म्याग्दी । बिस वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको संख्या बढेको छ । प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको संख्या बढी देखिएको छ ।
सरकारले सन् २००२ देखि गर्भपतनलाई सर्तसहित कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरूमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ सय ७७ जनाले प्रसूति सेवा र १ सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन गराउनेमध्ये आठ र सुत्केरी हुनेमध्ये ३१ जना २० वर्ष भित्रका थिए ।
कार्यालयका अनुसार अस्पतालमा चालु आवको २०८२/८३ को गत साउनदेखि कात्तिकसम्म सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका ३ सय ७६ मध्ये ३९ जना २० वर्ष मुनिका थिए ।
यसअघि गत आव वर्ष २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका १ हजार ३ सय ८४ जनामध्ये १ सय ९० जना २० वर्ष मुनिका थिए । गत आवमा २० वर्ष मुनिका १ सय ६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने उक्त उमेर समूहका किशोरी तथा युवतीको संख्या २९ रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने १ हजार ४ सय ६५ जनामध्ये २० वर्ष मुनिको संख्या १ सय ६५ जना थियो । यसैगरी २० वर्ष मुनि गर्भपतन सेवा लिनेको संख्या ३३ जना थियो भने उक्त उमेरमाथिका ८ सय ६८ जना थिए ।
पछिल्लो जनगणना अनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको संख्या २१ हजार १ सय ८३ छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने सूचना अधिकारी सुवेदीले बताए । अझै ५३ प्रतिशत दम्पती परिवार नियोजनका साधनको पहुँच बाहिरै छन् ।
प्रजनन स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिने राम्रो मानिन्न । कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएको छ । परिवार नियोजनका साधनको प्रयोग कमी, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको संख्या बढी, २० वर्षभन्दा कम उमेरमा गर्भवती र गर्भपतन गराउनेको संख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको सूचक मानिन्छ ।
‘सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिनेको संख्या बढ्नु सकारात्मक हो । तर पटक–पटक गर्भपतन गराउनु हुँदैन । २० वर्ष मुनि शारीरिक र मानसिक रुपमा सक्षम भइनसकेका किशोरी गर्भवती हुँदा प्रजनन स्वास्थ्यमा जोखिम आउँछ,’ अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानले भने, ‘बालविवाह, शारीरिक र मानसिक रुपमा अपरिपक्क किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् भन्ने देखिएको छ ।’
आधुनिक परिवार योजनाका साधनको प्रयोगदर कम हुनु, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको संख्या बढी हुनु, २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु र गर्भपतन गराउनेको संख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको उनी बताउँछन् ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदी बालविवाह घटाउन तीनवटै सरकारले विशेष ध्यान दिनुपर्ने तर्क गर्छन् । ‘यौन तथा प्रजनन स्वास्थ्यको महत्वका बारेमा विद्यालय र स्वास्थ्य संस्थाले भूमिका निर्वाह गर्नुपर्छ । १४/१५ वर्षका किशोरीसमेत आमा बनिरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा विवाहको शैली फेरिए पनि बालविवाह कम नभएको बताउँछिन् । ‘बालविवाह असुरक्षित र अनिच्छित गर्भधारणको प्रमुख कारण मेलाजात्रा हो,’ उनले भनिन्, ‘मेलाजात्राले धेरै किशोरी तथा युवतीको भविष्य बिग्रिएको छ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा अझै पनि आधा भन्दाबढी अर्थात् ५३ प्रतिशत अनिच्छित गर्भधारण हुने गरेको छ । अर्काेतर्फ पछिल्ला वर्षमा २० वर्ष भन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित जीवनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘सुरक्षित गर्भपतन सेवामा सहज पहुँच र यसको स्वीकार्यता देशभर विस्तार गर्न सरकार निरन्तर प्रतिबद्ध छ ।’ उनका अनुसार हाल देशभर २ हजार ८२७ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क दिइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको एक अध्ययनका अनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अझै पनि सूचीकृत स्वास्थ्य संस्थाबाट भन्दा असुरक्षित र औषधि पसलबाट अनाधिकृत औषधि खाएर असुरक्षित गर्भपतनमा कमी आएको छैन ।