नेभिगेशन
मनोरञ्जन

‘बाआमाले सम्मान पाएपछि कलाकार भएको सार्थक भयो’

अभिनेता विजय बराललाई ‘पूर्णबहादुरको सारङ्गी’ले लोकप्रियताको उच्च विन्दुमा पुर्‍याइदियो । चलचित्रमा सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त बरालले पहिलोपटक निर्वाह गरेको मुख्य भूमिकाले वाहवाही मात्र पाएन, उक्त चलचित्रले नेपालमा मात्रै झण्डै ४७ करोडको व्यापार गरेर कीर्तिमान बनायो । आफ्नो नामले परिवारको प्रतिष्ठालाई समाजमा उच्च गरेपछि उनलाई केही उपलब्धि प्राप्त गरे भन्ने आभास भएको छ । ‘मैले पाएको सफलताले अहिले मेरो बुवाआमाको पनि सम्मान बढेको छ । विजयको बुबाआमा है भन्दै उहाँहरूलाई गरिने नमस्कार र दिइने सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । मैले बुबाआमाका लागि गर्न केही सकेको छैन तर मेरो कर्मले दिएको सम्मानले एउटा सन्तानलाई पेशाप्रति झनै ऊर्जा मिल्छ । मैले यस क्षेत्रमा गरेको संघर्ष सार्थक भएको महसुस भएको छ,’ अभिनेता बरालले भने । प्रस्तुत छ, सर्लाहीको लालबन्दी नगरपालिकामा जन्मिएर काठमाडौमा नाट्य क्षेत्र हुँदै चलचित्रमा अभिनेता बनेका बरालले आफ्नो कलायात्राका विषयमा राससले गरेको कुराकानीको सम्पादित अंश : 

अभिनय गर्ने रहर कसरी जाग्यो ?

कक्षा ८ मै पढ्ने समयमा मलाई ‘ढोका खोल पोष्टे कि आमा, ढोका खोल न हो’ बोलको गीतले आकर्षित गर्‍यो । उक्त गीतमा प्रयुक्त शब्दहरू, गायन र श्रव्यदृश्य तीनवटै पक्षले मलाई तान्यो । उक्त गीतको सर्जक लालबन्दीकै गायक नारद खतिवडा रहेको थाहा पाएपछि मैले उहाँको गीत सङ्गीत र हास्य प्रस्तुतिलाई पछ्याउन थालेँ । मैले नजिकका साथीहरूसामु विद्यालयका शिक्षकहरूको हाउभाउ, बोलचाल र शिक्षण शैलीको पनि नक्कल गरेर देखाउँथे । साथीहरूबाट प्राप्त हौसलाबाट उत्साहित विस्तारै नक्कल गरेर आवाज निकाल्न (क्यारिकेचर) गर्न थालेँ । सोही क्रममा पहिलोपटक आफ्नो क्षमता सार्वजनिक रुपमा एउटा कार्यक्रममा म मञ्चमा प्रस्तुत भएँ । त्यहाँ मैले विभिन्न नेताहरूको आवाजहरूको नक्कलसँगै ‘जल्खैको पोको बोकेर’ बोलको गीतमा हास्यप्रधान नृत्य प्रस्तुत गरे । त्यसलाई सबैले रुचाउनुभयो । त्यसपछि म प्रायः संस्कृति कार्यक्रममा प्रस्तुत हुन थालेँ । त्यहीबाट अभिनय गर्ने रहर मभित्र सिर्जित भएको जस्तो लाग्छ ।

