नेभिगेशन
दृष्टिकोण

जनताको ऋणमोचन गरेर थालेको व्यवहारिक संवत्

विश्वमा समय गणना गर्न विभिन्न संवत् तथा पात्रो प्रणाली प्रचलनमा छन् । ग्रेगोरियन, विक्रम, शक, हिजरी, बौद्ध, चिनियाँ, हिब्रु, इथियोपियनलगायतका पात्रोले आ–आफ्नो धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराअनुसार समयको गणना गर्दै आएका छन् । तर विश्वमा प्रचलित संवतहरूमध्ये आफ्नो देशको नामबाट नामकरण गरिएको र त्यसलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गरेको संवतका रूपमा नेपाल संवतको विशिष्ट पहिचान छ ।
नेपाल संवत् केवल वर्ष, महिना, गते र तिथि गणना गर्ने प्रणाली मात्र होइन । यो नेपाली समाजको मौलिक इतिहास, संस्कृति, सभ्यता र सामाजिक न्यायको सन्देश बोकेको संवत् हो । यसको सुरुआतसँग जोडिएको शंखधर साख्वाको कथाले जनतालाई ऋणमुक्त बनाउने, गरिबीबाट उन्मुक्ति दिलाउने र समाजमा नयाँ युगको थालनी गर्ने परोपकारी भावनालाई स्मरण गराउँछ ।
विश्वमा कति संवत् प्रचलनमा छन् भन्ने प्रश्नको भने एउटै निश्चित उत्तर छैन । पात्रोको परिभाषा, धार्मिक तथा सांस्कृतिक प्रयोग र औपचारिक सरकारी प्रयोगलाई आधार मान्दा संख्या फरक पर्छ । अमेरिकी नौसेनाको खगोलीय सूचना कार्यालयले ग्रेगोरियन, यहुदी, इस्लामिक, भारतीय, चिनियाँ र जुलियन गरी छवटा प्रमुख पात्रो प्रणालीलाई हाल प्रचलनमा रहेको सूचीमा राखेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको खगोलीय इतिहाससम्बन्धी सामग्रीमा भने सन् १९८७ को एउटा अनुमान उद्धृत गर्दै विश्वमा करिब ४० वटा पात्रो प्रयोगमा रहेको उल्लेख छ । यसले विश्वमा पात्रो प्रणालीको संख्या गणना गर्ने आधारअनुसार फरक पर्ने देखाउँछ । 
विश्वका अधिकांश देशले सरकारी तथा अन्तर्राष्ट्रिय कारोबारमा ग्रेगोरियन पात्रो प्रयोग गरे पनि धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा अन्य संवत् तथा पात्रो पनि प्रयोग गर्दै आएका छन् । यही विविधताबीच नेपाल संवत् आफ्नो ऐतिहासिक र सांस्कृतिक मौलिकताका कारण विशेष महत्व राख्छ ।
ऋणमुक्तिको कथासँग जोडिएको संवत्
नेपाल संवतको सुरुआतसँग जोडिएको सबैभन्दा लोकप्रिय किंवदन्ती शंखधर साख्वाको परोपकारी कार्य हो । परम्परागत कथनअनुसार तत्कालीन भक्तपुरका राजा आनन्ददेव मल्लको शासनकालमा एक ज्योतिषीले लखुतीर्थबाट निश्चित साइतमा निकालिएको बालुवा सुनमा परिणत हुने भविष्यवाणी गरेका थिए ।
ज्योतिषीको भनाइमा विश्वास गरेर राजाले आफ्ना भरियालाई तोकिएको साइतमा लखुतीर्थबाट बालुवा ल्याउन पठाएका थिए । ती भरियाले बालुवा निकालेर काठमाडौं ल्याउने क्रममा बाटोमा शंखधर साख्वाले उनीहरूलाई भेटे । भरियाले बालुवा राजाका लागि ल्याएको जानकारी पाएपछि साख्वाले पहिलो खेपको बालुवा आफ्नो घरमा पु¥याइदिन र त्यसपछि अर्को खेप मात्रै राजदरबारमा लैजान आग्रह गरे ।
किंवदन्तीअनुसार तोकिएको शुभसाइतमा निकालिएको बालुवा साख्वाको घरमा पुगेपछि सुनमा परिणत भयो । तर दरबारमा पु¥याइएको बालुवा भने बालुवा नै रह्यो । ज्योतिषीको भविष्यवाणी सत्य साबित भएपछि साख्वाले प्राप्त भएको सम्पत्ति आफ्नो व्यक्तिगत सुखसुविधामा खर्च नगरी जनताको ऋण तिर्न प्रयोग गरे ।

त्यस समयमा सर्वसाधारणले साहु–महाजनसँग लिएको ऋणको भारी बोकेर जीवन बिताउनुपर्ने अवस्था थियो । गरिब तथा निम्न आय भएका परिवारले ऋणको ब्याज र साँवा तिर्न नसक्दा आर्थिक तथा सामाजिक समस्यासमेत भोग्नुपथ्र्यो । साख्वाले आफ्नो सम्पत्तिबाट उपत्यकाका जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त बनाएको कथन छ ।
