नेभिगेशन
प्रदेश

इँटा भट्टामा २८ हजार बालश्रमिक, रोक्ने निकाय छैन

बालबालिका श्रम गर्न आउनुको मुख्य कारण गरिबी नै हो, समस्या निदानका लागि स्थानीय सरकारसँग प्रभावकारी योजना छैनन्

भक्तपुर – दाङको घोराहीका १४ वर्षे सागर घर्ती बिहान ५ बजे काममा तल्लीन हुन्छन् । चाँगुनारायण– ९ ताथलीस्थित इँटाभट्टामा उनी माटोलाई साँचोमा राखेर इँटा बनाउँछन् । उनको लक्ष्य छ, प्रहरी बन्ने । तर पढाइलेखाइ गर्ने समयमा उनी बुवालाई साथ दिन काठमाडौं आएका छन् ।

आर्थिक अवस्था कमजोर भएपछि बुवाको साथ लागेर पैसा कमाउन आएको उनी सुनाउँछन् । कमाएको पैसा घरमा रहेकी आमाको उपचार र बहिनीको पढाइमा खर्च हुन्छ । ५ कक्षासम्म पढेका सागरलाई अझै पढ्ने इच्छा छ । गत वर्ष पढाइलाई निरन्तरता दिन बुवा, आमा, बहिनीसँगै घर गएका थिए । तर यस वर्ष भने फर्कने टुंगो छैन । सर्लाही रानीघाटबाट आमाबाबुसँगै भक्तपुरको इँटाभट्टामा आइपुगेकी ११ वर्षीया रामप्यारी विकको कथा पनि सागरको जस्तै छ । तीन सन्तानमध्येकी जेठी उनी १० वर्ष हुँदा पोहोर पनि यही इँटा भट्टामा ६ महिना आमाबाबुसँगै बसेर फर्किएकी थिइन् । उनको दैनिकी भाइबहिनीको रेखदेख गर्ने र अपराह्नपछि बिहान बनाएको इँटा पल्टाउने र सुकाउँदै बित्ने गरेको छ । काम गरेबापत उनले छुट्टै पारिश्रमिक पाउँदिनन् । उनले गरेको कामको पारिश्रमिक पनि बाबुले लिएको ठेक्कामै परेको छ ।

त्यसैगरी आमाबुवासँग रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको कथा पनि उस्तै छ । पढ्ने इच्छा हुँदा हुँदै पनि इँटाभट्टाको धूलोसँगै समय बिताउनुपरेको छ । चाँगुनारायण–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा उनको पढ्ने चाहनाले पूर्णता पाएन । बुवाआमासँगै इँटाभट्टामा आइपुगेकी उनले मंसिरदेखि वैशाखसम्म भट्टामै बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छन् । जुनकिरी भन्छिन्, ‘पढ्ने चाहना त छ तर आमाबाबुको कमाइले ऋण तिर्नै पुग्दैन ।’ नाइकेको लहलहैमा तीन वर्ष अगाडि इँटाभट्टा प्रवेश गरेका १४ वर्षीय मनबहादुर खड्का अब पढेर के हुन्छ र भन्ने अवस्थामा पुगेका छन् । भकुण्डेबेँसीमा रहेको परिवार छाडेर पैसा कमाउने रहरमा हिँडेका उनले ६ महिना इँटाभट्टामा र ६ महिना बसको खलासीको काम गर्दै आएका छन् । ‘खान पाइएकै छ, दुई–चार सय भए पनि पैसा खेलाउन पाएको छु। कहिले इँटाभट्टा त कहिले खलासी गर्छु,’ उनी भन्छन्, ‘मेरो सपना ड्राइभर बन्ने छ ।’

इँटा बोक्दै गरेकी १७ वर्षीया टुल्की विकलाई सबैभन्दा ठूलो चिन्ता एक वर्षकी छोरीको छ । श्रीमान्‌सँगै इँटाभट्टामा काम गर्दै आएकी उनलाई ठेक्का लिएको इँटा सबै सिध्याउन पाए रकम लिएर गाउँ फर्कने सोच छ । यी र यस्ता कथा देशभर नै छरिएर रहेका छन् ।

एक अध्ययनअनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टा मात्रै पाँच सयभन्दा बढी बालबालिका छन् । त्यसो त भक्तपुरका चार वटा इँटाभट्टालाई बालश्रममुक्त घोषणा गरिएको पाँच वर्ष भयो । तर कुनैमा पनि अनुगमन भएको छैन । अहिले तिनै इँटाभट्टामा बालश्रमिक छन् ।

इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाइ ह्याम्बाले इँटाभट्टालाई बालश्रम मुक्त बनाउन खोजे पनि अभिभावकसँगै आउने बालबालिकालाई रोक्न नसकिएको बताए । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट मजदुरसँगै आउने बालबालिकालाई आफूहरूले काम नलगाए पनि अभिभावकले काम लगाउने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्