लण्डन । संसारभरका ६० लाख मानिसहरूमा एक जनामा मात्र ‘आरएच नल’ नामक रगत समूह हुन्छ । यो दुर्लभ रगत समूहलाई अहिले शोधकर्ताहरूले प्रयोगशालामा बनाउने प्रयास गरिरहेका छन् । प्रयोगशालामा यो बनाउन सकिए, संसारभरका लाखौं मानिसहरूको ज्यान जोगाउन सकिने वैज्ञानिकहरूले बताइरहेका छन् ।
रगतको खराबीलाई सफा गर्न अचेल ब्लड ट्रान्सफ्युजन गर्ने चलन निकै बढेको छ । यो प्रक्रिया अचेल सहज हुन थालेपछि आधुनिक औषध विज्ञानलाई नै परिवर्तन गरिसकेको छ । हामी घाइते भयौं या कुनै मेडिकल इमर्जेन्सीमा सर्जरी गर्नुपर्ने अवस्थामा अरुलाई रक्तदान गर्दा निकै फलदायी हुन थालेको छ ।
तर कहिलेकाहीँ हरेक व्यक्तिमा रगत चढाइँदा त्यो रगत काम लाग्छ नै भन्ने छैन । खासगरी दुर्लभ रगत समूह भएकाहरूलाई ठ्याक्कै मिल्दो रगत नपाइँदा निकै सकस हुने गर्छ ।
यस्तोमा सबैभन्दा दुर्लभ रगत समूहमध्ये एउटा, आरएच नल नामक रगत समूह पनि हो । संसारमा अहिलेसम्म यो ‘आरएच नल’ समूहको रगत ५० जनामा मात्र पाइएको छ । यस्ता व्यक्तिलाई रगत चाहियो भने ठ्याक्कै मिल्दो रगत पाइने सम्भावना नै हुँदैन ।
यसको उपायस्वरुप चिकित्सकहरूले ‘आरएच नल’ रगत समूह भएका व्यक्तिको रगत निकाल्ने र तिनलाई ब्लड बैंकमा जम्मा गर्ने गर्छन् । यो रगत समूह भएका व्यक्तिले आफूलाई भविष्यमा आफ्नै रगत चाहिने भएकाले रगत निकाल्दै ब्लड बैंकमा जम्मा गर्ने गरेका छन् । यो रगत समूह अन्य कारणले पनि निकै महत्वको छ । त्यसैले मेडिकल शोधकर्ताहरूले यसलाई ‘सुनौलो रगत’ भन्ने गरेका छन् ।
यसको मुख्य कारण चाहिँ आरएच नल रक्तसमूह युनिभर्सल ब्लड ट्रान्सफ्युजनलाई सम्भव बनाउन सहयोगी हुनसक्छ । यसका लागि वैज्ञानिकले दान दिइएका रगतलाई प्रयोग गर्न समस्या झेलिरहेका प्रतिरक्षासम्बन्धी समस्यालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
यस्ता रगत वर्गीकरण गर्ने कयौं प्रणालीहरू छन्, तीमध्ये एउटा एबीओ हो ।
रक्त समूह कसरी बाँडिन्छ ?
तपाईंको शरीरमा बगिरहेको रगतको समूह पत्ता लगाउन रगतमा दोडिरहेको रेड ब्लड सेल्सको सतहमा देखिने वा नदेखिने संकेतका आधारमा तय गरिन्छ । ती संकेतलाई एन्टीजन भनिन्छ । यो प्रोटिन तथा सुगरले बनेका हुन्छन् र शरीरको प्रतिरोधी प्रणालीले यसलाई चिन्छ ।
ब्रिस्टल विश्वविद्यालयका सेल बायोलजी प्राध्यापक ऐश टोय भन्छन्, ‘तपाईंको शरीरमा रहेको रगतले नचिन्ने अर्कै रगत चढाउनु भयो भने त्यसका विरुद्ध शरीरले एन्टीबडी बनाउँछ र आक्रमण गर्छ । त्यसलाई नबुझी फेरि चढाउन थाल्नुभयो भने मान्छेको ज्यान खतरामा पर्नसक्छ ।’
सन् २०१८ को अध्ययनमा ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक टोय र उनका सहयोगीले प्रयोगशालामा आरएच नल रगतलाई तयार पारेका थिए । यसरी तयार पारिएको सुनौलो रगतलाई जिन सम्पादन प्रविधि क्रिस्पर क्यास ९ प्रयोग गर्दै ती पाँच रक्त समूह प्रणालीको एन्टीजनका लागि कोडिङ गर्ने जिनहरूलाई हटाइयो । यसका कारण धेरैजसो रगत ट्रान्सफ्युजनमा समस्या देखियो । प्रयोग गर्दै जाँदा हरेक रक्त समूहका अनुकूल हुने किसिमको कोशिका बन्ने देखियो । यसरी प्रयोगशालामा बनाइउको सुनौलो रगतलाई धेरैजसो ब्लड ट्रान्सफ्युजनमा काम गर्न सकिने देखियो । तर यो रक्तसमूहलाई ओ, ए, बी या एबी रगत दिन सकिँदैन ।
जीन सम्पादन प्रविधि प्रयोग गर्नु अहिले कतिपय देशमा कानूनी रुपमा विवादित छ । त्यसैले यस किसिमको रगत समूहलाई सर्वसाधारणमाझ प्रयोगमा ल्याउन निकै समय लाग्न सक्छ ।
प्रयोग गर्नुअघि कयौं क्लिनिकल ट्रायल र परीक्षण गर्नुपर्ने हुन्छ । यसबीच, प्राध्यापक टोयले स्कार्लेट थेराप्युटिक्स स्थापना गर्दै आरएच नलसहित दुर्लभ रक्त समूह भएका मानिसहरूसँग रगत संकलन गरिरहेको छ । टोयको समूहले यो नमूना संकलन गर्दै प्रयोगशालामा नयाँ रक्त समूह बनाउने छन् र आवश्यक पर्दा दुर्लभ रक्त समूह भएका व्यक्तिहरूले उपयोग गर्न सक्ने छन् ।
यसका लागि यस्तो दुर्लभ रगत दान गर्नेहरूलाई सावधानीपूर्वक छनोट गरिएको छ ।
जिन एडिटिङसम्बन्धी अहिले विभिन्न ठाउँमा शोध चलिरहेको छ । स्पेनदेखि अमेरिका, बेलायतदेखि चीनसम्मका शोधकर्ताहरूले यसमाथि काम गरिरहेका छन् । तापनि वैज्ञानिकहरूले यसमा काम गर्न र व्यापक स्तरमा उपयोग गर्न सकिने बनाउन यसमा लामो समय लाग्ने बताइएको छ ।
यसको सबैभन्दा कठिन काम भनेको स्टेम सेल्सलाई परिपक्व रेड ब्लड सेल्समा विकसित गर्नु हो । संसारभर भइरहेका यस्ता परीक्षण विगत १० वर्षदेखि चलिरहेको छ । र, यो प्रयोग सफल भएको खण्डमा संसारमा रगतसम्बन्धी खोजको एउटा नयाँ मानक बन्ने वैज्ञानिकहरू बताउँछन् ।