नेभिगेशन
सूचना प्रविधि

के स्क्रिन साँच्चै हानिकारक हो ? विज्ञान अझै किन एकमत छैन त ?

घरको काम गरिरहेकी एक आमाले सानो छोरालाई केहीबेर व्यस्त राख्न बाबुको आईप्याड दिइन् । केही समयपछि उनलाई छोराले कति बेरदेखि प्रयोग गरिरहेको छ र के हेरिरहेको छ भन्ने चिन्ता लाग्यो । उनले आईप्याड फिर्ता मागिन् । त्यसपछि बालकले आईप्याड नदिन जोडले करायो, लात हान्यो, आईप्याड समातेर बस्यो र आमालाई धकेल्नसम्म खोज्यो । यो घटनाले आमालाई एउटा गम्भीर प्रश्नमा सोच्न बाध्य बनायो— के स्क्रिनले बालबालिकामा साँच्चै यति गहिरो असर पारिरहेको छ ?
अचेल धेरै अभिभावक यस्तै द्विविधामा छन् । ठूला सन्तान सामाजिक सञ्जाल, भिडियो गेम, भर्चुअल रियालिटी र स्मार्टफोनमा व्यस्त छन् । ‘टच ग्रास’ अर्थात् मोबाइल छोडेर बाहिर खेल्न जाऊ भन्ने ठट्टा पनि अहिलेका किशोरकिशोरीबीच सामान्य बनिसकेको छ । अझ रोचक कुरा त के छ भने, एप्पलका सहसंस्थापक स्टिभ जब्सले आफ्नै सन्तानलाई आईप्याड प्रयोग गर्न दिएका थिएनन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि आफ्ना छोराछोरीको प्रविधि प्रयोगमा कडा सीमा लगाएका थिए । 
पछिल्ला वर्षहरूमा स्क्रिन समयलाई किशोरहरूमा बढ्दो डिप्रेसन, व्यवहारगत समस्या, निद्राको कमी र मानसिक स्वास्थ्यका विभिन्न समस्यासँग जोडेर हेरिएको छ । केही वैज्ञानिकले त इन्टरनेट र भिडियो गेमले किशोर मस्तिष्कलाई नै क्षति पु¥याउन सक्ने दाबी गरेका थिए । तर पछिल्ला अनुसन्धानहरूले यो बहसलाई नयाँ मोड दिएका छन् । धेरै वैज्ञानिक भन्छन्, स्क्रिनको हानिकारक प्रभावबारे अहिलेसम्म पर्याप्त र ठोस वैज्ञानिक प्रमाण उपलब्ध छैन । 
बाथ स्पा विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक पीट एचेल्सले स्क्रिन समय र मानसिक स्वास्थ्यसम्बन्धी सयौं अनुसन्धानको समीक्षा गरेका छन् । उनको निष्कर्ष छ— स्क्रिन समयलाई लिएर चर्चित बनेका धेरै निष्कर्ष कमजोर प्रमाणमा आधारित छन् । उनी भन्छन्, ‘स्क्रिनले भयानक परिणाम निम्त्याउँछ भन्ने दाबीलाई पुष्टि गर्ने ठोस वैज्ञानिक प्रमाण छैन ।’
अमेरिकन साइकोलोजिकल एसोसिएसनले सन् २०२१ मा प्रकाशित गरेको अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको थियो । सन् २०१५ देखि २०१९ सम्म प्रकाशित ३३ वटा अध्ययनको समीक्षा गर्दा स्मार्टफोन, सामाजिक सञ्जाल र भिडियो गेमको प्रयोगले मानसिक स्वास्थ्य समस्यामा अत्यन्तै सानो भूमिका खेलेको पाइएको थियो । त्यसैगरी, सुत्नुअघि स्क्रिनको नीलो प्रकाशले निद्रा बिगार्छ भन्ने व्यापक विश्वास पनि सबै अवस्थामा प्रमाणित भएको छैन । सन् २०२४ मा ११ अध्ययनको समीक्षाले सुत्नुअघि एक घण्टा स्क्रिन हेर्दा निद्रा बिग्रन्छ भन्ने स्पष्ट प्रमाण फेला पारेन । 
