नेभिगेशन
सूचना प्रविधि

पुराना अपराधको रहस्य खोल्दै अत्याधुनिक प्रविधि

न्यू योर्क, (एजेन्सी) । सन् २०१८ को एक दिउँसो अमेरिकाको क्यालिफोर्नियामा प्रहरीले ७२ वर्षीय जोसेफ डिएन्जेलोलाई पक्राउ ग¥यो । ‘गोल्डेन स्टेट किलर’का नामले चिनिने उनी दशकौंसम्म प्रहरीको खोजी सूचीमा थिए । चोरी, बलात्कार र श्रृंखलाबद्ध हत्यामा संलग्न मानिएका डिएन्जेलो लामो समयसम्म कानूनी कारबाहीबाट उम्किँदै आएका थिए । तर अन्ततः उनको पहिचान कुनै प्रत्यक्षदर्शी वा नयाँ प्रमाणले होइन, डीएनए विश्लेषणको अत्याधुनिक प्रविधिले सम्भव बनायो ।
यस घटनाले अपराध अनुसन्धानको दुनियाँमा नयाँ युगको सुरुआत ग¥यो । ‘म्यासिभ्ली प्यारेलेल सिक्वेन्सिङ’ (एमपीएस) अर्थात् ‘नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ’ नामक प्रविधिले पुराना र जटिल अपराध अनुसन्धानमा क्रान्ति ल्याएको छ । परम्परागत डीएनए परीक्षणले असफल भएका घटनामा पनि यसले नयाँ सुराक दिन थालेको छ ।
विगतमा अपराधस्थलबाट प्राप्त रगत, रौँ, थुक वा वीर्यबाट डीएनए प्रोफाइल तयार गर्न ‘सर्ट ट्यान्डम रिपिट’ (एसटीआर) प्रविधि प्रयोग गरिन्थ्यो । यो विधिले सीमित आनुवंशिक सूचकहरूको मात्र विश्लेषण गर्न सक्थ्यो । तर एमपीएसले हजारौँ आनुवंशिक चिह्नहरू एकैपटक अध्ययन गर्न सक्छ ।
यसका कारण अत्यन्त थोरै मात्रामा रहेको डीएनए, वर्षौँ पुरानो वा क्षतिग्रस्त नमुनाबाट समेत अनुसन्धानयोग्य विवरण निकाल्न सम्भव भएको छ । वैज्ञानिकहरूका अनुसार केही दर्जन कोशिकामात्र भए पनि पूर्ण डीएनए प्रोफाइल तयार गर्न सकिने अवस्था सिर्जना हुँदै गएको छ ।
दशकौं पुराना ‘कोल्ड केस’ पुनः खुल्दै
एमपीएसको सबैभन्दा चर्चित प्रयोग ‘फरेन्सिक इन्भेस्टिगेटिभ जेनेटिक जिनियोलोजी’ (एफआईजीजी) हो । यस विधिमा अपराधस्थलबाट प्राप्त डीएनएलाई सार्वजनिक वंशावली (जिनियोलोजी) डेटाबेससँग तुलना गरिन्छ । प्रत्यक्ष मिलान नभए पनि टाढाका आफन्त फेला परेपछि अनुसन्धानकर्ताले पारिवारिक इतिहास, उमेर र भौगोलिक विवरणको सहायताले सम्भावित अपराधी पहिचान गर्न सक्छन् ।
गोल्डेन स्टेट किलर प्रकरण यही विधिबाट समाधान भएको थियो । डाटाबेसमा भेटिएका तेस्रो पुस्ताका आफन्तहरूको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएर डिएन्जेलोसम्म पुग्न सफल भएको थियो ।
अष्ट्रेलियामा पनि यो प्रविधिले तीन दशक पुराना यौन हिंसाका घटनाहरू समाधान गर्न मद्दत गरेको छ । १९९१, १९९६ र २००२ मा भएका तीन छुट्टाछुट्टै घटनामा एउटै व्यक्तिको संलग्नता रहेको पुष्टि भएपछि अनुसन्धान अघि बढाइएको थियो । अन्ततः सन् २०२६ मा ७७ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी ऐतिहासिक अपराधमा अभियोग लगाइयो ।
डीएनएले मात्र सबै उत्तर दिँदैन
यद्यपि विज्ञहरू डीएनएलाई अपराध अनुसन्धानको सम्पूर्ण समाधान मान्दैनन् । उनीहरूका अनुसार डीएनए एउटा ठूलो पहेलीको एउटा टुक्रामात्र हो । सन् २०१९ मा गरिएको एउटा प्रयोगले १० सेकेन्डको हात मिलाइबाट पनि डीएनए अर्को व्यक्तिसम्म सर्न सक्ने देखाएको थियो । त्यसैले कुनै हतियार वा वस्तुमा भेटिएको डीएनए नै अपराधीको हो भन्ने निष्कर्ष निकाल्न सधैं सजिलो हुँदैन ।
एमपीएसले एउटै नमूनाभित्र रहेका विभिन्न व्यक्तिको डीएनए छुट्याउन मद्दत गरे पनि अदालतमा यसको व्याख्या अझ जटिल बन्दै गएको छ । अहिले प्रश्न ‘यो डीएनए कसको हो ?’ भन्दा पनि ‘यो डीएनए यहाँ कसरी आयो ?’ भन्ने हुन थालेको छ ।
अपराधीको अनुहार अनुमान गर्ने प्रविधि
एमपीएसको अर्को उदीयमान प्रयोग ‘फरेन्सिक डीएनए फेनोटाइपिङ’ हो । यसमार्फत वैज्ञानिकहरूले डीएनएका आधारमा व्यक्तिको आँखा, छाला, कपालको रङ वा सम्भावित उचाइसमेत अनुमान गर्ने प्रयास गरिरहेका छन् । यद्यपि यो प्रविधि अझै विकासको चरणमा छ र यसको विश्वसनीयतामाथि बहस जारी छ । त्यसैले धेरै फरेन्सिक प्रयोगशालाहरूले यसलाई प्रमाणका रूपमा प्रयोग गर्न हतार गरेका छैनन् ।
प्रविधिको विकाससँगै डीएनए परीक्षण प्रयोगशालाबाट बाहिर निस्केर अपराधस्थलमै पुग्न थालेको छ । पोर्टेबल सिक्वेन्सिङ उपकरणहरूले घटनास्थलमै केही घण्टाभित्र नतिजा दिन सक्ने सम्भावना देखाएका छन् । विशेषगरी दुर्गम क्षेत्रका पीडितहरूका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ, जहाँ नमुना प्रयोगशालासम्म पु¥याउनै हप्तौँ वा महिनौँ लाग्ने अवस्था हुन्छ ।
चुनौती अझै बाँकी
एमपीएसले अपार सम्भावना बोके पनि यसको व्यापक प्रयोगमा ठूलो बाधा ‘बायोइन्फर्मेटिक्स’ अर्थात् विशाल आनुवंशिक तथ्यांक विश्लेषण गर्ने क्षमता हो । यो प्रविधिबाट प्राप्त हुने डाटा यति ठूलो हुन्छ कि त्यसलाई विश्लेषण गर्न विशेष कम्प्युटर, भण्डारण क्षमता र दक्ष जनशक्ति आवश्यक पर्छ । धेरै फरेन्सिक प्रयोगशालासँग अझै त्यस्तो पूर्वाधार छैन । त्यसैले हालका लागि यस्ता परीक्षण निजी विशेषज्ञ कम्पनीहरूलाई जिम्मा लगाइन्छ ।
तर वैज्ञानिकहरू केमा विश्वस्त छन् भने, फरेन्सिक विज्ञान अब परम्परागत डीएनए परीक्षणबाट उन्नत सिक्वेन्सिङ प्रविधितर्फ अघि बढिरहेको छ । यो परिवर्तन भर्खरै विकसित भए पनि भविष्यको अपराध अनुसन्धान यही दिशातर्फ जानेमा उनीहरू ढुक्क छन् ।
अपराधीले जति नै चलख्याइँ गरे पनि, विज्ञानले छोडेका सूक्ष्म आनुवंशिक संकेतहरू अब पहिलेभन्दा धेरै स्पष्ट रूपमा पढ्न थालेको छ र सम्भवतः यही कारणले दशकौँदेखि अन्धकारमा रहेका अनेक अपराधका फाइलहरू फेरि खुल्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्