नेभिगेशन
विश्व

उत्तरी सागरमुनि कार्बन डाइअक्साइड भण्डारण गरिँदै

लण्डन – युरोपको दुर्गम उत्तरी सागरमुनि रहेको दशकौंसम्म जीवाश्म इन्धन निकाल्न प्रयोग गरिएका प्लेटफर्महरूमध्येको एक निनी तेल क्षेत्र अहिले अर्को अध्यायतर्फ मोडिँदै छ । हेलिकप्टरबाट क्षितिजमा पहिलोपटक देखिने यो क्षेत्र अब समुद्री सतहमुनि कार्बन डाइअक्साइड (सीओ२) स्थायीरूपले भण्डारण गर्ने अभूतपूर्व परियोजनाको केन्द्रविन्दु बन्दै गएको छ ।

रासायनिक क्षेत्रका अग्रणी कम्पनी आईएनईओएसले यस क्षेत्रका एक हजार ८०० मिटर (पाँच हजार ९०० फिट) गहिराइमा रहेका कम भएका तेल भण्डारहरूमा तरलीकृत सीओ२ इन्जेक्ट गरी तेल उत्खननको प्रक्रिया लगभग उल्ट्याउने योजना अघि बढाएको छ । एसोसिएटेड प्रेस (एपी) ले ग्रीनस्याण्ड फ्युचर नाम दिइएको यस कार्बन क्याप्चर र स्टोरेज (सीसीएस) परियोजनाको अन्तिम तयारी चरण अवलोकन गर्न मानवरहित निनी क्षेत्र नजिक रहेको सिरी प्लेटफर्मको दुर्लभ भ्रमण गरेको छ ।

आगामी वर्षदेखि व्यावसायिक सञ्चालनमा आउने अपेक्षा गरिएको ग्रीनस्यान्ड युरोपेली संघ (ईयू) को पहिलो पूर्ण–सञ्चालित अपतटीय सीओ२ भण्डारण क्षेत्र बन्नेछ ।

जलवायु विज्ञ र वातावरणसम्बन्धी समूहहरूले कार्बन क्याप्चर तथा भण्डारण (सीसीएस) प्रविधिलाई जलवायु परिवर्तन विरुद्धको संघर्षमा उपयोगी औजारका रूपमा स्वीकार गरेका छन् । तर उनीहरू उद्योगहरूले यसलाई उत्सर्जन कटौतीदेखि बच्नका लागि बहानाका रूपमा प्रयोग नगर्न चेतावनी पनि दिन्छन् ।

आईएनईओएस एनर्जी युरोपका कार्यकारी प्रमुख म्याड्स गेडका अनुसार परियोजनाले प्रारम्भमा प्रति वर्ष चार लाख टन सीओ२ भण्डारण गर्नेछ । यसको क्षमता सन् २०३० सम्ममा ८० लाख टनसम्म विस्तार गरिने लक्ष्य छ । ‘डेनमार्कसँग आफ्नै उत्सर्जन दर्जनौं वर्षसम्म भण्डारण गर्न पर्याप्त क्षमता छ,’ गेडले भने, ‘हामी युरोपभरिका उद्योगहरूलाई सीओ२ भण्डारणमा सहयोग पुर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं ।’

ग्रीनस्याण्डले डेनमार्कका बायोग्याँस उत्पादकहरूसँग सम्झौता गरी तिनीहरूको कब्जा गरिएको कार्बन उत्सर्जनलाई निनी क्षेत्रका जलाशयहरूमा गाड्ने तयारी गरिरहेको छ । डेनमार्कको एस्बेर्ग बन्दरगाहमा तरलीकृत कार्बन अस्थायी रूपमा राख्ने ‘सीओ२ टर्मिनल’ निर्माण भइरहेको छ । नेदरल्याण्ड्समा यसै उद्देश्यका लागि ‘कार्बन डिस्ट्रोयर १’ नामक विशेष जहाज निर्माणाधीन छ ।

डेनमार्क र ग्रीनल्याण्डको भूगर्भीय सर्वेक्षण (जीईयूएस) का विज्ञ निल्स स्कोभ्स्बोका अनुसार ग्रिनस्याण्ड क्षेत्रका बलौटे चट्टान संरचनाहरू सीओ२ भण्डारणका लागि अत्यन्त उपयुक्त छन् । चट्टानको लगभग एक–तिहाइ भाग सूक्ष्म गुफाहरूले भरिएको छ ।

‘जलाशय र इन्जेक्ट गरिएको सीओ२ बीच कुनै हानिकारक प्रतिक्रिया हुँदैन भन्ने हामीले पत्ता लगायौं,’ स्कोभ्स्बो भन्छन्, ‘माथिल्लो भागमा रहेको सतह– सिल चट्टानले उत्पन्न हुने अतिरिक्त दबाब नियन्त्रण गर्न पर्याप्त क्षमता राख्छ । यी दुवै कारणले यो क्षेत्र सीओ२ भण्डारणका लागि उत्कृष्ट स्थान बनेको हो ।’

यद्यपि सीसीएस प्रविधि विश्वभर विस्तार भइरहे पनि यसको क्षमता विश्वव्यापी उत्सर्जनका तुलनामा अझै थोरै छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्ष विश्वभर करिब ३८ अर्ब टन सीओ२ उत्सर्जन भएको थियो । ग्रिनस्यान्डको सन् २०३० को लक्ष्य—प्रति वर्ष ८० लाख टन—समग्र उत्सर्जनको अत्यन्त सानो अंश मात्र हो ।

ग्रीनपीस डेनमार्ककी जलवायु नीतिकी प्रमुख हेलेन हेगल भन्छन्, ‘सीसीएस त्यस्ता क्षेत्रमा उपयोगी हुन सक्छ जहाँ उत्सर्जन घटाउन साँच्चिकै गाह्रो छ । तर सबै क्षेत्रले कटौतीको सट्टा समातेर राख्ने उपाय खोज्न थाले भने त्यो दीर्घकालीन रूपमा समस्यामा परिणत हुन्छ ।’

आइएनइओएसले सीसीएस प्रवर्धनका साथै उत्तरी सागरको अर्को पुरानो तेल क्षेत्र विकास गर्ने तयारी पनि गरिरहेको छ । यसबारे उठेका आलोचना–प्रश्नका बीच कार्यकारी प्रमुख गेडले कम्पनीको रणनीति स्पष्ट पार्दै भने, ‘हामी युरोपलाई ऊर्जा आयातमा निर्भर गराउनेभन्दा केही समयका लागि घरेलु वा क्षेत्रीय स्रोत विकास गर्नु निर्णयात्मक हुन्छ । यसले संक्रमण अवधि प्रबन्ध गर्न मद्दत गर्छ ।’

उत्तरी सागरमुनि सीओ२ भण्डारण गर्ने यो महत्वाकांक्षी परियोजना सफल भएमा युरोपमा कार्बन व्यवस्थापनमा ऐतिहासिक मोड आउने बताइन्छ । डेनमार्कले सन् २०५० सम्म ‘शुद्ध शून्य उत्सर्जन’ लक्ष्यमा पुग्ने ईयु रोडम्यापलाई साथ दिने महत्वपूर्ण कदमका रूपमा यसलाई हेर्न थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्