नेभिगेशन
साहित्य

एआईले पुस्तक उद्योगमा कस्तो असर गर्दैछ ?

एआईको तीव्र विकासले प्रकाशन उद्योगलाई एकैपटक अवसर र चुनौती दुवै दिएको छ । लेखक, प्रकाशक र साहित्यिक जगतमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न हो– कृत्रिम बुद्धिमत्ता (एआई) पुस्तक लेख्ने, सम्पादन गर्ने र प्रकाशन गर्ने प्रक्रियामा कहाँसम्म प्रयोग गर्न मिल्छ ? यसको प्रयोगले सिर्जनशीलता, मौलिकता तथा लेखकको भूमिकामा कस्तो प्रभाव पार्छ ?
ब्रिटिश लेखक स्टिभन रोजेनबमका लागि यो प्रश्न निकै व्यक्तिगत बन्यो । उनले तीन वर्ष लगाएर अनुसन्धान र लेखन गरेको आफ्नो पुस्तक प्रकाशित हुनुअघि नै आफूले तयार पारेका केही अनुसन्धान सामग्री एआई उपकरणबाट प्रभावित भएको जानकारी पाए । पुस्तकमा केही तथ्यगत त्रुटि देखिएपछि उनले सुरुमा त्यसलाई असम्भव ठाने । किनभने परम्परागत प्रकाशन प्रक्रियामा पुस्तकले सम्पादकीय समीक्षा र तथ्य परीक्षणका धेरै चरण पार गरेको थियो । तर पछि उनले थाहा पाए कि अनुसन्धान व्यवस्थित गर्न प्रयोग गरिएको एआईले कतिपय सारांशलाई प्रत्यक्ष उद्धरणजस्तो देखिने गरी प्रस्तुत गरेको रहेछ ।
यही अनुभवले अहिलेको प्रकाशन उद्योगले सामना गरिरहेको ठूलो बहसलाई उजागर गर्छ । एआईले अनुसन्धान व्यवस्थित गर्न, सामग्री संकलन गर्न र सम्पादनमा सहयोग गर्न सक्छ । तर त्यही प्रविधि सिर्जनात्मक लेखनको सीमासम्म पुगेपछि त्यसको प्रयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा उद्योग स्पष्ट नियम बनाउन संघर्ष गरिरहेको छ ।
प्रकाशन क्षेत्रका धेरै अधिकारीहरूका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती प्रविधिलाई पूर्ण रूपमा रोक्नु होइन, बरु कहाँसम्म प्रयोग गर्न दिने भन्ने सीमा निर्धारण गर्नु हो । एक वरिष्ठ पुस्तक व्यवसायीका शब्दमा, “हरेक हप्ता कुनै न कुनै पुस्तक शंकास्पद देखिन्छ । समस्या के हो भने सामान्य लेखन र एआईबाट तयार भएको लेखनबीचको सीमा छुट्याउन झन् कठिन हुँदै गएको छ ।”
एजेन्सीहरूका अनुसार अहिले उनीहरू पूर्ण रूपमा एआईबाट तयार पारिएका पुस्तक प्रस्तावहरूबाट भरिएका छन् । कतिपय प्रस्तावमा लेखकहरूले आफूले एआई प्रयोग गरेको स्वीकार गर्छन् भने केहीले त्यसलाई लुकाउने प्रयास गर्छन् । केही प्रकाशकहरूका अनुसार अहिले प्राप्त हुने पाण्डुलिपिमध्ये धेरैमा कुनै न कुनै रूपमा एआईको प्रयोग भएको देखिन्छ । यसले वास्तविक लेखकको सिर्जनात्मक योगदान कति छ भन्ने छुट्याउन कठिन बनाएको छ ।
लेखकहरू भने अर्को चिन्तामा छन् । उनीहरूलाई डर छ, उनीहरूको सिर्जना अनुमति बिना एआई प्रणालीलाई तालिम दिन प्रयोग भइरहेको हुन सक्छ । यसअघि एआई कम्पनीहरूले प्रतिलिपि अधिकार सुरक्षित सामग्री प्रयोग गरेको आरोप लागिसकेको छ । यही कारण लेखक र प्रकाशकहरू आफ्नो बौद्धिक सम्पत्तिको संरक्षणका विषयमा थप सचेत बनेका छन् ।
प्रकाशकहरूका लागि अर्को चुनौती एआईबाट उत्पन्न हुने भ्रमपूर्ण सामग्री हो । कुनै पुस्तक बजारमा पुग्नुअघि धेरै तहको सम्पादन र तथ्य परीक्षण हुन्छ । तर एआईले अनुसन्धान सामग्रीलाई गलत ढंगले व्याख्या गर्ने, अस्तित्वमै नभएका उद्धरण सिर्जना गर्ने वा तथ्यलाई गलत रूपमा प्रस्तुत गर्ने जोखिम रहने भएकाले त्यसलाई नियन्त्रण गर्नु आवश्यक ठानिएको छ ।
पेन्गुइन ¥यान्डम हाउसकी प्रमुख कार्यकारी म्याडलिन म्याकइन्टोसका अनुसार एआई उपयोगी उपकरण हुन सक्छ, तर त्यसले दिने जानकारीलाई अन्तिम सत्य मान्न मिल्दैन । उनका अनुसार यसबाट आउने सामग्रीको स्वतन्त्र रूपमा पुष्टि गर्नुपर्छ, किनभने यसले कहिलेकाहीँ पूर्ण रूपमा गलत विवरण पनि आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्छ ।