वैज्ञानिकहरूका अनुसार समस्याको एउटा मुख्य कारण अनुसन्धानको विधिमै छ । अधिकांश अध्ययनमा सहभागीलाई ‘तिमीले कति समय स्क्रिन प्रयोग ग¥यौ ?’ र ‘त्यसले कस्तो महसुस गरायो ?’ भनेर आफैंले सम्झेर उत्तर दिन लगाइन्छ । यस्तो आत्मरिपोर्टिङ सधैं विश्वसनीय हुँदैन ।
त्यसैगरी, दुई कुरा एउटै समयमा बढ्दै गएको देखिनु भनेको एउटाले अर्कोको कारण हो भन्ने होइन । एचेल्सले उदाहरण दिन्छन् — गर्मी मौसममा आइसक्रिम बिक्री पनि बढ्छ र छालाको क्यान्सरका लक्षण पनि धेरै देखिन्छन् । तर त्यसको अर्थ आइसक्रिमले क्यान्सर गराउँछ भन्ने होइन । 
यस्तै एउटा अध्ययनमा चिकित्सकले चिन्ता र डिप्रेसन भएका धेरै किशोरले प्रतीक्षालयमा मोबाइल चलाइरहेको देखेपछि अनुसन्धान सुरु गरिएको थियो । सुरुमा मोबाइल प्रयोग र मानसिक समस्याबीच सम्बन्ध देखिए पनि थप विश्लेषण गर्दा वास्तविक कारण एक्लोपन रहेको पत्ता लाग्यो । डिप्रेसन वा चिन्तामा रहेका किशोर धेरै समय एक्लै बिताउँथे र त्यसैले मोबाइल पनि धेरै चलाउँथे । अर्थात् मोबाइलभन्दा एक्लोपनले बढी प्रभाव पारिरहेको थियो । 
अर्को महŒवपूर्ण प्रश्न भनेको ‘स्क्रिन समय’ वास्तवमा के हो भन्ने हो । सबै स्क्रिन प्रयोग एउटै हुँदैन । कसैले अनलाइन कक्षा लिइरहेको हुन सक्छ, कसैले साथीहरूसँग भिडियो कल गरिरहेको हुन सक्छ, कसैले नयाँ सीप सिकिरहेको हुन सक्छ भने कसैले निरन्तर नकारात्मक सामग्री स्क्रोल गरिरहेको हुन सक्छ । यी सबै अनुभवलाई एउटै ‘स्क्रिन समय’ भनेर मापन गर्दा वास्तविक प्रभाव बुझ्न गाह्रो हुन्छ । 
अमेरिका र बेलायतका अनुसन्धानकर्ताले ९ देखि १२ वर्षका ११ हजार ५०० बालबालिकाको मस्तिष्क स्क्यान, स्वास्थ्य अवस्था र स्क्रिन प्रयोगको अध्ययन गरेका थिए । उनीहरूले स्क्रिन प्रयोगसँग मस्तिष्कका केही भागबीचको सम्पर्कमा परिवर्तन देखिए पनि त्यसले मानसिक स्वास्थ्य वा बौद्धिक क्षमतामा नकारात्मक असर पारेको प्रमाण फेला पारेनन् । यो अध्ययनको नेतृत्व अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु प्रजिबिल्स्कीले गरेका थिए । उनका अन्य अध्ययनले त भिडियो गेम र सामाजिक सञ्जालले केही अवस्थामा मानिसको मनोबल र सामाजिक सम्बन्ध सुधार्न पनि सहयोग गर्न सक्ने देखाएका छन् ।  यद्यपि, यसले इन्टरनेटमा कुनै जोखिम छैन भन्ने अर्थ लाग्दैन । बालबालिकालाई यौन शोषणका लागि फसाउने प्रयास, हिंसात्मक वा अश्लील सामग्री, साइबर दुव्र्यवहारजस्ता जोखिम वास्तविक छन् । प्रजिबिल्स्की र एचेल्स दुवैले यस्ता खतरा गम्भीर रहेको स्वीकार्छन् । तर उनीहरूको तर्क छ— स्क्रिन समयलाई मात्र दोषी ठह¥याउँदा वास्तविक जोखिम पहिचान गर्न कठिन हुन सक्छ । 
