नेभिगेशन
राजनीति

‘रास्वपाको सरकारले प्रतिशोध साँध्दैन, साँध्नुहुँदैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पार्टी र सरकारबीचको सम्बन्ध, संगठनात्मक अनुशासन तथा नेताकार्यकर्ताको व्यवहारलाई लिएर पार्टीभित्रै गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । चितवनमा शुक्रबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई शक्तिको दम्भका रूपमा नभई थप जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताए ।
सरकार र पार्टीको सफलताका लागि जनताले दिएको अभिमतको सम्मान गर्दै पार्टीपंक्ति जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । चुनावमा १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा अहंकार बढेको, जनतालाई सम्मान नगर्ने प्रवृत्ति देखिएको र राजनीतिक शक्तिको दुरुपयोग हुन थालेको उनको भनाइ थियो । उनले प्रहरी, प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई राजनीतिक दबाबमा पार्ने गतिविधि नगर्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । ‘जनताले हामीलाई ठालु पल्टाउनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि अत्यधिक मत दिएर पठाएका हुन्,’ उनले भने, ‘हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ । भुइँ छोड्नु हुँदैन ।’
पार्टीले प्राप्त गरेको जनमतलाई सरकार सञ्चालनको अधिकारसँगै राजनीतिक संस्कार र जवाफदेहिताको परीक्षाका रूपमा लिनुपर्ने उनको भनाइ छ । पार्टीका नाममा प्रशासन र प्रहरीमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिले रास्वपालाई राजनीतिक रूपमा अघि बढाउन नसक्ने उनले स्पष्ट पारे । केही दिनअघि  दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाएर मनोज केसीलाई आइजीपी नियुक्त गरिएको थियो । उक्त निर्णयको हाल विपक्षी दलले विरोध गरेका छन् भने लामिछाने स्वयं सन्तुष्ट देखिएका छैनन् । 
लामिछानेले पार्टीको राजनीतिक सफलता अपेक्षाभन्दा छिटो आएको स्वीकार गर्दै संगठन निर्माण र राजनीतिक प्रशिक्षणका कतिपय काम छुटेको बताए । सामान्यतया वर्षौंको संघर्षपछि पार्टी स्थापित भएर जनताको विश्वास प्राप्त गर्ने राजनीतिक अभ्यास भए पनि रास्वपाले संगठन पूर्ण रूपमा निर्माण नहुँदै ठूलो जनमत पाएको उनको भनाइ थियो । ‘जनताले रास्वपालाई अब्बल छ, एकैपटक आठ कक्षामा भर्ना गरिदिनुपर्छ भने । तर, छुटाएका केही कक्षा नपढीकन आठबाट नौ पुगिँदैन,’ उनले भने ।
उनले पार्टीको आलोचना गर्ने समाज र सञ्चारमाध्यममाथि आक्रामक बन्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । पार्टीका गतिविधिमाथि समाजले गर्ने आलोचनालाई आफ्नो कमजोरी सुधार्ने अवसरका रूपमा लिनुपर्ने भन्दै उनले आलोचकलाई आक्रमण गर्नु राजनीतिक चरित्र नभएको बताए । ‘समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने । केही दिनअघि समाचार लेखेकै विषयलाई लिएर केही सञ्चारमाध्यममा प्रहरी पुगेको थियो भने केही पत्रकारलाई नियन्त्रणमै लिइएको थियो । 
‘लोकतन्त्रभन्दा ठूलो मेरा लागि केही पनि छैन । यही कुरा हामी सबैले भन्न सक्नुपर्छ । यो कुनै विद्रोहको संकेत होइन । कुनै विग्रह, फुट वा मतान्तरको संकेत पनि होइन । यो हाम्रो प्रतिबद्धता हो । रास्वपाको प्रतिबद्धता हो,’ उनले भने,‘हामी हाम्रो सरकारको विरोधमा उत्रिएका होइनौं । प्रतिपक्षलाई खुसी हुन मन छ भने खुसी भए हुन्छ । तपाईंहरूको खुसीको ठेक्का पनि हामीले नै लिएका रहेछौं भने हामी यसो अलिअलि बोलिरहन्छौं । तर म फेरि दोहो¥याउन चाहन्छु, हाम्रो सरकारबाट जनताले गरेको अपेक्षा हामीले बुझ्न जरूरी छ ।’
त्यस्तै उनले रास्वपा नेतृत्वको सरकारले कसैमाथि प्रतिशोध नसाँध्ने र साँध्न नहुने पनि बताए । ‘रास्वपा नेतृत्वको सरकारले कुनै दल, कुनै नेतामाथि प्रतिशोध साँध्दैन, साँध्नुहुँदैन । म त्यसको पक्षमा छैन,’ उनले भने,‘ राज्यका संस्थाहरुलाई काम गर्न दिन्छौं । प्रहरी बलियो बनाउने हो । थुन्ने र सुन्ने कुरा होइन पहिला सुन्नुपर्छ । अनुसन्धान यति बलियो होस् कि त्यो अदालतमा घर होइन जेल जाओस् ।’ 
पार्टीमा अवसरको राजनीति बढेको चिन्ता
