नेभिगेशन
विश्व

‘बंगलादेशका राजकुमार’को स्वदेश फिर्तीले ल्याएको हलचल

ढाका – बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षे विदेश पलायनपछि डिसेम्बर २५ मा पुनः बंगलादेश फर्किने भएका छन् ।

गत डिसेम्बर १६ मा लण्डनमा आयोजित बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) को एउटा कार्यक्रममा उनले सन् २०२६ मा हुने राष्ट्रिय निर्वाचनलाई ध्यानमा राख्दै स्वदेश फर्किन लागेको घोषणा गरेका थिए । तारिक रहमान बीएनपीका कार्यकारी अध्यक्ष पनि हुन् । फेब्रुअरीमा बंगलादेशमा निर्वाचन हुने तयारीको पूर्वसन्ध्यामा उनको स्वदेश फिर्ती हुँदैछ । देश राजनीतिक अस्थिरता र हिंसाबाट गुज्रिरहेको छ भने अन्तरिम सरकारको भूमिकाप्रति देशभरि संशय गर्न थालिएको छ ।

ठीक यही बेला तारिक रहमानकी आमा, ८० वर्षीया खालिदा जिया बिरामी छिन् र ढाकास्थित एक अस्पतालमा भर्ना छिन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

बंगलादेशी राजनीतिका ‘क्राउन प्रिन्स’ (राजकुमार) भनेर चिनिने तारिक रहमान, पूर्वराष्ट्रपति जिया–उर–रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका तीन सन्तानमध्ये जेठा हुन् । यति ठूलो राजनीतिक परिवारबाट आएका कारण उनी निकै पहिल्यै बीएनपीका प्रमुख अनुहार बनेका थिए ।

को हुन्, तारिक रहमान ?

२० नोभेम्बर १९६५ मा जन्मिएका तारिक रहमान, कार्यकारी अध्यक्ष बन्नुअघि पार्टीमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ संयुक्त महासचिवजस्ता महत्वपूर्ण पदमा थिए । सन्‌ १९७१ मा बंगलादेशको मुक्ति संघर्षका बेला तारिक रहमान, उनकी आमा खालिदा जिया र उनका भाइलाई नजरबन्द गरिएको थियो । पछि खालिदा र तारिकलाई जेल हालिएको थियो । तारिक रहमान बंगलादेशको मुक्ति संघर्षका सबैभन्दा कान्छा बन्दी थिए ।

उनले ढाकाको बीएएफ शाहिन कलेजबाट प्रारम्भिक शिक्षा लिए । त्यसपछि १९८० को दशकमा ढाका विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अध्ययन गरे । समयसँगै उनले आमासँगै राजनीतिक गतिविधिमा सक्रिय भए । तत्कालीन सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिए र सन्‌ १९८८ मा बीएनपीको सदस्य बने ।

त्यही बेला उनले आमजनता र कार्यकर्तासँग हेलमेल बढ्यो भने आफ्ना समर्थकलाई एकजुट बनाउने काम गरे । यो सक्रियताका कारण एच.एम. इर्शादको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेले । सन् १९९१ मा खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेका बेला, देशव्यापी चुनाव प्रचारको जिम्मेवारी तारिक रहमानले नै सम्हालेका थिए । सन् १९९३ मा उनले डा जुबैदा रहमानसँग विवाह गरे, जो बंगलादेशी नौसेनाका पूर्व चीफ अफ स्टाफ महबूब अली खानकी छोरी हुन् । पछिल्ला १७ वर्षदेखि उनी लन्डनमा निर्वासित जीवन बिताइरहेका थिए ।

आरोप र मुद्दाहरू

अगष्ट २००४ मा ढाकामा आवामी लिगको एउटा सभामा ग्रेनेड आक्रमण हुँदा २४ जनाको मृत्यु भयो भने १०० भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भए । उक्त आक्रमणमा शेख हसिना भाग्यले बाँचिन् । यस घटनामा तारिक रहमानको नाम पनि जोडियो । त्यसबेला खालिदा जिया प्रधानमन्त्री थिइन् । बीएनपीले भने यसलाई बदला राजनीतिबाट प्रेरित आरोप भनेको थियो ।

सन् २००७ मा सेनाको समर्थनमा चलेको अन्तरिम सरकारको कार्यकालमा भ्रष्टाचारविरुद्धको अभियानका क्रममा तारिक रहमान पक्राउ परे । हिरासतमा रहँदा उनलाई यातना दिइएको पार्टीको धारणा थियो । हिरासतमा उनी बिरामी परेपछि सन् २००८ मा धरौटीमा रिहा गरियो र उपचारका लागि लण्डन जान अनुमति दिइयो । त्यसयता उनी लण्डनमै बसेर बीएनपीको राजनीतिमा केन्द्रीय भूमिका खेल्दै आएका थिए ।

कति छन् आपराधिक मुद्दा ?