जनतालाई ऋणको बोझबाट मुक्त गराएको स्मरणमा नयाँ संवत् सुरु गरिएको र त्यसको नाम नेपाल संवत् राखिएको जनविश्वास छ । त्यसैले नेपाल संवतलाई केवल नयाँ वर्षको थालनीका रूपमा मात्र नभई गरिबी, ऋण र आर्थिक शोषणबाट मुक्ति दिलाउने सामाजिक परिवर्तनको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ ।
तर साख्वाले सुन बनाएको बालुवा र सबै जनताको ऋण तिरिदिएको प्रसंगलाई ऐतिहासिक रूपमा प्रमाणित घटनाभन्दा पुस्तौंदेखि प्रचलित किंवदन्तीका रूपमा बुझ्नुपर्ने इतिहासकारहरूको मत छ । नेपाल संवतको ऐतिहासिक सुरुआत भने इस्वी संवत् ८७९ अक्टोबर २० मा भएको मानिन्छ । इतिहासकारहरूले संवतको सुरुआत र साख्वासँग जोडिएको कथाको ऐतिहासिक प्रमाणलाई अलग गरेर अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । 
लिच्छविकालीन संवतदेखि नेपाल संवतसम्म
नेपालको इतिहासमा विभिन्न कालखण्डमा फरक–फरक संवत् प्रचलनमा रहेका थिए । मुख्य रूपमा लिच्छविकालीन संवत्, उत्तरलिच्छविकालीन संवत्, नेपाल संवत् र विक्रम संवत् नेपाली इतिहासका महŒवपूर्ण कालगणना प्रणाली हुन् ।
लिच्छविकालमा शक संवत् प्रचलनमा रहेको अभिलेखहरूबाट देखिन्छ । त्यसपछि मानदेव संवत् र अन्य कालगणना प्रणाली पनि प्रयोगमा आएका थिए । नेपाल संवत्को सुरुआत हुनुअघि प्रचलनमा रहेको शक संवतको कालगणनाबाट नयाँ संवत् सुरु गरिएको ऐतिहासिक व्याख्या पाइन्छ ।
नेपाल संवत् सुरु भएको वर्षलाई शक संवत् ८०१ वर्षसँग जोडेर गणना गरिन्छ । यस संवतको सुरुआत तत्कालीन राजा राघवदेवको शासनकालमा भएको मानिन्छ । संवतको प्रारम्भसँग जोडिएको शंखधर साख्वाको नाम भने पछिल्ला अभिलेख तथा वंशावलीहरूमा देखिन थालेको इतिहासकारहरूको अध्ययनले बताउँछ ।
नेपाल संवत् सुरु भएको पहिलो एक सय वर्षभित्रको स्पष्ट अभिलेख अहिलेसम्म फेला नपरेको विषय पनि इतिहास अध्ययनमा उल्लेख गरिन्छ । काठमाडौं उपत्यकामा प्राप्त शिलालेख, ताम्रपत्र र हस्तलिखित ग्रन्थहरूमा पछिल्ला शताब्दीमा नेपाल संवतको प्रयोग व्यापक रूपमा देखिन्छ ।
भक्तपुरको जेँला टोलस्थित शिलालेखमा नेपाल संवत् ८२७ उल्लेख भएको प्रमाणलाई यसको प्रारम्भिक अभिलेखमध्ये एक मानिन्छ । त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्राप्त शिलालेखमा नेपाल संवत् उल्लेख गरिएको छ ।
नेपाल संवतको प्रयोग काठमाडौं उपत्यकामा मात्र सीमित थिएन । पूर्वी नेपालको उदयपुरदेखि पश्चिमका मगरात, गुल्मी, प्युठान र लमजुङसम्मका हस्तलिखित ग्रन्थ तथा ऐतिहासिक अभिलेखमा यसको प्रयोग भएको पाइन्छ । भारत र तिब्बतसँग सम्बन्धित केही ऐतिहासिक अभिलेखमा समेत नेपाल संवत्को उल्लेख भेटिन्छ ।
नेपालको मौलिक पहिचान
नेपाल संवतको अर्को विशेषता यसको नामकरण हो । विश्वका विभिन्न संवत् कुनै धार्मिक व्यक्तित्व, शासक, धर्मप्रवर्तक वा ऐतिहासिक घटनाको नाममा आधारित छन् । उदाहरणका लागि विक्रम संवत् राजा विक्रमादित्यसँग, शक संवत् शालिवाहनसँग र हिजरी संवत् इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको मक्काबाट मदिना प्रस्थानसँग सम्बन्धित छन् ।
तर नेपाल संवत् भने देशको नामसँग जोडिएको छ । यसले कुनै जाति, भाषा, धर्म वा समुदायको मात्र पहिचान बोकेको छैन । नेपाल नामबाट स्थापित भएको हुनाले यो समग्र नेपाली समाजको साझा ऐतिहासिक सम्पदा हो ।
नेपाल संवत् विशेषगरी धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग अभिन्न रूपमा जोडिएको छ । जन्मदेखि मृत्युसम्मका संस्कार, जन्मदिन, पास्नी, विवाह, व्रतबन्ध, श्राद्ध, तर्पण, पिण्डदान र विभिन्न धार्मिक अनुष्ठान नेपाल संवतको तिथि र पात्रोअनुसार सञ्चालन हुँदै आएका छन् ।
नेपाल संवत् नेपालको मौलिक संस्कृति बुझ्ने आधारसमेत हो । जात्रा, पर्व, मेला, पूजा र परम्परागत गतिविधिको मिति निर्धारणमा यसको महत्वपूर्ण भूमिका छ ।
