नवयुवाको आह्वानमा गत भदौ २३–२४ मा भएको विद्रोहपश्चात् नेपाली राजनीति एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा आइपुग्यो । भदौ २३ अगाडि र पछाडिको राजनीतिक परिदृश्य एउटै होइन भन्ने हाम्रो पार्टीको दृष्टिकोण छ । एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वासनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोट थियो त्यो विद्रोह ।
हामी त्यस आन्दोलनले विघटित गरेको संसद्को पहिलो दल थियौं, अपदस्थ सरकारको हिस्सेदार थियौं, जुन मुद्दा बोकेर विद्रोह भयो ती विषयसँग कतै न कतै हाम्रो संलग्नता छ भन्ने आम जनतालाई लागिरहँदा हामीले समयमै हस्तक्षेप गरेर ती विसंगतिहरूलाई नियन्त्रण गर्न नसकेको यथार्थलाई आत्मसात् गर्नैपर्छ । जेनजी विद्रोहलाई युवाहरूले आम मानिसको अपेक्षासरह देशको आर्थिक विकास, युवाको भूमिका, सुशासन र सरकारको जवाफदेहिताको माग गर्दै आमूल परिवर्तनका लागि भएको विद्रोहका रूपमा बुझ्नुपर्छ । जसको मर्म थियो परिवर्तनः हामीले लिएका नीतिमा परिवर्तन, अपनाइरहेका तौरतरिकामा परिवर्तन, प्रवृत्तिमा परिवर्तन, कतिपय पात्रमा परिवर्तन ।
हामी संसद्मा सबैभन्दा ठूलो दल र हामी सम्मिलित सरकारविरुद्ध भएको आन्दोलन भएका कारण हामीभित्र पनि परिवर्तनको आवश्यकता देखाएकै हो । यही महसुस गरेर पार्टीका तमाम साथीहरूले परिवर्तनका लागि आवाज उठाउनुभयो । पार्टीको तल्लो तहमा परिवर्तनको आवाज मुखरित हुँदै गर्दा केन्द्रमा भने हामीले निर्णय लिनै नसक्ने अवस्थामा पुग्नु विडम्बनाको विषय हो ।
हामीले विगतका परिवर्तनकारी दृष्टिकोणका साथ जेनजी विद्रोहको सन्देश ग्रहण गर्दै यस विशेष महाधिवेशनबाट भविष्यको यात्रा तय गर्नुपर्ने छ । आज पनि नेपाली कांग्रेसले राष्ट्रिय शक्ति भएका हिसाबले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्नेछ । कांग्रेसले नै दिशाहीन हुँदै गएको देशलाई सम्हाल्ने छ र रूपान्तरणकारी नेतृत्व दिनेछ । त्यही दिशामा गम्भीर भएर चिन्तन मनन गर्न यो विशेष महाधिवेशन अपरिहार्य भएको छ ।
परिवर्तन हामीले नै ल्याउँछौं भनेर मात्र हुँदैन, मतदाता पनि त्यसमा विश्वस्त हुनुपर्छ । ती मतदातामा कांग्रेसका क्रियाशील सदस्य मात्र छैनन्, लाखौं जनता पनि छन् । त्यसैले हामीले नै पार्टीको विधान मानेनौं भने हामी संविधान र कानूनको शासनमा विश्वास गर्छौं भनेर जनतालाई कसरी विश्वस्त तुल्याउने ? हामी संवाद र सुधारका लागि तयार छैनौं भने हामी सच्चियौं भनेर कसरी भन्न सक्छौं ?
