नेभिगेशन
मनोरञ्जन

दर्शकलाई बेलामौका हँसाउँछ

अचानक कसैले अकूत सम्पत्ति फेला पार्‍यो भने ७० प्रतिशत मान्छेहरू पाँच वर्षभित्र नै कंगाल हुन्छन् भन्ने एउटा अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको अनुसन्धान, नेशनल इन्डोअमेन्ट फर फाइनान्सियल एडुकेशन २०१८ को निष्कर्षअनुसार यस्ता मान्छेमा पैसाको व्यवस्थापनबारे सोच्न सक्तैनन् ।

असावधानीपूर्वक खर्च गर्ने, ठूलो ऋण लिने र ठगिने सम्भावना भरपूर हुन्छ । त्यसो त, सबै चिठ्ठा पाउनेको अन्त्य त्यस्तै हुन्छ भन्ने छैन । स्वीडेनमा सन् २०१६ मा इन्स्टिच्यूट फर इभाल्युएशन अफ लेबर मार्केट एन्ड एडुकेशन पोलिसीले दशकौंसम्म त्यहाँका ३ हजार ५ सय भन्दा बढी चिठ्ठा विजेताको बानी बेहोरा हेर्‍यो । अध्ययनमा तिनको आय, सम्पत्ति र जीवनस्तर सामान्यभन्दा राम्रै रह्यो ।

अध्येताले अध्ययनको निष्कर्षमा भनेका छन्, ‘सबै चिठ्ठा विजेता गरीवै भएर मर्दैनन् । आर्थिक व्यवहार उनीहरूले कसरी सल्टाउँछन्, त्यसमा उनीहरूको आर्थिक स्वास्थ्य भर पर्छ ।’ यसैगरी बेलायत र क्यानडामा गरिएका केही अध्ययनले भने ठूलो रकमका विजेताहरूले व्यवसाय शुरु गर्ने र सुरक्षित लगानी गर्छन् । तर अधिकांशको पारिवारिक समस्या हुने, सम्बन्ध विच्छेद, मानसिक तनाव तथा ठगिनेजस्ता समस्याहरू बढेर जान्छन् ।

पैसा नटिक्नुमा अचानक धनी भएपछि खर्च नियन्त्रण हुँदैन । आफन्त र साथीभाइहरूले सापट मागेरै हैरान पार्छन् । लगानीको ज्ञान अभावका कारण जोखिमपूर्ण ठाउँमा लगानी हुने गर्छ । त्यसपछि उनीहरूको जीवनमा नयाँ नयाँ व्यसन पनि थपिन्छ । उनीहरू रक्सी जुवा र क्लबमा बढी समय बिताउन थाल्छन् । यो मेरो होइन, ‘द साइकोलजी अफ मनी’ पुस्तकका लेखक मोर्गन होसलको अध्ययन निष्कर्ष हो ।

नेपालमा चाहिँ अचानक कोही धनी भयो भने के हुन्छ ? त्यसको झल्को हिजोबाट देशभरि नै रिलिज भएको फिल्मले बुझाउने प्रयास गरेको छ । नेपालीसँग पैसा भयो भने उसले बाँडेरै सक्छ तर पनि ऊ कंगाल हुँदैन । बरु ऊ राजनीतितर्फ आकर्षित हुन्छ ।

Magne-raja-2-1755929841.jpg

फिल्म समीक्षक डान हेचिङले हालै ‘सुपरम्यान’ फिल्ममाथि टिप्पणी गर्दै सीएनएनमा भनेका थिए– द सिल्ली, सटिस्फाइङ एन्ड सेन्टिमेन्टल क्यामियोस् इन् सुपरम्यान । 

‘सुपरम्यान’ हेर्दाका सिल्ली, सटिस्फाइङ र सेन्टिमेन्टल क्यामियो बारे चर्चा गर्दै उनले फिल्ममा ब्राडली कूपर, विल रिभ, जोन सिना, माइकल रुकर र पोम क्लमेन्टिफजस्ता कलाकार देख्न पाउँदा कसरी दर्शक खुशी भए भन्ने टिप्पणी गरेका थिए ।

‘माग्ने बूढा’ले पनि हामीलाई यस्तै ‘सिल्ली, सटिस्फाइङ र सेन्टिमेन्टल’ बनाउने गरी केही क्यामियो चरित्रहरू देखा पर्छन् । तिनको पर्दामा हुने उपस्थितिले दर्शकलाई ‘अहो फलानो पनि रै’छ’ भन्ने महसूस गराउँछ । 

अन्य आम नेपाली फिल्मजस्तै यसको कथा पनि गाउँबाट शुरु हुन्छ । कुनै गाउँमा मगन्ते नारायण उसकी आमासँग बसिरहेको छ । उसका बुवा हराएकाले हजुरबाले खाएको ऋण ऊ अहिले पनि तिर्दैछ । गाउँभरिको ऋण भएकाले ऊ भाग्दै हिँडिरहेको छ । यस्तै भाग्ने क्रममा एक दिन मगन्ते उर्फ कुबेरले एउटा गाडधन फेला पार्छ ।