लामिछानेले पार्टीभित्र अवसरको राजनीतिले जरा गाड्न थालेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन आउनुअघि नै नेता–कार्यकर्तामा वडाध्यक्षभन्दा मेयर, प्रदेशसभा सदस्य र अन्य ठूला पदमा पुग्ने आकांक्षा बढेको उनको टिप्पणी संगठन निर्माण र जनताको बीचमा रहेर काम गर्नुभन्दा पद र अवसर खोज्ने प्रवृत्ति बढे पार्टीको भविष्य कमजोर हुने उनले बताए । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र टिकट वितरणलाई व्यवस्थित गर्न ‘क्यान्डिडेट क्लब’ विधि अपनाइएको उल्लेख गर्दै उनले त्यसलाई पारदर्शी र विधिसम्मत हुने दाबी गरे । टिकट नपाउनेबित्तिकै पार्टी छाड्ने, असहयोग गर्ने वा प्रतिस्पर्धीलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको चेतावनी थियो ।
‘मैले जित्न सकिनँ र मेरै पार्टीको अर्को साथीले आन्तरिक चुनाव जित्यो भने एक दिन रुन्छु, दुई दिन रुन्छु, तेस्रो दिनदेखि त्यो मेरा साथी जिन्दावाद भन्दै उसका लागि भोट माग्दै हिँड्छु भन्ने प्रतिबद्धता हुनुपर्छ,’ उनले भने । लामिछानेले पार्टीभित्र सांसद र अन्य पदमा पुगेका नेताहरू तथा तल्लो तहमा रहेका कार्यकर्ताबीचको सम्बन्धमा पनि सुधार आवश्यक रहेको बताए । सँगै संघर्ष गरेका साथी सांसद भएपछि उनीहरूप्रति ईष्र्या गर्ने र पदमा पुगेका नेताले पुराना सहयात्रीलाई बेवास्ता गर्ने दुवै प्रवृत्ति गलत भएको उनको भनाइ थियो । राजनीतिलाई एउटा चुनाव जित्ने माध्यमका रूपमा मात्र लिन नहुने बताउँदै उनले चुनाव हार्दा पनि राजनीतिक निष्ठा र प्रतिबद्धता कायम राख्नुपर्ने बताए । चितवनका जगन्नाथ पौडेलको उदाहरण दिँदै उनले चुनाव हार्दैमा राजनीतिक रूपमा पराजित नहुने र निष्ठाको राजनीतिमा लाग्ने व्यक्तिको सम्मान हुनुपर्ने धारणा राखे ।
उम्मेदवारी घोषणा र प्रचारमा रोक 
रास्वपाले निर्वाचन, पार्टी अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, गुटगत दबाब र नातावादका आधारमा निर्वाचन प्रक्रिया प्रभावित पार्ने गतिविधि निषेध गर्दै उम्मेदवारी घोषणा र प्रचारप्रसारमा समेत रोक लगाएको छ ।
केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्रै सञ्चालन गर्न निर्देशन दिएका हुन् । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने समितिले स्पष्ट पारेको छ ।
निर्देशनअनुसार व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया प्रभावित पार्न पाइने छैन । आवेदन दिएको आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा र प्रचार गर्ने कार्यलाई पनि विधिविपरीत मानिएको छ ।
पार्टीले नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन र प्राथमिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम उम्मेदवारको निर्णय गर्ने जनाएको छ । यसअघि नै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अधिवेशनको आधिकारिक मिति र कार्यतालिका सार्वजनिक नभएसम्म नेतृत्वका आकांक्षीले उम्मेदवारी घोषणा गर्न नपाउने व्यवस्था गरिएको छ । 
अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनालाई तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका नेतृत्व तथा विभागसँग परामर्श र समन्वय गर्न पनि निर्देशन दिइएको छ ।
निर्वाचन समितिले आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्ने गतिविधिलाई निषेध गरेको छ । आचारसंहिता र निर्देशनविपरीत सामाजिक सञ्जाल तथा अन्य माध्यममा सामग्री प्रकाशित वा साझा गर्नसमेत रोक लगाइएको छ ।
निर्देशन उल्लंघन गर्ने व्यक्तिलाई उल्लंघनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेज गर्ने, निर्वाचन प्रक्रियाबाट निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउने तथा विधानअनुसार निलम्बन वा पार्टी सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी समितिले दिएको छ । निर्देशनविपरीत प्रकाशित वा साझा गरिएका सामग्री तत्काल हटाउन पनि सम्बन्धित सबैलाई भनिएको छ ।
त्यस्तै, निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार, अभिलेख र व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्