नेभिगेशन
राजनीति

राज्य व्यवस्था बैठक बोलाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले इनम सापकोटा अडिओ प्रकरण, नेपाल प्रहरीका महानिरीक्षक फेरबदल तथा सञ्चारगृह र पत्रकारमाथिको धरपकडलगायत विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ । समितिमा सदस्य रहेका कांग्रेसका चार सांसदले बिहीबार संयुक्त निवेदन दिँदै बैठक तत्काल बोलाउन माग गरेका हुन् । यसरी निवेदन दिनेमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सांसद अर्जुननरसिंह केसी, सचेतक निश्कल राई र सांसद रेखाकुमारी यादव छन् ।
सांसदहरूले बिचौलिया भनिएका इनमसँग जोडिएको अडिओ सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै छानबिनको माग गरेका छन् । प्रधानमन्त्री र उनको सचिवालयको नामसमेत जोडिएर विषय सार्वजनिक भएकाले सरकारको जवाफदेहिता आवश्यक रहेको उनीहरूको भनाइ छ ।
त्यस्तै, प्रहरी हिरासतमा रहेका व्यक्तिसम्म अनधिकृत पहुँच पुगेको विषय, आईजीपीको कार्यकाल बाँकी रहँदै गरिएको फेरबदल तथा पत्रकारहरूको गिरफ्तारी र रिहाइमा प्रधानमन्त्री कार्यालयको निर्देशन जोडिएको भनिएको घटनाबारे पनि समितिमा छलफल हुनुपर्ने कांग्रेसको माग छ ।
सांसद रेखाकुमारी यादवले यी घटनाको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने बताइन् । ‘राज्यका निकायको स्वायत्तता, विधिको शासन, प्रेस स्वतन्त्रता र सुशासनको रक्षा गर्नु हाम्रो संसदीय दायित्व हो। लोकतन्त्रमा सरकारभन्दा माथि विधिको शासन हुन्छ। प्रश्न उठेका विषयमा सरकारले जवाफ दिनुपर्छ र सत्यतथ्य जनतासामु आउनुपर्छ,’ उनले भनिन् ।
यसअघि नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि समितिको बैठक बोलाउन लिखित माग गरिसकेका छन् । संसद् अधिवेशन नभएको अवस्थामा संसदीय समितिमार्फत प्रश्न उठेका घटनाबारे छलफल र सरकारलाई जवाफदेही बनाउन विपक्षी दलहरूले जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्