यस विशेष केन्द्रीय महाधवेशनलाई यही आलोकमा हेर्नुपर्दछ । यो महाधिवेशन हामीमा सार्थक परिवर्तन ल्याउने वैधानिक आधार हो र जनताको विश्वास बढाउने प्रस्थान बिन्दु पनि । त्यसैले, परिस्थितिको वस्तुनिष्ठ मूल्यांकन गर्दै भविष्यको मार्गचित्र तयार गर्ने सर्वोच्च वैधानिक निकाय महाधिवेशन नै भएकाले यसको आयोजना अपरिहार्य भएको हो ।
केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गरे पनि केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन । विधानबमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भनेर उपेक्षा गर्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन । विधानसम्मत माग बेवारिसे हुन नसक्ने हुँदा विशेष महाधिवेशन स्वतः क्रियाशील भएको छ ।
पार्टीको ऐतिहासिक परम्परा
हामीले हमेशा राष्ट्रिय संकटलाई पार्टीको दायराबाट माथि उठेर निर्णय लिएका छौं । आज पनि नेपाली कांग्रेस एउटा जम्मेवार राष्ट्रिय शक्ति भएकाले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन देश काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्ने छ । कांग्रेसलाई न आत्मसमर्पण गर्ने छुट छ न त उत्तेजनाको राजनीति गर्ने नै छुट छ ।
प्रश्नबाट भागेर होइन परिस्थितिको डटेर सामना गर्नुपर्छ । कांग्रेसले नै दिशाविहीन र लडखडाएको देशलाई सम्हाल्छ र रूपान्तरणकारी नेतृत्व दिन्छ भन्ने विश्वासका साथ यो ऐतिहासिक विशेष महाधिवेशनका अवसरमा नेपाली कांग्रेसले प्रथम जननिर्वाचित सरकार नेतृत्व गरिरहेका बेला बीपी कोइरालाले सातौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि व्यक्त गरेको उद्गार यहाँ स्मरण गर्न चाहन्छौं, ‘इतिहासले बारम्बार नेपाली कांग्रेसलाई नयाँ–नयाँ परिस्थितिमा नयाँ–नयाँ अभिभारा बोकाइरहेको छ । हामीलाई विश्राम कहाँ ? इतिहासले हामीलाई फुर्सद कहाँ दिइरहेको छ ! यदि हामीलाई इतिहासको हतियार बन्ने सौभाग्य प्राप्त भएकोमा गर्व छ भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेवारीबाट हामी कसरी मुक्त हुन सक्छौं र ? त्यसो हुनाले साथीहरू हो, हामी नेपाली कांग्रेसका सिपाहीलाई जो आजको परिस्थितिमा इतिहासको सिपाही भएका छौं, कुनै किसिमको विश्रामको सुख प्राप्त छैन ।’
पार्टीले इतिहासको क्रान्तिकारी लक्ष्यलाई पूरा गर्न सक्ने क्षमतालाई हामीले कार्यद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले अर्को हतियार निर्मित गर्छ । त्यसो हुनाले हामी सबैले हाम्रो संस्थालाई इतिहासको हतियार सम्झेर यसलाई सफा र उज्ज्वल राखेर सही अर्थमा एउटा हतियार जस्तै प्रभावयुक्त बनाउनुपर्छ ।
कांग्रेसले बीपीको भनाइलाई चरितार्थ गर्दै इतिहासको क्रान्तिकारी लक्ष्यलाई पूरा गर्न सक्ने क्षमतालाई बीपीको अनुपस्थितिमा समेत २०४६ र ६२ –६३ मा कार्यद्वारा प्रमाणित गरिसकेको छ । जेनजी आन्दोलनपछि नेपाली इतिहासको हतियार नेपाली कांग्रेस पार्टीलाई फेरि एकपटक सफा र उज्वल राख्दै प्रभावकारी हतियार बनाउनुपर्छ । त्यस दिशामा गम्भीर भएर चिन्तन मनन गर्नु यस विशेष राष्ट्रिय महाधिवेशनको दायित्व भएको छ ।
आजको परिदृश्य र कांग्रेस
निश्चय पनि भदौ २३ र २४ को परिस्थिति एकाएक उत्पन्न भएको होइन । आजको परिस्थिति आउनुमा कांग्रेस पार्टी मात्र जिम्मेदार छैन । तर, पछिल्ला दुई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसद्मा नेपाली जनताको अपार माया र स्नेहसहित लगातार वर्चस्वशाली उपस्थिति भएकाले हामीले आफ्नो भागमा परेको कमजोरीबाट भाग्न पनि मिल्दैन । हामीले स्वीकार गर्नैपर्छ सरकार र शासन सञ्चालनका क्रममा हामीबाट भएका कमजोरी र विफलताका कारण यी घटनाका लागि भावभूमि तयार भएको हो ।
