नेभिगेशन
अर्थतन्त्र

नागढुंगा सुरुङमार्ग अझै चार महिना सञ्चालन नहुने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन अझै चार महिना लाग्ने भएको छ । सुरुङमार्गको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि व्यावसायिक सञ्चालनका लागि निजी सेवा प्रदायक कम्पनी छनोट प्रक्रिया पूरा नभएपछि ढिलाई भएको हो ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार निजी सेवा प्रदायक कम्पनी छनोट प्रक्रिया अझै जारी रहेकाले सुरुङमार्ग तत्काल सञ्चालनमा ल्याउन सम्भव देखिएको छैन । उनका अनुसार निजी कम्पनी छनोटका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र बुझाउने अन्तिम म्याद पुस ३० गतेसम्म तोकिएको छ । सो म्यादभित्र प्राप्त बोलपत्रको मूल्यांकन तथा छनोट प्रक्रिया सम्पन्न गर्न समय लाग्ने भएकाले सुरुङमार्ग सञ्चालन २०८३ सालको वैशाख नजिक मात्र सम्भव हुने देखिएको हो ।

‘पहिलो पटक आह्वान गरिएको बोलपत्रमा आवेदन दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूबाट नै केही बुँदा थप प्रष्ट पार्नुपर्ने माग आयो,’ उपनिर्देशक पन्थीले भने, ‘यही कारण केही बुँदा संशोधन गर्नुपरेकाले बोलपत्रमा भाग लिने समय थप गरेर पुस मसान्तसम्म पुर्‍याइएको हो ।’

आयोजनाले गत कात्तिक १६ गते सुरुङमार्ग निजी सेवा प्रदायकलाई व्यावसायिक रूपमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । सुरुमा पुस २ गतेसम्म म्याद तोकिए पनि निजी कम्पनीहरूको मागअनुसार पहिलो पटक पुस १६ गतेसम्म र दोस्रो पटक संशोधनसहित पुस मसान्तसम्म म्याद थप गरिएको हो । खरिद ऐनको दफा १६(३) अनुसार बोलपत्र कागजातमा देखिएका द्विविधा हटाउन संशोधन गर्न सकिने प्रावधान रहेको पन्थीले बताए ।

हाल सुरुङमार्गको भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ भने पहिरो रोकथामका संरचना निर्माण र धादिङतर्फ टोल प्लाजा निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । यस्तै, धादिङतर्फ टोल प्लाजा निर्माणको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।

यसअघि अंग्रेजी नयाँ वर्षको दिन (पुस १७ गते) देखि सुरुङमार्ग सञ्चालन गर्ने योजना भए पनि निजी सेवा प्रदायक छनोटमा ढिलाइ हुँदा सम्भव हुन सकेन ।

सुरुङमार्ग सञ्चालनका लागि सवारीसाधन शुल्क भने तोकिसकिएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको मन्त्रिपरिषद् बैठकले सडक बोर्ड नेपालले प्रस्ताव गरेको शुल्क संरचना स्वीकृत गरेको थियो । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र ट्रिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ गते जारी गरिएको हो । आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ। धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ, जुन २०८१ वैशाख ३ गते खनाइ सम्पन्न गरिएको थियो । २.५५७ किलोमिटर लामो रेस्क्यु सुरुङ २०८० साउन २२ गते खनाइ सम्पन्न भएको थियो ।

सुरुमा १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङमार्ग आयोजनामा निर्माण अवधिमा ठेकेदारको क्षतिपूर्ति दाबी, स्थानीय अवरोधलगायत कारणले लागत बढेर करिब २१ अर्ब रुपैयाँ पुगेको छ । अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र