दोस्रोपटक कलाकार बन्ने सपना लिएर काठमाडौँ आउनु भएको बताउनु न । 

लालबन्दीमा कक्षा १२ पढेर उत्तीर्ण भएपछि हास्य कलाकार बन्छु भनेर काठमाडौँ हिडेँ । हास्य कलाको विकास र विस्तारका साथ काठमाडौँ आएपछि गृह जिल्लाकै विद्यार्थी नेता रघु कार्कीमार्फत मेरो चिनजान हास्य कलाकार शिवशङ्कर रिजालसँग भयो । ‘जोगिन्दर’ र ‘पानवाला’ को उपनामले चर्चामा आइसक्नुभएका कलाकार रिजालले मलाई आफ्नाव ‘गाईजात्रा’ का लागि तयार गरिने प्रहसन र ‘प्यारोडी’मा स्थान दिनुभयो । मैले उहाँसँग ‘जुनियर आर्टिस्ट’ भएर काम गर्न थालेँ । तर, सन्तुष्टि पाइनँ । सोही क्रममा म गुरुकुलमा नाटक पनि हेर्न जान्थेँ । त्यहाँ गुरुकुलका व्यवस्थापक दिपेश भण्डारीसँग भेटघाट र चिनजान गरेँ । त्यसपछि निःशुल्क नाटक हेर्ने वातावरण पाएँ । व्यवस्थापक भण्डारीकै सल्लाहमा पाटनको यलमाया केन्द्रमा भारतको दिल्लीस्थित विख्यात नेशनल स्कुल अफ ड्रामा (एनएसडी) को तर्फबाट सञ्चालन हुने नाटकसम्बन्धी तालिमको लागि निवेदन दिएँ । रङ्गकर्मी एमके रैनासँग ४५ दिनसम्म सञ्चालित उक्त तालिमको समापनसँगै मैले आफूमा फरक महसुस गरेँ ।

मण्डला नाटक घरसँग कसरी जोडिनुभयो नि ?

‘क्यारिकेचर’ र अभिनय फरक पाटा हुन् भन्ने तथ्यलाई बुझेसँगै म जेलाई कलाकारिता मानेर मख्ख थिएँ, त्यो त वास्तवमा कलाकारिता नै होइन रहेछ भन्ने बुझें । त्यस यता रङ्गकर्ममा आकर्षित भएँ । अभिनय एउटा पोखरी होइन, महासागर रहेछ भन्ने लाग्यो । रङ्गकर्म र नाटकमा आकर्षण बढेपछि पुनः गुरुकुलका व्यवस्थापक भण्डारीले मलाई अनामनगर गएर नाट्यकर्मी राजन खतिवडासँग भेट्न भन्नुभयो । नाट्यकर्मी खतिवडासँग भेटेपछि म मण्डला नाटक समूहसँग जोडिएँ । मण्डलामा ‘सेट डिजाइन’ सहयोगी भएँ । शुरुमा त कलाकार बन्न आएको मान्छे ‘सेट’ बनाइरहेको छु भन्ने पनि लाग्थ्यो । तर, त्यहाँ मैले बुद्धि तामाङ, नाजिर हुसेनको लगाव र मिहिनेतले धैर्य के हो सिकायो । शून्यबाट नयाँ सुरुआत गर्न थाले । त्यहाँबाट विभिन्न गरिने काम र सडक नाटकले जीविकोपार्जन हुन थाल्यो । मैले विलाशिता त्यागेर सङ्घर्षलाई अपनाएँ । हामी त्यो समयमा मण्डला नाटक घरमा सङ्घर्ष गर्ने सबै कलाकारले मिहिनेत गर्‍यौँ । हामीले रसियन कल्चर सेन्टरमा एउटा नाटक महोत्सव गर्दा ठाउँ साँघुरो लागेपछि आफ्नै नाटक घर हुनुपर्छ भनेर मण्डला नाटक घरको स्थान खोज्यौं । सबैले सकेको आर्थिक सहकार्य पनि गर्‍यौँ । नाटकघर तयार भएपछि मसहित सम्पूर्ण नाट्यकर्मी मण्डलाको संस्थापक सदस्य भयौं ।

नाटकमा मुख्य कलाकारको रुपमा अभिनय गर्ने अवसर कसरी प्राप्त भयो ?

राष्ट्रिय नाचघरमा नाट्य प्रशिक्षणमा सिकेको सिकाइलाई सहपाठीहरूसँग मिलेर ‘अन्धो युग’ नामक नाटकमा प्रस्तुत गरेँ । त्यसपछि विस्तारै मञ्चन हुने नाटकहरूमा सानातिना भूमिका गर्न थालेँ । मण्डलाले ‘चरण दास चोर’ नामक नाटक मञ्चन गर्ने तयारी हुँदै गर्दा दयाहाङ राईले अभिनय गर्दै हुनुहुन्थ्यो । तर, उहाँ चलचित्रमा व्यस्त भएपछि त्यो अवसर मैले पाएँ । मैले मौकाको सदुपयोग गर्न निकै मिहिनेत गरेँ । यसलाई धेरैले मन पराउनुभयो ।

चलचित्रमा अभिनय चाहिँ कसरी शुरु भयो ?