सत्ता सञ्चालनमा सहभागी हुँदा राष्ट्रिय प्राथमिकता र जनताका आकांक्षालाई सम्बोधन गर्ने दिशामा पार्टीको सिद्धान्त र सरकारका कार्यक्रमबीचको सन्तुलनमा हामी नराम्रोसँग चुकेकै हो । जनतासँगको सम्बन्धको सेतु टुटेकै हो । हामीले नीति र कार्यक्रमलाई पर्याप्त ध्यान नदिईकन दैन्दिन सत्ता सञ्चालनमा ज्यादा अलमलिएको कुरामा हामीले आत्मालोचना र आत्ममन्थन गर्ने आज कांग्रेस आफ्नो गौरवशाली इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ ।
लोकतन्त्रको सौन्दर्य भनेको आम मानिसमा आकांक्षा जगाउने पनि हो । नागरिकहरूलाई भविष्यका प्रति आशावादी बनाउने हो । हामीले संविधानमा टेकेर जे डेलिभरी गर्ने भनेका थियौं त्यो सन्दर्भमा असफल भयौं । समाजमा कस्तो रुझानको विकास भयो भने त्यही नागरिक राजनीतिक परिवर्तनका लागि संविधान लेखनसम्मको यात्रामा अत्यन्त आशावादीरूपमा सहभागी भएको तर अहिले आएर वाचा गरिएका सपनाहरू पूरा नभएको, डेलिभरी नभएकाले परिवर्तनका संवाहक शक्तिहरूसँग र परिवर्तनले बनाएका संरचनासँग समेत रिसाएर पूर्ण आक्रोशित भएर बसेको अवस्था छ ।
संसदीय राजनीतिमा निर्वाचनपूर्व र निर्वाचनपश्चात्का शृंखलाबद्ध गठबन्धनले सत्ता र प्रतिपक्ष भन्ने नै भएन । पछिल्लो पटक दुई ठूला दलहरू मिलेर सरकार सञ्चालन गरेपछि संसदीय राजनीतिमा भागबण्डा र कारोबारी राजनीतिको प्रश्रय पायो । यो विकृतरूपले आम जनतालाई थप आक्रोशित बनायो । जनता सरकारसँग रुष्ट हुँदा राजनीतिक दलसँग समेत रुष्ट भए । हामीले पार्टीको दायरालाई सीमित गर्नुपर्नेमा दायरालाई विस्तारित गरेर ज्यादा फैलिँदा समाजका प्रत्येक अंग र संस्थाहरूको अति दलीयकरण भयो । राज्यका संस्थालाई मजबुत बनाउनुपर्नेमा दलको बनाउन खोज्ने कुराले पनि आम मानिसमा राजनीतिक दल प्रति वितृष्णा फैलिन पुग्यो । हामी यस्तो ठाउँमा पुग्यौ, हाम्रो पार्टीको नाम र इतिहास ठूलो त छ, तर हाम्रो फगत सन्देशले मात्र अब जनतामा पर्याप्त भरोसा जागृत गर्न सक्दैन ।
आज हामी एकैपटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं । जनताविशेष गरी युवापुस्ताले अहिले कांग्रेसलाई साहस होइन, सम्झौतासँग; आदर्श होइन, अवसरवादसँग; निष्ठा होइन, भ्रष्टाचारसँग जोड्न थालेका छन् । र यो अवस्था आउनाको जिम्मेवारी हामी सबैको हो । यो पुस्ता ०६२÷६३ को आन्दोलनमा सहभागी नभए पनि केटाकेटीका रूपमा हेरेका, सुनेका र देखेका पुस्तासँग राजनीतिक शक्तिहरूले र राजनीतिक नेतृत्वले ठीकठाक संवाद स्थापित गर्न सकेनौं । हामीले नयाँ पुस्ताको आँखाबाट हे¥यौं भने मात्रै हामीले उनीहरूलाई बुझ्न सक्छौं । उनीहरूलाई इतिहाससँग भन्दा ज्यादा वर्तमान र भविष्यको सुरक्षासँग चिन्ता छ ।
नेपालमा गाउँबाट अर्धसहरी वा सहरी क्षेत्रमा युवाहरूको तीव्र बसाइँसराइँले सहरी मतदाताको संरचना व्यापक परिवर्तन ल्याइदिएको छ । युवावर्गको शिक्षा, रोजगारी र सुविधा सम्बन्धी आवश्यकता र अपेक्षा उच्च छ । रोजगारीका अभाव र अवसरको खोजीले ठूलो संख्या युवा वैदेशिक श्रम बजारतिर सरेका छन् । नेपालमा काम गर्ने उमेरको जनसंख्या ६५.२ प्रतिशत छ भने नेपालीको मध्य उमेर लगभग २६ वर्ष मात्र छ । युवा जनसंख्याले सीमित स्रोत र रोजगारीको लागि कडा प्रतिस्पर्धा सामना गर्नुपर्दछ जसले निराशा सिर्जना गरेको छ ।
