नेभिगेशन
विश्व

शुक्रकीटको विकासक्रमसम्बन्धी उत्पत्तिको खोजी

लण्डन – सबै जीवित जनावरहरूको एउटै एककोषीय पुर्खामा शुक्रकीट थियो कि थिएन वा त्यसमा पनि विकासवादी उत्पत्ति खोज्न सकिन्छ कि भन्नेबारे वैज्ञानिकहरू पत्ता लगाउन खोजिरहेका छन् ।

लगभग सबै जनावरहरूले आफ्नो जीवनचक्रको एक एकल– कोषीय चरणमा दुई प्रकारका यौन कोषिका वा युग्मक (गेमेटिज) समावेश गरेर प्रजनन गर्छन् । डिम्बहरू ठूला कोषहरू हुन् जसमा आनुवंशिक सामग्री र प्रारम्भिक विकासका लागि स्रोतहरू हुन्छन्, जबकि शुक्रकीटहरूले आनुवंशिक सामग्रीलाई एउटा शरीरबाट बाहिर ढुवानी गर्छन्, डिम्ब पत्ता लगाउँछन् र त्यससँग मिलेर एउटा निषेचित युग्मनज (फर्टिलाइज्ड जागोट) सिर्जना गर्छन् ।

यस अध्ययनमा संलग्न क्याम्ब्रिज विश्वविद्यालयका आर्थर म्याट भन्छन्, ‘शुक्रकीटले यस्तो प्रणाली बोक्छ जसले जीवनलाई एक पुस्ताबाट अर्को पुस्तामा जान दिन्छ । यसमा ७० करोड वर्षभन्दा बढीको विकासक्रमका निशानहरू बाँकी छन् र यो जनावरहरूको उत्पत्तिको साथ जोडिएको हुनसक्छ । शुक्रकीट कहाँबाट आयो भनेर बुझ्न हामी त्यो लामो विकासवादी कथालाई फर्केर हेर्न चाहन्थ्यौं ।’

म्याट र उनका सहकर्मीहरूले मानिससहित ३२ जनावर प्रजातिहरूमा शुक्रकीट बनाउने प्रोटीनहरूको जानकारी समावेश भएको खुला विज्ञान डेटासेट प्रयोग गरे । त्यसपछि उनीहरूले त्यो डेटालाई जनावरसँग सम्बन्धित केही एकल–कोषीय समूहहरूसहित ६२ जीवहरूको जीनोमसँग जोडेर जनावरका वंशावली (लिनेज) हरूमा शुक्रकीटको विविधीकरणलाई पत्ता लगाए ।

उनीहरूले के पत्ता लगाए भने करिब तीन सय जीन परिवारहरू मिलेर बनेको एउटा ‘शुक्रकीट टूलकिट’ नै अन्तिम विश्वव्यापी साझा शुक्रकीटको मुख्य जीनोम थियो ।

म्याट भन्छन्, ‘हामीले के देख्यौं भने धेरैजसो शुक्रकीट प्रणालीहरूमा बहु–कोषीय जनावरहरू अस्तित्वमा आउनुभन्दा पहिले नै ठूला परिवर्तनहरू भएका थिए, शुक्रकीट आफैं बन्नुभन्दा धेरै पहिले ।’

यसले शुक्रकीटको प्रणाली, जुन एउटा एकल कोषलाई धकेल्ने एउटा पुच्छर हो भन्ने इंगित गर्ने उनको भनाइ छ । बहु–कोषीय जनावर जीवनको उदय हुनुभन्दा पहिले नै यो विकसित भइसकेको थियो । यसको अर्थ हाम्रो टाढाका पुर्खाहरू कुनै समय समुद्रमा घुमिरहने सबै एकल कोषहरू थिए र जनावरहरू अस्तित्वमा आउनुभन्दा धेरै पहिले नै पौडी खेल्ने एक– कोषीय पुर्खामा शुक्रकीट टूलकिटले पहिलो आकार लिएको थियो ।

म्याट भन्छन्, ‘जब जनावरहरूले बहु–कोषीयता र कोष विशेषज्ञता विकास गरे, उनीहरूले शुक्रकीटलाई पूरै सुरुबाट आविष्कार गरेनन्; उनीहरूले प्रजननका लागि आधारको रूपमा ती पौडी खेल्ने पुर्खाहरूको शारीरिक योजनालाई पुनः प्रयोग गरे । अर्को शब्दमा, शुक्रकीट बहु–कोषीय जीवनको कुनै नयाँ आविष्कार होइन; यो प्रजननका लागि प्रयोग गरिएको एक–कोषीय शारीरिक योजनामा आधारित छ ।’

यस अध्ययनले आधुनिक शुक्रकीटको विशाल विविधता निम्त्याउने परिवर्तनहरूले प्रायः कोषको टाउकोलाई परिवर्तन गरे, जबकि साझा पुर्खादेखि पुच्छर थोरै मात्र परिवर्तन भएको देखाएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयकै टोली सदस्य एड्रिया लेबौफ भन्छिन्, निषेचनका धेरै फरक तरिकाहरू छन्, जसमा केही शुक्रकीटहरू शरीरभित्रै डिम्बसँग मिल्छन् भने अरू खुला समुद्रमा पौडी खेल्छन् । उनी भन्छिन्, ‘यी विभिन्न वातावरणमा डिम्ब पत्ता लगाउन फरक हुनेछ र यसका लागि फरक प्रणाली चाहिन्छ । तर तपाईं जहाँ भए पनि, तपाईंलाई अझै पनि पौडी खेल्न आवश्यक पर्छ, त्यसैले पुच्छर एकदमै संरक्षित छ ।’

मेलबर्न, अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयकी जेनी ग्रेभ्स न्यू साइन्टिस्टसँग भन्छिन्, ‘यो एउटा राम्रो उदाहरण हो कि विकासक्रमले नयाँ प्रणालीहरू सुरुदेखि आविष्कार गर्नुको सट्टा पहिले नै भएको कुरालाई कसरी नयाँ रूप दिने काम गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्