यस संवतअनुसार नयाँ वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । यही दिन नेवार समुदायले म्हः पूजा गरेर नयाँ वर्ष मनाउँछ । म्हः पूजाले मानिसको शरीर, आत्मसम्मान, स्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परालाई प्रतिनिधित्व गर्छ । त्यसैले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् ।
नेपाल संवत् मूलतः चन्द्रमासमा आधारित पात्रो प्रणाली हो । चन्द्रमाको गति र तिथिका आधारमा यसको महिना तथा पर्वहरूको निर्धारण हुन्छ । चन्द्रवर्ष र सौरवर्षबीच हुने अन्तर मिलाउन आवश्यकताअनुसार अधिकमासको व्यवस्था गरिन्छ । 
शंखधर राष्ट्रिय विभूति, नेपाल संवतलाई राष्ट्रिय मान्यता
नेपाल संवतको संरक्षण र प्रवद्र्धनका लागि लामो समयदेखि विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । शंखधर साख्वालाई जनताको ऋणमोचन गरी सामाजिक परिवर्तनमा योगदान पु¥याएको व्यक्तित्वका रूपमा सम्मान गर्दै सरकारले २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
त्यस्तै, २०६५ सालमा तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको थियो । यसले नेपाल संवत्को ऐतिहासिक तथा सांस्कृतिक महŒवलाई राष्ट्रिय स्तरमा स्वीकार गरेको देखाउँछ ।  
नेपाल संवतको प्रयोगलाई सरकारी कामकाजमा थप विस्तार गर्नुपर्ने माग पनि उठ्दै आएको छ । अहिले सरकारी कागजात, आर्थिक कारोबार, शैक्षिक प्रमाणपत्र तथा औपचारिक प्रशासनिक गतिविधिमा विक्रम संवत् र इस्वी संवतको प्रयोग बढी हुने गरेको छ । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिए पनि यसको व्यावहारिक प्रयोग अपेक्षाकृत सीमित रहेको सरोकारवालाहरूको गुनासो छ ।
नेपाल संवत् कुनै एउटा समुदायको मात्रै सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा सम्पदा भएकाले यसको संरक्षण र प्रयोगमा सबैको सहभागिता आवश्यक छ । विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा यसको इतिहास र महत्व समेट्ने, सरकारी दस्तावेजमा यसको प्रयोग बढाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने कामले यसको पहिचान थप स्थापित गर्न सक्छ ।
ऋणमुक्तिको सन्देश आज पनि उत्तिकै सान्दर्भिक
नेपाल संवतको ऐतिहासिक महŒव यसको नाम र कालगणनामा मात्रै सीमित छैन । यसको उत्पत्तिसँग जोडिएको जनताको ऋणमोचनको सन्देश आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक छ ।

आज पनि गरिबी, बेरोजगारी, आर्थिक असमानता र ऋणको समस्याले समाजलाई प्रभावित गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाको ऋण, अनौपचारिक साहुकारको चर्को ब्याज र आर्थिक अभावका कारण धेरै परिवार समस्यामा छन् । यस्तो अवस्थामा शंखधर साख्वासँग जोडिएको परोपकार र सामाजिक उत्तरदायित्वको कथा आर्थिक न्यायको महत्त्व सम्झाउने ऐतिहासिक प्रेरणा बन्न सक्छ ।
नेपाल संवत् सुरु भएको किंवदन्तीले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ–समाजको वास्तविक समृद्धि सीमित व्यक्तिको सम्पत्ति बढ्नुमा होइन, आर्थिक रूपमा कमजोर नागरिकलाई ऋण र गरिबीको बोझबाट मुक्त गराउनुमा छ । व्यक्तिको सम्पत्ति र सफलताको अर्थ समाजको हितमा त्यसको उपयोग हुँदा मात्र सार्थक हुन्छ भन्ने मान्यता यस कथामा देखिन्छ ।
यस अर्थमा नेपाल संवत् केवल विगतको इतिहास सम्झाउने पात्रो होइन, सामाजिक समानता, परोपकार र सामूहिक समृद्धिको सन्देश दिने मौलिक सांस्कृतिक सम्पदा हो । यसको संरक्षण गर्नु भनेको नेपालको इतिहास, पहिचान र सामाजिक न्यायको परम्परालाई जीवन्त राख्नु पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्