ग्रामीण क्षेत्र र सहरी क्षेत्र बीचको विकास असन्तुलनलाई सम्बोधन गर्न नसकेको यथार्थतालाई स्वीकार गर्नुपर्दछ । सहरी युवालाई रोजगारी र उद्यमशीलताको विकास गर्न नसक्दा यसले गरिब, बेरोजगारी र आर्थिक असमानता बढाउनेसमेत काम गरेको यथार्थतालाई स्वीकार गर्नैपर्दछ । सरकार सञ्चालन गर्नेहरूले राज्यका संस्था बलियो बनाउनेभन्दा कब्जा गर्ने चरम दलीयकरणले सार्वजनिक संस्था तथा निकायको संस्थागत क्षमतामा ह्रास आयो । सरकारी निकायहरूमा नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यताभन्दा पनि दलीय आबद्धतालाई प्राथमिकता दिने दुष्चक्रलाई हामीले परास्त गर्न सकेनौं । स्थानीय सरकारलाई आत्मनिर्णय र संसाधन व्यवस्थापनमा पूर्ण सशक्तीकरण गर्न नसक्दा नीति कार्यान्वयनमा कमजोर देखियो । परिणातः भ्रष्टाचार विकेन्द्रीकृत हुन पुग्यो । आजको दिनमा कांग्रेसले अपेक्षाकृतरूपमा दीर्घकालीन आर्थिक समस्याको समाधानमा योगदान गर्न नसकेको यथार्थतालाई स्वीकार गर्नैपर्छ ।
नेपालको अर्थतन्त्र २०४८–५० को आर्थिक सुधारले बसालेको जगमा अडेको छ । राजनीतिक अस्तिरता सशस्त्र द्वन्दले देशले अपेक्षित आर्थिक विकासको गति पकड्न सकेन र जुन जग बसेको थियो त्यसको प्रतिफल नागरिकलाई उपलब्ध गराउन सकिएन । गरी खान पाउने र आर्थिक अवसरको अनुभूति साधारण नागरिकले गर्न पाउने स्थिति रहेन । नेपालमा केही गरेर नेपालमै भविष्य बनाउन सकिन्छ भन्ने कुराको विश्वास क्षीण हँुदै गयो ।
नीतिगत कमजोरीसहितको अन्योल, कार्यान्वयन क्षमताको अभाव र निरन्तर राजनीतिक अस्थिरताका कारण अपेक्षित आर्थिक रूपान्तरण हासिल हुन सकेन । यही संरचनागत कमजोरीको पृष्ठभूमिमा कोभिड–१९ महामारीको प्रहारले राष्ट्रिय अर्थतन्त्रलाई गम्भीररूपमा क्षतिग्रस्त बनायो । पछिल्ला करिब २५ वर्षदेखि नेपालको अर्थतन्त्र अत्यधिकरूपमा रेमिट्यान्समा निर्भर छ । शिक्षा, स्वास्थ्य, रोजगारी, बाध्यता, अवसर र सुविधाको खोजीमा आफ्नो थातथलो छोड्ने नागरिकहरूको संख्या नेपाली इतिहासमा एकैपटक यति धेरै कहिले पनि थिएन । नयाँ थलोमा नयाँ सृष्टि गर्दा हुने आत्मसंघर्ष र पीडा त्यसमा राज्य पक्षको सार्थक सहयोग नहुँदा नागरिकहरूमा पैदा हुने बेचैनी र अत्यासको अभिव्यक्ति उच्च छ ।
समाज, राजनीति, अर्थतन्त्र, शासन प्रशासन लगायतका क्षेत्रमा विद्यमान जटिल प्रकृतिका समस्याहरूको कारण सृजित बेचैनी र अत्यासलाई आधार बनाएर अति सतही प्रकृतिको समाधान दिने तथा नागरिकको तत्काल प्रतिक्रियामा आधारित राजनीतिक समर्थन नै लोकरिझ्याइँ हो । नेपालमा यो सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म मार्फत तीव्र गतिमा लोकरिझ्याइँको राजनीति समाजको तल्लो तहसम्म फैलिइरहेको छ । छोटो समयमै नागरिकलाई रुमानी सपना बाँड्ने अनि युवा र मध्यमवर्गलाई लक्षित गरी गलत तथा अतिरञ्जित सूचना प्रवाह गर्ने कार्य पनि भइरहेको छ । यस किसिमको लोकरिझ्याइँलाई परास्त गर्न संयमित सूचना प्रवाह र जिम्मेवार राजनीति गर्ने कार्यमा हामी विगतमा चुकेका छौं ।
हामीले स्वीकार्नै पर्छ पुराना मूल्य, मान्यता, शैली, दृष्टिकोणले युवा मतदातालाई कांग्रेसप्रति आकर्षित गर्न सकिरहेका छैनौं । अर्कोतर्फ राजनीतिक सञ्चारको लागि परम्परागत सञ्चार माध्यमलाई प्रतिस्थापन गर्दै एकाएक तीव्र रफ्तारमा नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगबाट जनसख्ंयाको ठूलो हिस्सा तिलमिलाएको अवस्था छ । कुन सूचना ठिक, कुन सूचना गलत ठम्याउन मुस्किल हुँदा सुसूचीत बहस ओझेल परेको छ ।
