नेभिगेशन
अर्थतन्त्र

परिसूचक घट्दा पनि बढ्यो कारोबार

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम बढ्नु, अधिकांश उपसमूह ओरालो लाग्नु र नयाँ सूचीकृत कम्पनीमा पोजेटिभ सर्किट लाग्नुले बजारमा करेक्सनसँगै सक्रियता कायमै रहेको संकेत

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १०.६६ अंकले घट्दै २६१५.०३ विन्दुमा रहँदा कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ ।

१ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँमा किनबेच भएको छ । बुधबार ५.७० को सामान्य अंकले बढेर नेप्से २,६२५.६९ विन्दुमा रहँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच भएको थियो ।

बिहीबार होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेक १० उपसमूह घट्दा परिसूचक प्रभावित भएको हो । घटेकामध्ये फाइनान्समा १.५३ र अन्य उपसमूहमा १.१९ प्रतिशतको गिरावट छ । १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६३ को बढेको छ । दुई बीमा कम्पनीहरू हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य स्थिर रह्यो ।

शेयर मूल्यमा गिरावट आएका कम्पनीमध्ये बाराही हाइड्रोपावरको ४.७६ प्रतिशतले घटेको छ । बढेका मध्ये दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाइ प्यानल नेपालको शेयरमा सर्किट लागेको हो ।

स्वस्तिक लघुवित्त आइपीओ ल्याएर नेप्सेमा सूचीकृत हुँदै गत कात्तिक २४ देखि दोस्रो बजार कारोबारमा आएको हो । प्रति कित्ता ३९१ रुपैयाँ ७० पैसाबाट सुरु भएको दोस्रो बजार कारोबारमा स्वस्तिकको शेयर बिहीबार ३ हजार ९७ रुपैयाँ १० पैसा पुगिसकेको छ । यस्तै गत मंसिर ९ देखि दोस्रो बजारमा आएको एसवाइ प्यानलको शेयर सूल्य प्रति कित्ता ६ सय २२ रुपैयाँ ६० पैसा सुगेको छ । उक्त कम्पनीको सुरुवाती मूल्य प्रति कित्ता ३१९ रुपैयाँ ८० पैसा थियो ।

यस्तै बिहीबार सिन्धु विकास बैंकको शेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ भने सीवाइसी नेपाल लघुवित्तको ४.८७ प्रतिशतले बढेको छ ।

शेयर मूल्य घटेका कम्पनीको सूचीमा पहिलो नम्बरमा रहेको बाराही हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पनि पहिलो छ र उक्त कम्पनीको शेयर २४ करोड ७२ लाख रुपैयाँको किनबेच भएको छ । अन्तिम मूल्य प्रति कित्ता ५३४ रुपैयाँ रह्यो । यस्तै राधी विद्युतको १८ करोड ३५ लाख, बुटवल पावरको १६ करोड १० लाख, ङादी ग्रुप अफ पावरको १० करोड ८८ लाख र सप्तकोशी विकास बैंकको १० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्नुले बजारमा अल्पकालीन सतर्कता बढेको संकेत देखिएको छ । अघिल्लो दिन सामान्य सुधार देखिए पनि त्यसलाई निरन्तरता दिन नसक्दा लगानीकर्ताको मनोविज्ञान अझै अनिश्चित अवस्थामै रहेको प्रष्ट हुन्छ । परिसूचक १०.६६ अंकले घटे पनि कारोबार रकम भने बढ्नुले बजारमा सक्रियता भने कायम रहेको देखाउँछ, जसलाई पूर्ण रूपमा नकारात्मक संकेतका रूपमा लिन सकिँदैन ।

विशेष गरी होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूह बाहेकका अधिकांश उपसमूह घट्नुले बजार गिरावट व्यापक रहेको संकेत गर्दछ । फाइनान्स र अन्य उपसमूहमा देखिएको उल्लेख्य गिरावटले जोखिमप्रति संवेदनशील लगानीकर्ता नाफा सुरक्षित गर्ने रणनीतिमा गएको अनुमान गर्न सकिन्छ । १९४ कम्पनीको शेयर मूल्य घट्नु र ६३ कम्पनी मात्र बढ्नुले बजारमा बिक्री दबाब स्पष्ट देखिएको छ ।

यद्यपि, समग्र बजार घट्दा पनि नयाँ सूचीकृत कम्पनीहरूमा आकर्षण कायमै देखिन्छ । स्वस्तिक लघुवित्त र एसवाइ प्यानल नेपालको शेयरमा पोजेटिभ सर्किट लाग्नुले आइपीओबाट दोस्रो बजारमा आएका कम्पनीप्रति लगानीकर्ताको उत्साह अझै उच्च रहेको पुष्टि गर्छ । यसले प्राथमिक बजार र दोस्रो बजारबीचको मनोवैज्ञानिक अन्तरलाई पनि देखाएको छ ।

हाइड्रोपावर कम्पनीहरूमा उच्च कारोबार देखिनु दीर्घकालीन लगानीकर्ताको चासो यस क्षेत्रतर्फ केन्द्रित रहेको संकेत हो । बाराही हाइड्रोपावर एकातर्फ सर्वाधिक कारोबार हुने कम्पनी बन्नु र अर्कोतर्फ सर्वाधिक गिरावट बेहोर्नुले छोटो अवधिका लगानीकर्ताबीच तीव्र उतार–चढाव रहेको देखाउँछ । समग्रमा, बजार हाल करेक्सनको चरणमा देखिए पनि कारोबारको आकार कायम रहनुले आगामी दिनमा उतारचढाव भइरहने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्