चलचित्र ‘छड्के’ बन्दै थियो, त्यसमा धेरै नाट्यकर्मीहरू सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, सुनिल पोखरेललगायत हुनहुन्थ्यो । म उक्त चलचित्रको अफिसमा गएँ । त्यहाँ निर्देशक मीनबहादुर भामले ‘अडिसन’ लिनुभयो । त्यहीँ मैले पाएको दृश्यलाई अभिनय गरेर देखाएँ । र, चलचित्रमा छानिएँ । मैले उक्त चलचित्रमा एउटा दृश्यमा काम गरेको छु। उक्त दृश्यमा अग्रज नाट्यकर्मी सुनिल सर हुनुहुन्थ्यो । सरले मलाई मेरो संवाद नहुँदा पनि आफ्नो संवाद मलाई दिएर काम गर्ने मौका दिनुभयो ।

‘कबड्डी’ले त तपाईंलाई स्थापित नै गर्‍यो नि, हैन ?

‘कबड्डी’ चलचित्रमा निर्वाह गरेकोपात्र ‘बिके’ ले मलाई कलाकारका रुपमा चिनायो । हामी नाट्यकर्मी भएकाले अभिनयसँगै प्राविधिक काममा सहयोग गर्नसक्ने भएकाले उक्त चलचित्रमा अभिनय गर्न छानिएका रहेछौँ । मैले उक्त चलचित्रमा अभिनयसँगै
‘कस्ट्युम’ पक्षलाई पनि हेरेको छु। त्यो समयमा अभिनय गर्न पाइने, एक महिनाको खान खर्च पनि जोगिने भएकाले म अभिनय गर्न तयार भएँ ।

अभिनय के रहेछ त ?

सुरुआती समयको बुझाइ बोल्नु मात्र अभिनय थियो । तर, अहिले मैले बोलेको वा अभिव्यक्त गरेको कुरा दर्शकको मनमा पुग्छ, उहाँ जोडिनु हुन्छ भने त्यो नै अभिनय हो जस्तो लाग्छ । अभिनय भनेको परिपक्वता पनि हो । जति बुझ्दै गयो उति उत्तरदायी बन्ने । 

स–साना भूमिका गर्दै गर्दा ‘पूर्णबहादुरको सारंगी’ मा मुख्य भूमिका कसरी प्राप्त गर्नुभयो ?

निर्देशक रामबाबु गुरुङको बाँसुरी फिल्मका निर्माता विनोद पौडेल भेट भइरहनुहुन्थ्यो । सोही क्रममा मलाई एउटा फरक चलचित्र छ, गर्नुपर्छ भन्नुभयो । त्यो मेरा लागि सामान्य नै थियो, किनकि चलचित्रको प्रस्ताव आउने वा कुराको सुरुआत हुने त्यसरी नै थियो । तर, एकदिन मलाई फोन गररे निर्माता पौडेलले मुख्य भूमिकामा काम गरौँ भन्ने प्रस्ताव गर्नुभयो । सो प्रस्तावले शुरुमा त अन्योलमा परेँ । केही दोधारको अवस्था भयो । झण्डै दुई सातासम्म प्रस्तावमाथि कुनै ठोस निर्णय गर्न सकिनँ । मेरो अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । र, अभिनय गर्ने सम्झौता गर्दै तयारी थालेँ । ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दियो । ‘पूर्णबहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरेँ । सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिकेँ । पर्दामा ‘पूर्णबहादुर गन्धर्व’ नै हो भन्ने अनुभूति दिलाउन आफूले सक्दो प्रयास गरेँ । हामीजस्ता दोस्रो रोजाइका कलाकारका लागि यो आयतनको भूमिका विरलै प्राप्त हुन्थ्यो । यसलाईम  जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थेँ । त्यसैले मैले यसका लागि पर्दामा जतिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहिनेत गरेँ ।

janai-harayeko-manche-1755320458.jpg
 

प्रदर्शनको तयारीमा रहेको ‘जनै हराएको मान्छे’ कस्तो चलचित्र हो ?

आफ्नो बुवाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रको कथा हो । उसले आफ्ना छुटेको सम्बन्ध जोड्न चाहेको छ । तर, त्यो पात्र जनै धागो झैँ घुमेर फस्छ । यसको कथाले नै मलाई आकर्षित र्गयो । पछि पटकथा बनेर आएपछि म झनै आकर्षित भएँ । यो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ । यो सामान्य तथा सरल कथामा बनेको चलचित्र हो । प्रचार सामग्री हेरेर दर्शकले राख्नुहुने अपेक्षालाई चलचित्रले अवश्य पूरा गर्छ ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्