नेभिगेशन
विश्व

चार लाख वर्षअघि आगो बालिएको प्रमाण फेला

लण्डन — बेलायतका वैज्ञानिकहरूका अनुसार प्राचीन मानवहरूले आगो बाल्न सिकेको समय पहिले सोचेभन्दा निकै अघि हुन सक्ने देखिएको छ । अहिलेको पूर्वी इंग्ल्याण्डमा करिब चार लाख वर्षअघि जानाजानी आगो बालिएको प्रमाण फेला पारिएको वैज्ञानिकहरूले जनाएका छन् ।

जर्नल ‘नेचर’ मा प्रकाशित यो खोजले नियन्त्रित आगो बनाउने सबैभन्दा पुरानो ज्ञात मितिलाई करिब ३ लाख ५० हजार वर्ष पछाडि धकेलेको बताइएको छ । अहिलेसम्म सबैभन्दा पुरानो पुष्टि भएको प्रमाण उत्तरी फ्रान्सका निएण्डरथल स्थलहरूबाट प्राप्त भएको थियो । सो घटना करिब ५० हजार वर्ष पुरानो मानिएको थियो ।

यो खोज बेलायतको सफोक, बार्नह्याम नामक प्यालेओलिथिक स्थलमा भएको हो । यहाँ दशकौंदेखि उत्खनन हुँदै आएको छ । ब्रिटिस म्युजियमको नेतृत्वमा रहेको टोलीले पोलिएका माटोका टुक्रा, तीव्र तापले फुटेका हाते कोदालो र फलामको पाइराइट (आगो झिक्न प्रयोग हुने खनिज)का दुई टुक्रा फेला पारिएको छ ।

यस्तो त प्राकृतिक डढेलोले पनि बनाएको हुन्छ नि भन्ने प्रश्नमा अनुसन्धानकर्ताहरूले चार वर्षसम्म यसको विश्लेषण गरेका थिए । भू– रासायनिक परीक्षणले तापक्रम ७०० डिग्री सेल्सियसभन्दा माथि पुगेको र एउटै ठाउँमा बारम्बार आगो बलेको प्रमाण देखाएको छ ।

यो ढाँचा बिजुली चट्याङभन्दा बनाइएको चुलो (हर्थ)सँग मिल्दोजुल्दो रहेको अनुसन्धाताहरूले बताएका छन् ।

ब्रिटिस म्युजियमका प्यालेओलिथिक पुरातत्त्वविद् रोब डेभिसले भने, ‘उच्च तापक्रम, नियन्त्रित आगो र पाइराइटका टुक्राहरूको संयोजनले उनीहरूले कसरी आगो बालिरहेका थिए र उनीहरूले नै आगो बनाइरहेका थिए भन्ने देखाउँछ ।’

बार्नह्याममा फलामको पाइराइट प्राकृतिकरूपमा पाइँदैन । यसको उपस्थितिले त्यहाँ बसेका मानिसहरूले यसको गुण बुझेका र झिल्को निकालेर आगो सल्काउन प्रयोग गर्न सक्थे भन्ने देखाउँछ ।

जानाजानी आगो बनाएको प्रमाण पुरातात्त्विक अभिलेखमा विरलै सुरक्षित रहन्छ । खरानी उड्छ, कोइला कुहिन्छ र तापले परिवर्तन भएको माटो क्षय हुन्छ ।

तर बार्नह्याममा जलेको अवशेष प्राचीन तालको भुइँभित्र कैद भएकाले वैज्ञानिकहरूले प्रारम्भिक मानिसहरूले त्यो ठाउँ कसरी प्रयोग गर्थे भनेर पुनर्निर्माण गर्न सफल भएका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार मानव विकासमा यसको ठूलो प्रभाव छ ।

आगोले चिसो वातावरणमा बाँच्न, जनावर धपाउन र खाना पकाउन सम्भव बनायो । पकाउँदा जरामा भएको विष कम हुन्छ, मासुका रोगाणु मर्छन्, पाचन सजिलो हुन्छ र ठूलो मस्तिष्कलाई चाहिने ऊर्जा बढी निस्कन्छ ।

नेचुरल हिस्ट्री म्युजियमका मानव विकास विशेषज्ञ क्रिस स्ट्रिंगरले भने, ‘बेलायत र स्पेनका जीवाश्मले बार्नह्यामका बासिन्दा प्रारम्भिक निएण्डरथल थिए र उनीहरूको खोपडीको बनावट तथा डीएनएले बौद्धिक तथा प्राविधिक उन्नति भइरहेको देखाउँछ ।’

आगोले सामाजिक जीवनका नयाँ रूपहरू पनि ल्यायो । चुलोवरिपरि बेलुकाको भेलाले योजना बनाउने, कथा सुनाउने र समूहको सम्बन्ध बलियो बनाउने समय दियो । यी व्यवहारहरूले भाषाको विकास र बढी संगठित समाज बनाउन भूमिका खेल्यो ।

पुरातत्त्वविद्हरूका अनुसार बार्नह्यामको खोज ५ लाखदेखि ४ लाख वर्षअघिको बेलायत र महादेशीय युरोपको व्यापक ढाँचासँग मिल्छ । त्यो बेला प्रारम्भिक मानवको मस्तिष्क आकार आधुनिक स्तरतिर बढ्दै थियो र जटिल व्यवहारका प्रमाणहरू स्पष्ट हुँदै थिए ।

ब्रिटिस म्युजियमका प्यालेओलिथिक संग्रहका क्युरेटर निक एस्टनले यसलाई ‘आफ्नो ४० वर्ष लामो करियरको सबैभन्दा रोमाञ्चक खोज’ भनेका छन् ।

मानवहरूले कहिले बिजुली चट् याङ र प्राकृतिक डढेलोमा भर पर्न छोडेर जहाँ र जुनबेला चाह्यो त्यहीं आगो बाल्न सिके ? पुरातत्त्वविद्हरूका लागि यो खोजले लामो समयदेखिको त्यही प्रश्नको जवाफ दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्