गाडधनलाई नगदी गर्न ऊ काठमाडौं आउँछ । काठमाडौंमा टाढाको भान्जा पर्नेसँग ऊ शहर डुल्छ र गाडधनलाई नगद बनाउँछ । नगद आएपछि ऊ मन परेकाहरूलाई पैसा बाँड्दै हिँड्छ, गाउँमा ऋण तिर्छ । अब एउटा दरिद्रको हातमा पैसा आएपछि उसले त्यो रकमलाई ‘डाइभर्सिफाई’ गर्दै विभिन्न ठाउँमा लगानी गर्छ । उसको दुश्मनी अचानक काठमाडौंको मेयरसँग चुलिन्छ ।

मेयरका कारण सम्पत्ति शुद्धिकरण मुद्दामा फस्छ । उसले यति दुःख पाउँछ कि त्यसपछि ऊ राजनीतिमा घुस्न बाध्य हुन्छ । यसपछि मगन्तेले ‘नो भोट’को क्याम्पेन चलाउँछ । सारा जनता उसको कुरामा लागेर ‘नो भोट’ सफल बनाउँछन् ।

त्यसपछि मगन्ते गाउँ फर्कन्छ । घुमाउरो पाराले फिल्मले एउटा निर्दयी सत्य बताउँछ, राजनीति अब सर्वसाधारणको बुताको कुरा रहेन । यदि सर्वसाधारण राजनीतिमा आउँछ भने पनि उसले गाडधन फेला पारे मात्र सम्भव छ ।

यो फिल्म हेर्न पंक्तिकार उत्सुक हुनुको एउटै कारण थिए, केदार घिमिरे अर्थात् माग्ने बूढा । उनमा कुनै नायकत्व छैन र पनि उनी फिल्मका नायक हुन् । फिल्मले केही दृश्यमा मनग्य हँसाउँछ । खासगरी केही संवाद कुत्कुत्याउने छन् । तर फिल्म निर्माण समूहले माग्ने बूढालाई मूल भूमिकामा लिएर निर्माण टोलीले एउटा जोखिम मोलेको छ ।

अब माथिको कुरामा आऊँ, क्यामियोबारे । यो फिल्ममा उषा खड्गी राष्ट्रिय भाउजू बनेकी छन् । एकै दृश्य भए पनि उनले आफ्नो उपस्थिति देखाएकी छन् । केही दृश्यमा चकलेटी नायक आर्यन सिग्देल पनि छन् । उनी अमेरिकाबाट नेपालमा ‘केही गर्न’ फर्किएका पात्रका रुपमा देखिन्छन् तर उनी जमेका छैनन् । मन नलागी काम गरेजस्तो देखिन्छ, उनको अभिनयमा ।

यसैगरी फिल्ममा पुराना केही कलाकारहरू पनि देखिन्छन् । यी सबै क्यामियोहरूले दर्शकलाई सुखद् आश्चर्य दिन्छन् । फिल्ममा वर्षा सिवाकोटीले फिल्ममा आफ्नो क्षमता देखाउने काम पाएकी छैनन् ।

विल्शन विक्रम राईको चरित्र फिल्मको अन्त्यतिर अचानक उल्टो गतिमा हिँड्दा दर्शक आश्चर्य मान्छन् । यसरी व्यैयक्तिक रुपमा फिल्मका कलाकारहरूले आफ्नो भूमिकामा न्याय गरेका छन् तर फिल्मको मूलकथा बरालिने र छिपछिपे रुपमा कथा कहने नेपाली फिल्मको पुरानै रोगले यसलाई पनि थला पारेको छ ।

यसको छायाँकन नरेन्द्र मैनालीले गरेका छन् । उनका केही ड्रोन सटहरू सुन्दर देखिएका छन् । अहिले सबैभन्दा सजिलो नेताहरूलाई गाली गर्नुमा छ । त्यही कुरा अदालतको दृश्यमा होस् कि अन्यत्र यो फिल्ममा पर्याप्त प्रयोग गरिएको छ । केही सामाजिक टिप्पणी र संवादमा सामीप्य तिमल्सेना प्रभावकारी देखिन्छन् । यसरी हेर्दा हतारमा लेखिएको फिल्मको छनक दिन्छ ।

समग्रमा यो राम्रो सम्भावना बोकेको एउटा औसत फिल्म बन्न पुगेको छ । फिल्मले मध्यम आकारको व्यापार गर्ने छनक दिए पनि निर्देशक ऋषि लामिछानेले राम्रो फिल्म बनाउने अवसर गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्