नेभिगेशन
विश्व

जापानलाई उछिन्दै भारत बन्यो चौथो ठूलो अर्थतन्त्र

भारतको प्रतिव्यक्ति जीडीपी दुई हजार ६९४ डलर मात्र थियो । यो जापानको ३२ हजार ४८७ डलर र जर्मनीको ५६ हजार १०३ डलरभन्दा निकै कम छ ।

नयाँदिल्ली – भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ ।

अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्यांक सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ । सरकारी आर्थिक तथ्यांकअनुसार ४१ खर्ब ८० अर्ब डलरको कुल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गरेको छ । यही गतिमा अग्रसर भएमा उसले आगामी साढे दुई–तीन वर्षमा जर्मनीलाई तेस्रो स्थानमा सार्ने सम्भावना छ । भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२६ मा आइएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको छ । अगस्टमा वासिङ्टनले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि नयाँदिल्लीले आफ्नो आयको गतिलाई कायम राखेको देखाएको छ । सरकारले यसलाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को संकेतका रूपमा व्याख्या गरेको छ । तर अन्य आर्थिक सूचकहरूले चुनौती पनि देखाएका छन् । जनसंख्याको दृष्टिले, भारत सन् २०२३ मा चीनलाई उछिनेर सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बन्यो । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति जीडीपी दुई हजार ६९४ डलर मात्र थियो । यो जापानको ३२ हजार ४८७ डलर र जर्मनीको ५६ हजार १०३ डलरभन्दा निकै कम छ ।

सरकारी तथ्यांकअनुसार भारतका एक अर्ब ४० करोड जनसंख्यामध्ये करिब एक चौथाइ १०–२६ वर्ष उमेर समूहका छन् । यस युवा जनशक्तिलाई उत्पादनशील बनाउन र समावेशी तथा दिगो विकासका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्ने चुनौती सरकारको अगाडि छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष उपभोग करमा व्यापक कटौती र श्रम कानून सुधारको घोषणा गर्दै आर्थिक वृद्धिलाई समर्थन गर्ने कदम चालेका छन् । तर भारतीय रुपैयाँ डिसेम्बर सुरुमा डलरविरूद्ध करिब पाँच प्रतिशत कमजोर भएको थियो, जसका कारण वासिङ्टनसँग व्यापार सम्झौता अभाव र लेभीसम्बन्धी चिन्ता देखाइएको थियो । आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाचौँ ठूलो अर्थतन्त्र बनेको थियो । सो वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्वपूर्ण प्रगति हासिल गरेको थियो ।

यसैबीच, भारतको औद्योगिक उत्पादन सूचकांक– आईआईपीले नोभेम्बर महिनामा देशको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको जनाएको छ । संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विवरणअनुसार नोभेम्बरको औद्योगिक उत्पादन वृद्धि दर अघिल्लो महिना अक्टोबरको प्रारम्भिक अनुमानित ०.४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो । मन्त्रालयका अनुसार औद्योगिक उत्पादनमा आएको वृद्धिमा उत्पादन क्षेत्रको ८ प्रतिशत वृद्धिले मुख्य योगदान दिएको छ । क्षेत्रगत रूपमा हेर्दा, नोभेम्बर महिनामा खानी क्षेत्र ५.४ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन क्षेत्र ८ प्रतिशतले बढेको छ । यस्तै, विद्युत् उत्पादन क्षेत्र भने १.५ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्