अक्टोबर २०१८ मा सन् २००४ को ग्रेनेड आक्रमणसम्बन्धी मुद्दामा तारिक रहमानसहित १८ जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । २४ मे २०२३ मा ढाका ट्रिब्युन पत्रिकाले सन् २००१ देखि २००६ को बीएनपी सरकारमा भएका घुसखोरी र आर्थिक अनियमिततासम्बन्धी आरोपका तीन भागको अनुसन्धानात्मक शृंखला प्रकाशित गर्‍यो । यसमा तारिक रहमानलाई ‘डार्क प्रिन्स’ भनेर उल्लेख गरिएको थियो ।

रिपोर्टमा उनीमाथि भ्रष्टाचार र सञ्चारमाध्यमलाई डर–धम्की दिएको आरोप लगाइएको थियो । अमेरिकी दूतावासका केबलहरूको हवाला दिँदै अवैधरूपमा सयौं करोड डलरको सम्पत्ति आर्जन गरेको दाबी पनि गरिएको थियो । अवैध सम्पत्ति आर्जनको मुद्दामा सन् २०२३ मा उनलाई नौ वर्षको जेल सजायसमेत सुनाइएको थियो ।

फर्स्टपोस्टको एक रिपोर्टअनुसार, अगष्ट २०२४ मा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाको सरकार ढलेपछि तारिक रहमानको अवस्था बदलियो । त्यसपछि उनीमाथि बाँकी रहेका ८४ वटै मुद्दाबाट सफाइ दिइयो । ग्रेनेड आक्रमण, मनी लण्ड्रिङ र देशद्रोहजस्ता आरोपमा पनि उनी मुक्त भए ।

पुनरागमन किन महत्वपूर्ण?

बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचन हुँदैछ । यही अवसरमा बीएनपीले गुमाएको राजनीतिक आधार पुनः प्राप्त गर्न तारिक रहमान तीव्र प्रयासमा लागिपरेका छन् । पार्टीका नेता तथा कार्यकर्तामाथि जबर्जस्ती असुलीलगायतका विभिन्न आपराधिक मुद्दाहरू चलिरहेका छन् । यस्तो अवस्थामा तारिक रहमानको स्वदेश फिर्तीले बीएनपीका कार्यकर्ताहरूमा नयाँ ऊर्जा भरिने र मतदातामाझ सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

अटलान्टिक काउन्सिलका दक्षिण एसिया फेलो माइकल कुगलम्यानले ‘फरेन पोलिसी’का लागि लेखेको लेखमा, गत वर्ष शेख हसिनालाई सत्ताबाट हटाउने आन्दोलनले तारिक रहमानको फिर्तीको बाटो खोलेको उल्लेख गरेका छन् । बंगलादेश फर्किएपछि तारिक रहमानका लागि अवस्था सजिलो भने हुने छैन । पार्टी नेतृत्व र समर्थकले उत्साहका साथ स्वागत गरे पनि, झण्डै दुई दशक देशबाहिर बसेपछि उनले आफू नेतृत्वका लागि तयार रहेको विश्वास कार्यकर्ता र नेताहरूलाई दिलाउनुपर्नेछ । किनकि उनी लण्डनमा आरामदायी जीवन बिताइरहँदा पार्टीका अन्य नेताले शेख हसिनाको दमनको सबैभन्दा ठूलो मार खेपेका थिए ।

कुगलम्यान लेख्छन्, ‘निर्वाचनमा बीएनपीलाई बलियो दावेदार मानिए पनि पार्टीले यसलाई हल्का रूपमा लिन मिल्दैन । बीएनपीको पूर्वसहयोगी जमात–ए–इस्लामीको प्रभाव बढ्दै गएको देखिन्छ । खासगरी सेप्टेम्बरमा ढाका विश्वविद्यालयको क्याम्पस चुनावमा उसको विद्यार्थी संगठन विजयी भएपछि यस्तो प्रभाव देखिएको हो । यो चुनावमा जमातको विजयलाई बंगलादेशमा लामो समयदेखि राजनीतिक परिवर्तनको खोजीको संकेतका रूपमा हेरिँदै आएको छ ।

जमात–ए–इस्लामीले आफूलाई भ्रष्टाचारविरोधी र सामाजिक कल्याण केन्द्रित पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ । सुधारको चाहना र आर्थिक दबाबको वर्तमान अवस्थामा उसको सन्देश जनतामा प्रभावकारी बन्दै गएको देखिन्छ । जमात–ए–इस्लामीको उभार र आवामी लिगकी नेता शेख हसिनाको बहिर्गमनपछि कसलाई भोट दिने भन्ने निश्चित नगरका मतदाता बीएनपीतर्फ आकर्षित हुन सक्ने अनुमान गरिएको छ ।

जर्जिया स्टेट युनिभर्सिटीका भू–राजनीतिक विश्लेषक आसिफ बिन अलीले ‘द प्रिन्ट’लाई भनेका छन्, ‘मुख्य प्रश्न फ्लोटिङ मतदाताको हो । ती मतदाता इस्लामवादी दललाई मन पराउँदैनन् । बीएनपीप्रति शंकामा छन् तर उसलाई उदार लोकतान्त्रिक विकल्पका रूपमा हेर्न सक्छन् । बीएनपी सत्तामा आउन चाहे यही फ्लोटिङ मतदाताले सहयोग गर्न सक्छन् । तारिक फर्केनन् भने, बीएनपीले ठूलो मूल्य चुकाउनुपर्छ र त्यो खाली स्थान जमातले भरिदिन सक्छ ।’

आसिफ अलीका अनुसार, आगामी निर्वाचन सम्हाल्न बीएनपीलाई मैदानमै पुग्ने एउटा नेताको आवश्यकता छ । उनले भने, ‘लण्डनबाट घोषणा गर्नु वा लाइभ सम्बोधन गर्नु एउटा कुरा हो तर घर फर्किएर सर्वसाधारण मतदातासँग हात मिलाउनु, सडकमा आमजनतासँग कुरा गर्नु, मस्जिदमा नमाज पढ्नु, हिन्दु मन्दिर जानु, सार्वजनिकरूपमा भाषण दिनु—यी सबैले कुराले सर्वसाधारणमा आशा जगाउँछ । अहिले धेरैका लागि तारिक त्यही आशाको प्रतीक बनेका छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्