नेभिगेशन
प्रदेश

कजरिया टायल्स उद्योगमा नाइट ड्युटीका दुई मजदुर मृत फेला

व्यवस्थापनको लापरवाही भन्दै विरोधपछि उद्योग बन्द, वार्तापछि शव उठाउन सहमति

बर्दघाट (नवलपरासी) । यहाँको एक उद्योगमा दुई मजदुर बिहीबार बिहान मृत भेटिएका छन् । बर्दघाट–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा रातिको ड्युटीमा रहेका बर्दघाट–१३ धनेवाका २९ वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला, ग्राम पोस्ट ६६ का ३० वर्षीय विनोदकुमार मृत भेटिएका हुन् ।

दुवै जना उद्योगको ब्वाइलर सेक्सनमा राति ड्युटीमा थिए । बिहान उनीहरूको शव खुला ठाउँमा भेटिएपछि उद्योग व्यवस्थापनको लापरवाहीले मजदुरको ज्यान गएको भन्दै कामदारहरू काम छाडेर घेराउमा उत्रिएका थिए । सबै जना काम छाडेर घेरामा उत्रिएपछि कारखानामा वरपरका बासिन्दा पनि पसे र व्यवस्थापनको विरोध जनाएपछि केहीबेर तनावको वातावरण बनेको थियो । घटनास्थलमा आएको प्रहरीलाई उद्योगको लापरबाहीका कारण भएको आरोप लगाउँदै मजदुर र स्थानीयले शव उठाउन दिएनन् ।

स्थिति तनावग्रस्त बन्दै गएपछि पुगेका बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले वार्ताको अगुवाइ गरे । उनको पहलमा उद्योगको बैठक कक्षमा वार्ता भएपछि दिउँसो शव उठाउन दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

वार्तामा उद्योग व्यवस्थापन, मृतकका आफन्त, मजदुर प्रतिनिधि र स्थानीय जनप्रतिनिधि सहभागी थिए । वार्तामा मृतक दुवैको शव तत्काल उठाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाउने, उद्योगले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने, पोस्टमार्टम रिपोर्टका आधारमा आवश्यक थप सहयोग र कानुनी प्रक्रिया अघि बढाउने, मृतकका परिवारलाई उद्योगतर्फबाट दाहसंस्कार तथा प्रारम्भिक राहतमा सहयोग गर्ने सहमति भएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले बताए । 

‘शवमा बाह्य चोटपटक नदेखिएकाले ब्वाइलर नजिक सुत्दा राति अक्सिजनको कमी वा ग्यासको प्रभावले ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान छ, तर यकिन कारण पोष्टमार्टमले नै खुल्छ,’ उनले भने, ‘वार्तामा सहमति भएर शव लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।’ उद्योगले घटना जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरिएको दाबी गरे पनि स्थानीयले भने उद्योगले घटना लुकाउने प्रयास गरेपछि आफूहरूले खबर गरेपछि मात्र प्रहरी आएको बताएका छन् । सुरक्षालाई ध्यानमा राखेर अल्पकालका लागि उद्योग बन्द भएको छ । उद्योग आफ्नै सुरक्षा गार्डको सुरक्षामा रहने वार्ताको सहमति छ । कजरिया रमेश टायल्स उद्योग भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्प समूहको संयुक्त लगानीमा सञ्चालित ठूलो टायल उद्योग हो। उद्योगले सिरेमिक तथा भिट्रिफाइड टायल उत्पादन गर्दै आएको छ र ठूलो संख्यामा श्रमिकलाई रोजगारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्