विशेष महाधिवेशन ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि’ हो । विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ– हामी सच्चिन्छौं, हामी बदलिन्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनुपर्नेछ । संगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनुपर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नुपर्नेछ ।
जेनजी विद्रोह र कांग्रेसको संकल्प
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । उक्त दिनका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्धन, सेवा प्रवाह र युवापुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात् गरी देहायको संकल्प गर्दछ ।
क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लंघन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।
ख. युवापुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पुँजी र युगीन चेतनापुञ्ज हो । युवा पुस्ताले आन्दोलनमार्फत व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई उच्च सम्मान गर्दै युवा पुस्तालाई पार्टीको हरेक तहमा आन्तरिक सांगठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्वको सुनिश्चितताको लागि नीतिगत र संरचनागत प्रबन्धसहितको व्यवस्था गर्न यो विशेष महाधिवेशनमार्फत दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।
ग. जेनजी विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको छ । ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’ को त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ । जेन–जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने कांग्रेसको ठहर छ । सुशासनलगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य–मान्यताविपरीत नगई रूपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ । नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
लोकतन्त्रमा निर्विकल्प निर्वाचन
लोकतन्त्रिक व्यवस्थामा आजको उत्तम राजनैतिक निकास र लोकतान्त्रिक बाटो निर्वाचन नै हो भन्ने यथार्थप्रति नेपाली कांग्रेस स्पष्ट छ । वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउने हो । निर्वाचनका लागि भयरहित वातावरण अनिवार्य पूर्वशर्त हो । भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउनु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी हो भन्ने नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, धार्मिक तथा सामाजिक सद्भाव खल्बलाउने प्रवृत्ति वाञ्छनीय हुँदैन ।
लोकतान्तिक व्यवस्था, विधिको शासनमा लहड वा आवेगमा कसैलाई पनि निषेध गर्नु पनि स्वाभाविक वा वाञ्छनीय मान्न सकिदैन । अहिले उत्तेजना होइन, संयम, संवाद र समझदारीको आवश्यकता भएकोले निर्वाचनको वातावरण विथोलिने किसिमका कुनै पनि हिंसा र उत्तेजनाको बाटो नहिड्न, निषेधको राजनीति नगर्न तथा संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै नेपाली कांग्रेस भयरहित निर्वाचनको पक्षमा आफ्नो दृढता प्रकट गर्दछ ।
आत्मालोचना र क्षमा याचना
विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी–नजानी पार्टी र नेतृत्वबाट भएका गल्ती र अति सत्ताकेन्द्रित सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा प्रदान गर्ने क्रममा नेपाली कांग्रेसले लिन नसकेको पहलकदमी र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमीक्षा तथा आत्मालोचना गर्दै सम्पूर्ण नेपाली आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरूसँग विनम्रतापूर्वक क्षमा याचना गर्छौं । तिनै कमजोरी र त्रुटीबाट पाठ सिकेर अबउप्रान्त राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य–मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै यो दोस्रो विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ संकल्प गर्दछ ।
संविधान संशोधनमा साझा धारणा
नेपाली कांग्रेसको सरकारको नेतृत्वमा ऐतिहासिक संविधान सभामार्फत नेपालको संविधान बनेको १० वर्ष भएको छ । संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमी–कमजोरी तथा बाँकी कामहरूका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा आवश्यक भएको छ । लोकतान्त्रिक प्रणाली र नेपालका संविधानका आधारभूत सिद्धान्तलाई निरन्तरता दिँदै संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गर्न उठाउँदै आएका आवाज र मागलाई हामी सम्मान गर्दछौं ।
संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले नागरिकको भावनाअनुसार समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक हुँदै जानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो । नेपाली कांग्रेसले प्रमुख राजनीतिक पार्टीका साथै सबै सरोकारवालाहरूसँग सघन संवाद र परामर्श गरी संविधान संशोधन गर्न पहल गर्ने छ र सम्पूर्ण नेपाली नागरिकले अपनत्व र स्वामित्व ग्रहण गर्ने साझा र समृद्ध दस्तावेजका रूपमा विकास गर्न तथा लोकतान्त्रिक प्रक्रियामार्फत सहमतिका आधारमा ती माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रधानमन्त्रीको दुई कार्यकाल
नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र विशेषगरी युवापुस्ताको भावनाअनुसार देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)को दुई कार्यकाल मात्रै हुने प्रस्ताव यो विशेष महाधिवेशन पारित गर्दछ । यो प्रावधान लागू गर्न नेपाली कांग्रेसको विधान संशोधन गरिने छ । नेपाली कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति तेस्रोपटक प्रधानमन्त्री हुने छैन । यसैगरी यो प्रावधान लागू गर्न नेपालको संविधानसमेत संशोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने संकल्प यो विशेष महाधिवेशन गर्दछ ।
राष्ट्रिय पुनर्जागरण अभियान
नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गर्दछ । यसको मुख्य उद्देश्य निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको दियो जगाउनु राजनीतिलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनस्र्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्धन गर्नु हो । यो अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गरी राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
यो अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने छ । यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउने छ र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्नेछ । संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समतालाई प्रवर्धन गर्ने मार्गचित्रका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत ‘समसामयिक राजनीतिक प्रस्ताव’को सम्पादित अंश ।