प्रकाशकहरूले त्यसैकारण लेखकसँग हुने सम्झौतामा नयाँ व्यवस्था थप्न थालेका छन् । लेखकले आफ्नो कृति मौलिक र मानवीय सिर्जना भएको प्रत्याभूति दिनुपर्ने प्रावधान समावेश गर्न थालिएको छ । यसले प्रतिलिपि अधिकार उल्लंघन तथा एआईबाट सिर्जित सामग्रीसम्बन्धी विवादबाट प्रकाशकलाई जोगाउने उद्देश्य राख्छ ।
कतिपय प्रकाशकहरूले एआईलाई सीमित काममा उपयोगी ठान्छन् । अनुसन्धान व्यवस्थित गर्ने, सम्पादन सहयोग गर्ने वा प्रशासकीय काम छिटो सम्पन्न गर्ने क्षेत्रमा यसको प्रयोग स्वीकार्य देखिन्छ । तर सिर्जनात्मक लेखन, कथा निर्माण वा साहित्यिक अभिव्यक्तिमा एआईको अत्यधिक प्रयोगले पुस्तकको मौलिकता कमजोर बनाउने उनीहरूको धारणा छ ।
उद्योगका केही व्यक्तिहरूले एआईको प्रभावलाई आत्मप्रकाशन बजारसँग पनि जोडेर हेरेका छन् । अहिले धेरै मानिसले सजिलै पुस्तक प्रकाशित गर्न सक्ने भएकाले बजारमा एआईको सहयोगमा तयार भएका पुस्तकको संख्या तीव्र रूपमा बढ्न सक्ने अनुमान गरिएको छ । यसले गुणस्तर नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाउने चिन्ता व्यक्त गरिएको छ ।
अर्कोतर्फ, केही प्रकाशकहरू एआईलाई पूर्ण रूपमा अस्वीकार गर्ने पक्षमा छैनन् । उनीहरूका अनुसार व्यावसायिक प्रक्रियामा समय बचाउने, सामग्री व्यवस्थापन गर्ने वा प्रशासनिक काम सहज बनाउने क्षेत्रमा एआई प्रभावकारी हुन सक्छ । तर साहित्यिक सिर्जनाको मूल आत्मा भने मानवीय अनुभव, भावना, कल्पना र मौलिक सोचमै आधारित हुनुपर्ने उनीहरूको जोड छ ।
उद्योगले अर्को महŒवपूर्ण प्रश्न पनि उठाएको छ– पाठकले कस्तो पुस्तक पढिरहेका छन् भन्ने जानकारी पाउने अधिकार । यदि कुनै पुस्तकमा एआईको उल्लेखनीय प्रयोग भएको छ भने त्यसबारे पाठकलाई जानकारी दिनुपर्ने कि नपर्ने भन्ने विषयमा पनि बहस भइरहेको छ । केही प्रकाशकहरूले भविष्यमा यस्ता पुस्तकमा स्पष्ट लेबल राख्नुपर्ने धारणा अघि सारेका छन् ।
लेखक तथा प्रकाशकहरू दुवैले स्वीकार गरेको अर्को वास्तविकता भनेको एआईलाई पूर्ण रूपमा टाढा राख्न अब सम्भव छैन भन्ने हो । धेरै लेखकले अनुसन्धान, योजना वा प्रारम्भिक तयारीमा कुनै न कुनै रूपमा एआईको सहयोग लिइरहेका छन् । तर त्यसको प्रयोग अन्तिम सिर्जनामा कति छ भन्ने नै अहिलेको विवादको केन्द्र बनेको छ ।
उद्योगका अनुभवी व्यक्तिहरूका अनुसार प्रकाशन क्षेत्रले विगतमा पनि धेरै प्रविधिगत परिवर्तनहरू सामना गरेको थियो । डिजिटल प्रकाशन, इ–बुक र अडियोबुकले बजार परिवर्तन गरे पनि राम्रो पुस्तकको मूल्य घटेन । अहिले पनि उनीहरूका अनुसार पाठक अन्ततः मौलिक विचार, सिर्जनात्मक शैली र मानवीय अनुभवबाट जन्मिएको गुणस्तरीय सामग्रीकै खोजीमा हुन्छन् ।
यही कारण अहिले प्रकाशन उद्योगले एआईलाई अस्वीकार गर्नेभन्दा पनि त्यसका लागि स्पष्ट मापदण्ड र जिम्मेवार प्रयोगको ढाँचा बनाउन जोड दिएको छ । अनुसन्धान, सम्पादन र प्रशासनिक सहयोगका रूपमा एआईको उपयोग स्वीकार्दै साहित्यिक सिर्जनाको केन्द्रमा भने मानिस नै रहनुपर्ने धारणा बलियो बन्दै गएको छ । प्रविधि जति उन्नत भए पनि पुस्तकलाई अर्थपूर्ण बनाउने तत्व मानवीय अनुभव, कल्पना, संवेदना र मौलिक अभिव्यक्ति नै हो भन्ने विश्वास प्रकाशन उद्योगले अझै कायम राखेको छ ।
द फाइनान्सियल टाइम्सको रिपोर्ट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्