तर सबै वैज्ञानिक यसमा सहमत छैनन् । अमेरिकाको सान डिएगो स्टेट विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक जीन ट्वेन्जले किशोरहरूमा बढ्दो डिप्रेसनको अनुसन्धान गर्दा सामाजिक सञ्जाल र स्मार्टफोन सबैभन्दा साझा कारक देखिएको बताउँछिन् । उनका अनुसार १६ वर्षपछि किशोरहरूको मस्तिष्क र सामाजिक परिपक्वता धेरै विकसित भइसकेको हुन्छ । त्यसैले सकेसम्म ढिलो उमेरसम्म स्मार्टफोनबाट टाढा राख्नु उचित हुन्छ । 
डेनमार्कमा गरिएको एउटा अध्ययनमा १८१ बालबालिकालाई दुई समूहमा विभाजन गरियो । एउटा समूहलाई दुई सातासम्म हप्तामा तीन घण्टाभन्दा बढी स्क्रिन प्रयोग गर्न दिइएन र उनीहरूका स्मार्टफोन तथा ट्याब्लेट संकलन गरियो । अध्ययनले स्क्रिन प्रयोग घटाउँदा बालबालिकाको मानसिक लक्षणमा सुधार आएको र सामाजिक व्यवहार पनि सकारात्मक बनेको देखायो । यद्यपि अनुसन्धानकर्ताले अझ विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन् । बेलायतको अर्को अध्ययनले पनि सामाजिक सञ्जालको बढी प्रयोग गर्ने किशोरीहरूमा डिप्रेसनको अनुभूति बढी देखिएको जनाएको छ । 
यसबीच अभिभावकहरू अन्योलमा छन् । कसैले कडा नियम बनाएका छन्, कसैले लचकता अपनाएका छन् । तर स्पष्ट वैज्ञानिक सहमति अझै बनेको छैन । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र बेलायतको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थले बालबालिकाका लागि निश्चित दैनिक स्क्रिन समय तोकेका छैनन् । विश्व स्वास्थ्य संगठनले भने एक वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिन नदिन र चार वर्षमुनिका बालबालिकाका लागि दिनमा एक घण्टाभन्दा बढी नबनाउन सुझाव दिएको छ, त्यो पनि मुख्यतः शारीरिक गतिविधिलाई प्राथमिकता दिनका लागि । 
अन्ततः प्रश्न अझै खुला छ । यदि भविष्यमा स्क्रिन वास्तवमै बालबालिकाका लागि गम्भीर हानिकारक साबित भयो भने विज्ञानलाई त्यो निष्कर्षमा पुग्न वर्षौं लाग्न सक्छ । तर यदि अन्ततः त्यस्तो होइन भन्ने प्रमाणित भयो भने, हामीले अनावश्यक डरका कारण बालबालिकालाई उपयोगी हुन सक्ने प्रविधिबाट टाढा राखेको ठहरिनेछ । यसबीच प्रविधि झन् तीव्र गतिमा बदलिँदै छ— स्मार्ट चस्मा, साना अनलाइन समुदाय र गृहकार्यदेखि परामर्शसम्म सहयोग गर्ने कृत्रिम बुद्धिमत्ताका च्याटबोटहरू दैनिक जीवनको हिस्सा बनिरहेका छन् । त्यसैले अबको चुनौती केवल ‘कति समय स्क्रिन हेर्ने ?’ भन्ने होइन, ‘स्क्रिन कसरी र किन प्रयोग गर्ने ?’ भन्ने प्रश्नको उत्तर खोज्नु हो । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि