इन्द्रले ठूलो वर्षा गराएपछि कृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासीलाई संरक्षण दिएका थिए ।

यस कथाले प्रकृति र प्राकृतिक स्रोतको महत्त्वलाई उजागर गर्छ । पर्वत पानीका स्रोत हुन् । पहाडबाट निस्कने नदीले कृषि, खानेपानी र मानव जीवनलाई आधार प्रदान गर्छन् । त्यसैले गोवर्धन पूजा प्राकृतिक स्रोतप्रतिको कृतज्ञता व्यक्त गर्ने परम्पराका रूपमा पनि स्थापित छ ।
म्हः पूजाः आफ्नै शरीर र अस्तित्वको सम्मान
तिहारको चौथो दिन नेवार समुदायले म्हः पूजा गर्छन् । म्हः पूजालाई नेवार समुदायको मौलिक सांस्कृतिक तथा आध्यात्मिक परम्पराका रूपमा लिइन्छ । यस पूजामा मानिसले आफ्नै शरीर अर्थात् म्हःको पूजा गरी आत्मसम्मान, आरोग्य, दीर्घायु र समृद्धिको कामना गर्छन् ।
म्हः पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन, मानिसले आफ्नै अस्तित्व र शरीरको महत्व स्वीकार गर्ने दर्शन पनि हो । वर्षभरि जीवनका विभिन्न गतिविधिमा संलग्न हुने शरीरलाई स्वस्थ, सन्तुलित र ऊर्जाशील राख्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।
नेवार समुदायमा परिवारका ज्येष्ठ सदस्यले घरका सबै सदस्यलाई क्रमशः म्हः पूजा गराउने चलन छ । पूजाका लागि मण्डप बनाएर त्यसमा विभिन्न सामग्री राखिन्छ । तेल, फूल, अक्षता, धूप, बत्ती, फलफूल तथा सगुनका सामग्री प्रयोग गरी विधिपूर्वक पूजा गरिन्छ । परिवारका सदस्यलाई छुट्टाछुट्टै मण्डपमा राखेर पूजा गर्ने परम्परा छ ।
यस क्रममा शरीरलाई पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँच तत्वबाट बनेको मानिन्छ । यी पाँच तत्वबीचको सन्तुलन कायम रहन सके मात्र मानिसको जीवन स्वस्थ र सन्तुलित हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ । त्यसैले म्हः पूजाले शरीरको महत्त्वसँगै प्रकृतिका आधारभूत तत्त्वप्रतिको सम्मान पनि अभिव्यक्त गर्छ ।

त्यसैले म्हः पूजा व्यक्तिगत स्वास्थ्य र आत्मसम्मानको पर्व मात्र नभई सामुदायिक पहिचान, ऐतिहासिक स्मृति र नयाँ वर्षको स्वागत गर्ने अवसरसमेत हो । 
भाइटीकाः पारिवारिक सम्बन्ध र आत्मीयताको पर्व
धार्मिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई विशेष सम्मानसहित पूजा गरेको दिनको सम्झनामा भाइटीका मनाउन थालिएको हो । यस दिन यमराज आफ्नी बहिनीको घर पुगेको र बहिनीको आतिथ्य तथा पूजाबाट प्रसन्न भएको धार्मिक विश्वास छ ।
भाइटीकामा मखमली, सयपत्री र दुबोको माला तथा सात रङका टीका प्रयोग गरिन्छ । मखमली नओइलाउने, सयपत्रीको रङ नउड्ने र दुबो सधैं हरियो रहने भएकाले यी सामग्रीलाई दाजुभाइको दीर्घायु र दिदीबहिनीबीचको सम्बन्धको स्थायित्वसँग जोडेर हेरिन्छ ।
ओखर, बिमिरो, तेल र विभिन्न परिकारको प्रयोग गरी विधिपूर्वक पूजा गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइको जीवनमा आइपर्न सक्ने संकटबाट रक्षा होस् भन्ने कामना गर्छन् ।
भाइटीकाको सामाजिक महत्व पनि उत्तिकै छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीबीच पुनर्मिलन गराउने, पारिवारिक सम्बन्धलाई नजिक बनाउने र आपसी सद्भाव बढाउने अवसरका रूपमा यो पर्व स्थापित छ ।
प्रकृति संरक्षण र सहअस्तित्वको सांस्कृतिक सन्देश
तिहारको अर्को महत्वपूर्ण पक्ष यसको सामूहिक सामाजिक उत्सव हो । फूलमाला, बत्ती, देउसीभैलो, भैलो, सेलरोटी र विभिन्न परिकारले यस पर्वलाई उल्लासमय बनाउँछन् । गाउँदेखि सहरसम्म घर, सडक र सार्वजनिक स्थान उज्यालोले सजिन्छन् ।
तर तिहारको मूल सन्देश मनोरञ्जन र धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । मानिसले आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पु¥याउने प्रकृति, पशुपन्छी र प्राकृतिक स्रोतको महत्त्व बुझ्नुपर्ने सन्देश यसले दिन्छ ।
कागले वातावरण सफा राख्न सहयोग गर्छ, कुकुरले सुरक्षा दिन्छ, गाईले कृषि तथा पोषणमा योगदान पु¥याउँछ, गोरुले खेतीपातीमा सहयोग गर्छन् र पर्वतले पानी तथा प्राकृतिक स्रोत उपलब्ध गराउँछन् । यी सबैको पूजा गर्नु भनेको मानिस प्रकृतिबाट अलग रहेर बाँच्न नसक्ने यथार्थ स्वीकार गर्नु पनि हो ।
तिहारमा प्रयोग हुने फूल, रङ र प्राकृतिक सामग्रीले समेत प्रकृतिसँगको सम्बन्धलाई झल्काउँछन् । भाइटीकामा प्रयोग हुने दूबो, चामलबाट बनाइने सेतो टीका र विभिन्न प्राकृतिक रङले प्राकृतिक स्रोतको महŒवलाई स्मरण गराउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण